समीक्षाका आफन्तको प्रश्न-दोषीलाई सजाय कहिले हुन्छ ?

समीक्षाका आफन्तको प्रश्न-दोषीलाई सजाय कहिले हुन्छ ?

सुर्खेतः प्रधानमन्त्रीको स्वागतमा निकालिएको र्‍यालीमा ज्यान गुमाएकी छात्रा समीक्षा आचार्यका आफन्तले आफूहरूले न्याय नपाएको गुनासो गरेका छन्। एक महिना बितिसक्दा पनि घटनाबारे छानबिन नभएको र दोषीलाई कारबाही नभएको भन्दै आफन्तले तत्काल दोषीमाथि कारबाहीको माग गरे। राज्यले नै घटनालाई बेवास्ता गरेको उनीहरूको गुनासो छ।

गत मंसिर २३ गते कर्णाली एक्स्पो तथा व्यापार मेलाको उद्घाटनका क्रममा वीरेन्द्रनगरमा निकालिएको र्‍यालीमा धपेडीका कारण १३ वर्षीया समीक्षाको ज्यान गएको थियो। मेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल आउने भन्दै विद्यालयले ‘ह्विप’ नै लगाएपछि स्थानीय होराइजन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत समीक्षा र्‍यालीमा सहभागी भएकी थिइन्। सोही क्रममा बेहोश भएकी समीक्षाको उपचारमा ढिलाइ गरिएको र आयोजककै लापरबाहीले छोरी गुमाएको भन्दै आफन्तले दोषीमाथि कारबाही हुनुपर्ने बताएका छन् ।

‘छोरी गुमाएको एक महिना बित्यो, न घटनाको छानबिन भयो, न त हामीले न्याय नै पायौं’, मृतक समीक्षाका बुबा विष्णु आचार्यले भने, ‘आजसम्म मेलाका आयोजक सम्पर्कमा छैनन्, स्थानीय प्रशासनले पनि कुनै चासो दिएको छैन । छोरीको कालगतिले मृत्यु भएको होइन, अप्रत्यक्ष रूपमा यो हत्या नै हो ।’

पढ्नका लागि विद्यालयमा पठाएकी छोरीलाई प्रदशर्नमा लैजानेहरूमाथि छानबिन एवं कारबाही हुनुपर्ने उनको भनाइ छ । विद्यालयले आफूहरूका कुरा सुनेको भए पनि मेला आयोजक सुर्खेत उद्योग वाणिज्य संघले बेवास्ता गरिरहेको उनले बताए । ‘हामीले अनाहकमा छोरी गुमायौं, अब चाहेर पनि छोरी फिर्ता पाउन सक्दैनौं । तर हामीले न्याय मागेका छौं, अब राज्यले पनि र्यलीमा बालबालिका प्रयोगमा प्रतिबन्ध लगाओस्’, उनले भने ।

आफूहरूले समीक्षाको नाममा प्रतिष्ठान गठन गरेको र आफन्तले त्यसमा सहयोगको आग्रह गर्दासमेत घटनासँग जोडिएका निकायले बेवास्ता गरेको उनले गुनासो गरे । ‘र्यालीमा जबर्जस्ती लगिएकाले छोरीको हत्या नै गरिएको हो’, मृतक समीक्षाका काका वाईपी आचार्यले भने, ‘यसको जिम्मा मेला आयोजकले नै लिनुपर्छ । घटनाको सत्यतथ्य बाहिर आओस्, दोषीलाई तत्काल कारबाही हुनुपर्छ ।’ समीक्षाका नाममा स्थापित प्रतिष्ठानमार्फत देशभर बालबालिकालाई र्याली प्रयोग गर्न नहुने भन्दै अभियान सञ्चालन गरिने उनले बताए ।

घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगले छानबिन गरेको छ । आयोगको क्षेत्रीय कार्यालय नेपालगन्जले स्थलगत अध्ययनपछि छानबिन प्रतिवेदन तयार पारेको हो । ‘हामीले घटनाको प्रतिवेदन तयार पारिसकेका छौं’, आयोगको क्षेत्रीय कार्यालयका प्रमुख मुरारी खरेलले भने, ‘अब केन्द्रमा बुझाउनेछौं । त्यसपछि केन्द्रले नै आवश्यक कारबाही थाल्नेछ, पीडितले न्याय र दोषीले सजाय पाउनैपर्छ ।’ घटनापछि जिल्ला शिक्षा कार्यालयले कुनै पनि सार्वजनिक समारोहमा बालबालिकाको प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.