सशस्त्रमा नियमावली विवादः बढुवा रोकियो

सशस्त्रमा नियमावली विवादः बढुवा रोकियो

काठमाडौः नियमावलीमा शैक्षिक योग्यता र बढुवा हुनुअघि अनिवार्य लिनुपर्ने गुल्मपति तथा स्टाफ तालिमबारे विवाद हुँदा सशस्त्र प्रहरी निरीक्षकदेखि प्रहरी नायब महानिरीक्षक (डीआईजी) सम्मको बढुवाप्रक्रिया रोकिएको छ । डीआईजीमा बढुवाका लागि एक महिनाअघि नै आवेदन मागे पनि सशस्त्र नेतृत्वको गुटबन्दी र नियमावली विवादका कारण बढुवा रोकिएको हो ।

सशस्त्र प्रहरी नियमावली २०६० लाई संशोधन गरी २०७२ को नियमावलीमा योग्यतासम्बन्धी नयाँ प्रावधान लागू गरिएपछि सेना र प्रहरीबाट आएका अधिकृतहरू बढुवामा सबैभन्दा पीडित बनेका छन् । कार्यक्षमता र वरिष्ठताका आधारमा बढुवा गर्नुपर्ने भए पनि सेनाबाट आएकालाई उपेक्षा गरेर सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले पटकपटक कारबाहीमा परेका एसएसपी खड्ग राई र मन्दिप श्रेष्ठलाई डीआईजीमा बढुवा गर्ने तयारी गरेको जानकारी स्रोतले दियो ।

नयाँ नियमावलीअनुसार भए सेना र प्रहरीबाट स्थानान्तरण भएका झन्डै सयजना वरिष्ठ अधिकृतको बढुवा रोकिनेछ । विगतमा तालिम अनिवार्य थिएन तर नयाँ नियमावलीमा बढुवा हुनका लागि अहिले सीसीएससी अनिवार्य गरिएको छ ।

शान्ति मिसनमा सुडानमा कार्यरत एक डीएसपीलाई सशस्त्र नेतृत्वले गोप्य रूपमा नेपाल बोलाएर तालिम गराएपछि त्यसको वैधानिकतामाथि समेत प्रश्न उठेको छ । आफूनिकटलाई गोप्य रूपमा तालिम गराउने, कोही तालिम गर्ने र कोही तालिमबाट वञ्चित हुने भएपछि उक्त कोर्सको वैधानिकतामाथि प्रश्न उठेको हो ।

गृह मन्त्रालय कर्मचारी प्रशासन महाशाखा प्रमुख राजकुमार श्रेष्ठले बढुवा तयारी भइरहेको दाबी गरे । सशस्त्र प्रहरी नेतृत्वको उदासीनता र गैरजिम्मेवारीका कारण प्रहरी निरीक्षक, प्रहरी नायब उपरीक्षक (डीएसपी), प्रहरी उपरीक्षक (एसपी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको बढुवा लामो समयदेखि हुनसकेको छैन ।


शैक्षिक योग्यता र बढुवाअघि अनिवार्य लिनुपर्ने तालिमबारे विवाद हुँदा इन्स्पेक्टरदेखि डीआईजीसम्मको बढुवा रोकिएको छ ।

सेनाबाट आएका एसएसपी सञ्जय राणाले आईजीपी राईलगायत वरिष्ठ अधिकृतको बैठकमा नयाँ प्रावधानअनुसार बढुवा तयारी भए आफूहरू अन्यायमा पर्ने भन्दै सशस्त्र नेतृत्वको आलोचना गरेको स्रोतले बताएको छ । ‘सेना र प्रहरी दुवै संगठनबाट आएकाहरू अन्यायमा परेका छन्', एक एआईजीले अन्नपूर्णसँग भने, ‘एसएसपीबाटै घर जाने थाहा पाएको भए उनीहरू सशस्त्रमा आउँदैनथे । आईजीसाबले ध्यान दिनुपर्ने विषय हो ।'

सशस्त्र प्रहरी प्रवक्ता दिवाकर केसीले सशस्त्र प्रहरी नियमावलीअनुरूप नै बढुवाप्रक्रिया अघि बढेको बताए । तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले केही स्वार्थी समूहको प्रभावमा परी सेना र प्रहरीबाट स्थानान्तरण भएका अधिकृतको बढुवा प्रभावित हुने गरी नियमावली संशोधन गरे पनि वर्तमान सशस्त्र प्रहरी महानीरिक्षक राईले भने आफ्नो पालामा नियम संशोधन नभएको भन्दै उम्किने प्रयत्न गरेका छन् । राईले फागुन पहिलो साता अनिवार्य अवकाश पाउँदैछन् ।

सशस्त्र नियमावली २०६० मा नेपाली सेनामा प्रमाणपत्र तह उत्तीर्ण भएपछि अधिकृत तह (सहायक सेनानी) पदमा भर्ना भएको योग्यतालाई अन्तिम मानी बढुवा गर्ने प्रावधान थियो । तर तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक वन्तले सीमित व्यक्तिलाई फाइदा हुने गरी नयाँ नियमावलीमा बढुवा हुनका लागि सशस्त्र प्रहरी निरीक्षकमा भर्ना हुन चाहिने आवश्यक शैक्षिक योग्यता (स्नातक उत्तीर्ण) नै सेना र प्रहरीबाट स्थानान्तरण भएर आएकाहरूलाई पनि लागू हुने प्रावधान राखेपछि बढुवाप्रक्रिया विवादित बनेको हो ।

सेना र प्रहरीबाट स्थानान्तरण भएकाले सशस्त्र प्रहरी महानिरीक्षक राईसमक्ष आफूहरूमाथि विभेद भएको बारे खुलेरै विरोध गरेका छन् । राईसहित एआईजीहरू सिंहबहादुर श्रेष्ठ, कृष्णकुमार तामाङ, जितबहादुर पुन, प्रकाश ओझा, प्रेम शाही र शैलेन्द्र खनालसमेत भाबी आईजीपी बनाउने दौडको गुटबन्दीमा लागेको स्रोतले बताएको छ ।

सशस्त्र प्रहरी नियमावली २०६० को नियम ४० (क) मा सशस्त्र प्रहरी नायब उपरीक्षक र त्यसभन्दा माथिल्लो पदका लागि स्नातक वा सोसरह उत्तीर्ण हुनुपर्ने प्रावधान भए पनि ४० को उपनियम २ अनुसार सशस्त्र प्रहरीमा स्थानान्तरण भएर नेपाली सेनाबाट आएका अधिकृतहरूको हकमा सेनामा भर्ना हुँदाको अन्तिम शैक्षिक योग्यतालाई मान्यता दिने र त्यसबाहेक कमान्ड तथा स्टाफ कलेज वा गणपति तालिम गरेको हुनुपर्ने प्रावधान थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.