कठ्याङ्ग्रिदो जाडोमा ज्यान जोगाउनै मुस्किल

कठ्याङ्ग्रिदो जाडोमा ज्यान जोगाउनै मुस्किल

महोत्तरीः मुटु काप्ने कठियांग्रिँदो जाडोमा बिजलपुरा १ चल्की टोलकी २० वर्षीया रविता सादालाई डेढ महिनाको छोरो आशिकको ज्यान जोगाउन गाह्रो भएको छ । रविताका श्रीमान् बालालखिन्द्रले जंगलबाट ल्याएको दाउरा बेचेर परिवार चलाउँछन् ।

दाउरो बिक्री गरेर उनले छोरो आशिकलाई जाडोमा शरीर छोप्न औरही बजारको हटियाबाट ५० रुपैयाँमा रेडिमेड सर्ट किने । बालालखिन्द्रले गरिबीका कारण भारखरकी सुत्केरी श्रीमतीलाई न्यानो लुगा किन्न सकेका छैनन् । पोषणयुक्त खाना खुवाउन सकेका छैनन् । एक सातादेखि चिसोसँगै चलेको शीतलहरले न्यानो लुगाफाटाको अभावमा आशिक र उनकी आमाको ज्यान खतरामा छ ।

सुत्ने ओछ्यान परालको छ । ओड्ने गुन्द्री पनि पारालकै छ । घरको बार भत्किसकेको छ । बालालखिन्द्रले चिसो छल्न झुत्रो कपडा टाँगेर छाप्रो बारेका छन् । तर अत्यधिक बढेको चिसो र त्यससँगै चल्ने शीतलहरको शीत र चिसो हावा झुपडीभित्र पस्छ । चिसोले राति सुत्नै सकिँदैन । चिसोमा ६ जनाको परिवारलाई न्यानो पारेर राख्नु उनको लागि फलामे च्युरा चपाउनुजस्तै बनेको छ ।

‘सबै परिवारलाई जाडोबाट बचाउन न्यानो लुगा किन्ने सपना छ तर खल्तीमा रुपैयाँ छैन । श्रीमान्ले दाउरा बेचेर ल्याएको रुपैयाँले खाना जुटाउनै पुग्दैन’, रविता भन्छिन्, ‘वर्षात्मा घर चुहिन्छ । जाडोमा ठन्डीले सताउँछ । अलि राम्रो घर बनाएर छानो छाऊँ । त्यसका लागि ऋणै बोक्नुपर्छ ।’

‘प्रत्येक वर्ष गरिबलाई धुरुक्कै रुवाउने जाडो नआदिए हुन्थियो । न्योनो लुगा जुटाउन नसकेर जडोले रातभर सुत्नै पाइँदैन । परालको आगो तापेर रात काट्नुपर्छ,’ रविताका ६० वर्षीय ससुरा लटुवा सादा मुसहरले थपे, ‘जाडोमा हामी गरिबले मिठो मसिनो पनि खान पाउँदैनौं । रुघा, खोक्की, ज्वरो लागेर हैरान बनाउँछ । उपाचार गर्ने रकम हुँदैन ।’

गरिब तथा विपन्न मुसहरको पीडामा सहयोगी हात भएर सहयोग गर्ने कुनै संघसंस्था पुगेको छ न त सिंहदरबारको आधुनिक कुर्सीमा घुम्ने नै पुगेका छन् ।

परालको ओड्ने र ओछयाउने छ । जाडो छल्न पराले घुरको आगो बालेर ताप्छन् ।
रविता सदाको दुखदायी कथा गरिब जीवन भोग्ने महोत्तरीका हजारौं पीडितको एक प्रतिनिधि उदाहरण मात्रै हो ।

रविताकी छिमेकी श्रीराम सदा मुसहरको पनि बेहाल छ । जाडोमा उनको पाँचजानाको परिवारको बिचल्ली भएको छ । चुनावताका खोक्रो भाषण दिएर भोट लिएर गएपछि मुसहरको पीडामा मलम लागउने काम नेताले नगरेकामा श्रीरामको मन फाटेको छ ।

जाडोमा गरिबका लागि आरामदायी, न्यानो, सजिलो ओड्ने र ओछ्याउने परालकै ओछ्यान र गुन्द्री नै हो । जाडोमा परिवारलाई न्यानो लुगाफाटो हाल्न नसकेर उनको मन दुखेको छ । श्रीराम भन्छन् ‘काम गरेर दैनिक चामल, दाल, तरकारी, नुन, तेल जुटाउँछौं । घरको छाप्रोमा खर हाल्ने र न्यानो लुगा खरिद गर्ने मन छ । तर गर्ने के ? खाना जुटाउनभन्दा अरूतिर ध्यान दियो भने परिवारको मुखमा माड लाग्दैन ।’

पुस्तौंदेखि गरिबीसँग पौंठाजोरी खोल्दै आएका बिजलपुराका दुई सय घरधुरीका झन्डै साढे पाँच सय मुसहरको जीवन जाडोमा खतरामा परेको छ । उनीहरूलाई सबै कुराको अभावैअभाव छ ।

मुसहरले दशकौंदेखि बसे पनि छाप्रो रहेको जग्गाको लालपुर्जा पाउन सकेका छैनन् । कतिखेर ठालुले लखेटेर उठिबास लगाउने हो त्यसको ठेगान नरहेको स्थानीय जितन सदा मुसहरले दुखेको सुनाए ।

वैशाख लाग्नेबितिकै यहाँका मुसहरले खानेपानीको चरम अभाव खेप्नुपर्छ । पानीको स्रोत चपाकल सुकेपछि उनीहरू प्यासले छट्पटिन्छन् । आफ्नो नाममा जग्गाको लालपुर्जा नहुँदा विद्युतीय मिटर राख्न नपाएपछि उनीहरू अहिले पनि टुकीकै भरमा रात काट्ने गरेका छन् ।

बिजलपुरामा सयौंको संख्यामा मुसहर रहे पनि मुश्किलले एकजना नागेन्द्र सादाले सबैभन्दा बढी पढेका छन् । चारजना माध्यमिक तहमा पढिरेहेका छन् । अन्य बालबालिका बिहान हुनेबितिकै काँधमा कोदालो बोकेर तरकारी जुटाउनकै लागि मुसा खोज्न खेतको आली चाहर्ने गरेको कक्षा आठमा पढ्ने अनिल सादाले बताए । महोत्तरीमा झन्डै ३२ हजार दलित समुदायका मुसहरको बसोबास रहेको तथ्यांक छ ।




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.