बालुवामा मौलायो गुन्डागर्दी

बालुवामा मौलायो गुन्डागर्दी

आँबुखैरेनीः गोरखा र तनहुँको सिमाना भएर बग्ने मस्र्याङ्दी नदीमा ठेकेदारहरूले अवैध रूपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन, संकलन र निकासी गर्दै आएका छन् । मस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधका कारण पानी सुकेको मस्र्याङ्दी नदीमा मान्यता नपाएका ठेकेदारहरूले निषेधित ठाउँमा, रातको समयमा, सम्झौता तथा निर्धारित मापदण्डविपरीत निर्माण सामग्री उठाएको स्थानीयको गुनासो छ ।

जिविस गोरखाले अँबुवादेखि अजिंगरे फाँटसम्मको निर्माण सामग्री उठाउन अधिकारी निर्माण सेवालाई नौ लाख रुपैयाँमा ठेक्का दिएको छ तर ठेक्का स्वीकृत नहुँदा तथा सम्झौता नहुँदै ठेकेदारले मस्र्याङ्दी दोहन गरेका छन् ।

त्यस्तै जिविस तनहुँले कुँडुलेघाटको निर्माण सामग्री उठाउन मनकामना निर्माण सेवालाई १० लाखमा, मार्किचोकघाट १० लाखमा गोपीलाल प्रोपाइटर रहेको निर्माण सेवालाई र नारीघाट सात लाखमा साबित्री निर्माण सेवालाई ठेक्का लगाएको जनाएको छ । एक्साभेटरलगायतका मेसिन प्रयोग नगरी बालुवा झिक्ने ठेक्का सम्झौतामा उल्लेख भए पनि ठेकेदारले दिनरात मेसिन लगाएर तस्करी शैलीमा दोहन गरेको स्थानीयहरू बताउँछन् ।

‘चौबीसै घन्टा एक्साभेटर लगाएर बालुवा तस्करी गरिरहेका छन्’, एक स्थानीय युवाले भने, ‘कसैले बाधा विरोध गर्यो भने ज्यान मार्नेसम्मको धम्की आउँछ । खुकुरीधारी केटाहरू परिचालित छन् ।’ ठेकेदार र परिचालन गरिएका गुन्डाहरूको रवाफले सबै तैं चुप मै चुप भएको उनले बताए ।

‘हामीले पटकपटक दुवै जिल्लाका प्रशासन, प्रहरी, जिविस सबैतिर खबर गरेका छौं तर सम्बन्धित निकायले पनि आँखा चिम्लेका छन्’ उनी भन्छन्, ‘एकपटक तनहुँको एलडीओ आफैं अनुगमनमा आएका थिए । उनीमाथि हातपात, दुव्र्यबहार भयो ।

जबजरस्ती गर्ने एक्साभेटरको साँचो आँबुखैरेनी नगरपालिकाका कार्यकारी आफैंले थुतेकी पनि हुन् तर दीर्घकालीन रूपमा तह लगाउन सकेनन् । स्थानीयवासी कोही बोल्यो भने धम्क्याएर तर्साउँछन् ।’ रातभरि खोलामा मेसिन चल्छ तर खबर गर्दा प्रहरीले पनि वास्ता नगर्ने गरेको उनीहरू बताउँछन् ।

‘हामीले प्रहरी निरीक्षकलाई नियन्त्रण गरिदिन अनुरोध गर्यौं तर उहाँले तस्करहरूको माथिसम्म सम्बन्ध हुन्छ, मेरो जागिरसमेत धरापमा पर्छ भन्नुभयो’, उनले भने, ‘सरकारी मान्छे, प्रशासन त असुरक्षित ठान्छन्, हामी सर्वसाधारणले कसरी रोक्न सकिन्छ ? ’ ठेकेदारले गुन्डाको परिचालन गरेर सबैलाई लोभ, लालच, डर, धाक, धम्की देखाएर प्रभावमा राखेको स्थानीयहरू बताउँछन् ।

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार नदीमा ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्दा एक्साभेटर वा कुनै प्रकारका ठूला उपकरण प्रयोग नगर्ने सम्झौतामा स्पष्ट उल्लेख छ । ‘हामीले ठेकेदारसँग सम्झौता गर्दा मेसिनको प्रयोग नगर्ने, पक्की पुलभन्दा पाँच सय मिटर तलमाथि र झोलुंगे पुलभन्दा दुई सय मिटर तलमाथि उत्खनन नगर्ने स्पष्टसँग खुलाएका छौं’, तनहुँका स्थानीय विकास अधिकारी बद्री तिवारी भन्छन्, ‘तर निषेधित ठाउँबाट उत्खनन भयो भनेर बारम्बार उजुरी आइरहेको छ ।

बेलाबेला हामी फिल्डमै गएर हेरेका पनि छौं । राति साढे ११ बजे रंगेहात भेटेर ४८ हजार रुपैयाँ जरिबाना पनि गरेका छौं तर सँधै कसरी सम्भव हुन्छ र? ’ यहाँको गुन्डागर्दी पहुँचभन्दा बाहिर गएको उनको भनाइ छ ।

उक्त क्षेत्र इलाका प्रहरी कार्यालय आँबुखैरेनी र प्रहरीचौकी मझुवाको क्षेत्रभित्र पर्छ तर प्रहरीले चासो नदिएको स्थानीयवासी गुनासो गर्छन् । ‘एकफेर एक हजारजना गाउँले भेला भएर खोलामा मेसिन नदिने प्रयास गरियो ।

त्यो बेला प्रहरीलाई बोलाएका थियौं तर आएनन्’, दराईगाउँका एक स्थानीयले भने, ‘मस्र्याङ्दीको बाँधमुनिबाट पनि झिकेका छन् । १५/१६ अर्ब खर्च गरेर आयोजना निर्माण भएको छ । यसरी निकाल्दा बाँधलाई पनि खतरा छ ।

गल्छिना, मगरबस्ती, दराईगाउँ, काँडापानी, सिम्लेफाँट, एंकोट, जुम्लाङ गाउँलाई खतरा भएको छ । आँबुखैरेनीलाई पनि खतरा भएको छ ।’ स्थानीयवासीले दुवै जिल्लाका प्रहरी, प्रशासन, जिविस, क्रियाशील राजनीतिक पार्टी, पत्रकार महासंघलाई ध्यानाकर्षण पत्र बुझाएको तर कसैले चासो नदिएको उनले बताए ।

गोरखाका स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यका अनुसार पुलको पाँच सय मिटर तलमाथि बालुवा नझिक्ने सम्झौता भएको छ तर ठेकेदारले यस क्षेत्रमा पर्ने दुवै पुल क्षेत्रमा निर्वाध रूपमा दोहन गरिरहेका छन् । ‘ठेक्का स्वीकृत नहुँदै, सम्झौता नहुँदै पनि दोहन भएको छ । पुलमुनिबाट पनि दोहन गरिएको छ ।

पुलको पाँच सय मिटर तलमाथि बालुवा नझिक्ने सम्झौता भएको छ तर ठेकेदारले यस क्षेत्रमा पर्ने दुवै पुल क्षेत्रमा निर्वाध रूपमा दोहन गरिरहेका छन् ।

यो सबै अवैध नै हो’, उनले भने, ‘हामीलाई स्थानीयले खबर नगरेका होइनन् तर व्यवस्थित गर्न भ्याइएको छैन ।’ स्थानीयवासीले पनि भूकम्पपीडितको घर बनाउने नाउँमा अवैध रूपमा पुलमुनिको बालुवा दोहन गरेको उनले बताए ।

‘भूकम्पपीडितको घर बनाउने नाउँमा स्थानीयवासीले पनि अवैध रूपमा पुलमुनिको बालुवा निकालेर तनहुँपट्टि लगेर गोदाममा राखेका छन्’, उनले भने, ‘यो पनि अवैध हो । तनहुँपट्टि लगेर राखिएकाले हामीले केही गर्न मिल्दैन ।’ स्थानीयले पनि नियम कानुन मिचेर जबजरस्ती गर्न नमिल्ने उनको भनाइ छ ।

ठेकेदारले गुन्डागर्दी शैलीमा अवैध रूपमा उत्खनन गरेकाले स्थानीयले पनि उपयोग गर्ने प्रयास गरेको स्थानीयवासी बताउँछन् । ‘ठेकेदारलाई ननिकाल भनेर कसैले मुखै खोल्न नसक्दैनन्’, देउराली ४ एंकोटका स्थानीय भन्छन्, ‘पुलमुनिबाटै निकालेका छन् । बरू गाउँको कच्ची बाटो ग्राभेल गर भनेर ठेकेदारलाई अनुरोध गरेका छौं । त्यसबापत हामीले देखे पनि नदेखेजस्तो गरेका छौं । मर्नुभन्दा बहुलाउनु निको ।’

जिविसले मिलेमतोमा ज्यादै थोरैमा ठेक्का दिएको स्थानीयहरू आरोप लगाउँछन् । ‘एक दिनमै दसौं लाखको बालुवा निकासी गर्छन् । यहाँको बालुवाले दुईवटा क्रसर बाह्रैमहिना चलेका छन् । अझै कैयौं ट्रकले बाहिर पनि ओसार्छन्’, अर्का स्थानीय भन्छन्, ‘तर जिविसले सात लाख, १० लाख रुपैयाँ मात्र राजस्व लिन्छ । बाह्रैमहिना बालुवा झिक्छन् तर जिविसले भने भर्खरै मात्र ठेक्का खुलाएको हो । यसमा कुन खालको साँठगाँठ हो, हामीलाई शंका लाग्छ ।’ अघिल्लो वर्ष कसैले पनि ठेक्का लिएका थिएनन् तर बालुवा भने निरन्तर झिकिरहेको उनको भनाइ छ ।




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.