सिक्टा सिँचाइ आयोजनाः दस वर्षमा आधा मात्र काम
नेपालगन्जः राष्ट्रिय गौरबको बहुप्रतिक्षित सिक्टा सिँचाइ आयोजनाको दस वर्षमा करिब ५० प्रतिशत मात्रै काम भएको छ । बाँके जिल्लामा ४३ हजार हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य राखेको यो आयोजनाअन्तगर्तका कुनै पनि नहरमा अहिलेसम्म पानी बग्न सकेको छैन ।
बाँकेको अगैयाबाट सुरु भएको करिब ३५ किलोमिटर मुल नहरको काम भर्खरै मात्रै सकिएपछि केही हदसम्म नहरमा चाँडै पानी बग्ने आस त गरिएको छ तर पनि आयोजनाको काम अझै लम्बिइरहेको छ ।
राष्ट्रिय गौरबकै आयोजनामा सुस्त गतिमा काम हुन थालेपछि सिँचाइमन्त्री दीपक गिरीले आयोजनाको निरीक्षण गरेका छन् । उनले आयोजना प्रमुखलाई आगामी फागुनसम्ममा केही नहरमा भए पनि पानी छोडिसक्न निर्देशनसमेत दिएका छन् ।
आयोजनाको निरीक्षण गर्दै मन्त्री गिरीले भने, ‘हजारौँ कृषकको जीवन बदल्ने यस्ता आयोजनाका काममा ढिलाइ हुनुहुन्न, जतिसक्यो चाँडो नहरमा पानी छोड्ने वातावरण मिलाउनुस् ।’ मन्त्री गिरीले कुनै पनि हालतमा काममा सम्झौता नगर्न पनि निर्देशन दिए । योसँगै मन्त्री गिरीले बर्दियाको बबई सिँचाइ आयोजना र कैलालीको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको पनि निरीक्षण तथा कार्यप्रगतिबारे स्थलगत जानकारी लिएका थिए ।
आयोजना प्रमुख रमेश बस्नेतले सबै ठेकेदार कम्पनीले काम तीव्र पारेको भन्दै आगामी जेठसम्ममा जेठी नालामा पानी छोड्न सकिने बताए । उनका अनुसार त्यो नालाबाट कम्तीमा ६ हजार हेक्टर जमिनमा सिँचाइ पुग्नेछ । फागुनसम्ममा आयोजनाको औपचारिक उद्घाटनसमेत हुनसक्ने उनले बताए ।
‘काम भइरहेको छ, सबै ठेकेदार कम्पनीको काम तीव्र गतिमा भइरहेको छ’, आयोजना प्रमुख बस्नेतले भने, ‘हामी पनि जतिसक्यो चाँडै किसानका खेतबारीमा पानी पु¥याउन चाहन्छौँ र त्यही स्प्रिरिटमा काम गरिरहेका छौँ ।’ उनका अनुसार भर्खरै मात्रै मूल नहरको काम सकिएको हुँदा अरू नहर बनाउने काम धमाधम भइरहेको छ ।
सुरुमा १२ अर्ब रुपैयाँबाट सुरु गरिएको यो आयोजनाको लागत अहिलेसम्म करिब २५ अर्ब २ करोड पुगिसकेको छ । बर्सेनि यो आयोजनाका लागि बजेट विनियोजन भइरहेको हुन्छ । दसौं वर्षसम्म काम भइरहेको छ ।
तर रिजल्ट केही पनि देखिएको छैन । त्यसैले यसबारेमा कुरा उठ्नु स्वभाविकै ठान्छन् आयोजना प्रमुख बस्नेत पनि । ‘दस वर्षसम्म काम भइरहेको छ तर पानी कुनै पनि नहरमा बगाउन सकिएको छैन । त्यसैले यसमा चासो हुनु स्वभाविकै हो’, उनले भने, ‘यसमा मन्त्री आफैं पनि चिन्तित हुनुहुन्छ, उहाँले काम छिटो सक्न भन्नुभएको छ ।’
उनका अनुसार सिक्टाको मूल नै टाढा हुनु ढिलाइको कारण हो । सिक्टाको मूल अगैयादेखि ३५ किलोमिटरको मूल नहर बनाएपछि त्यसबाट अरू नहरमा पानी वितरण हुन्छ । त्यो मूल नहर भर्खर मात्रै सम्पन्न भएको छ ।
अब सहायक नहरहरूमा पनि धमाधम काम सुरु गरेर केही महिनाभित्रै पानी परीक्षण गर्ने आयोजनाको लक्ष्य छ । यो ३५ किलोमिटर मूल नहरको क्षेत्रभित्र कुनै पनि सिँचाइ हुने जमिन छैन । ‘आयोजनाको मूल नै धेरै टाढा भयो त्यसैमा काम गर्न हामीलाई धेरै वर्ष लाग्यो त्यो पनि ढिलाइ हुनुको एउटा कारण हो ।’
पछिल्लोपटक यो आयोजनाको गुरुयोजना परिवर्तन गरेर केही क्षेत्र विस्तारसमेत गरिएको छ । पश्चिमी भाग मात्रै सिँचाइ लक्ष्य राखेको आयोजनाले अब पूर्वमा पनि तटबन्ध तथा नहर निर्माणको काम थालेको छ । पूर्वतिर थप ९ हजार हेक्टर जमिनलाई सिँचाइ गर्ने गरी आयोजनाको क्षेत्र विस्तार गरिएको हो ।
आयोजनाको सबै काम आब २०७७ सालसम्म सक्ने लक्ष्य राखिएको छ । त्यसका लागि काम धेरै नै तीव्र पारिएको आयोजना प्रमुख बस्नेतले बताए । ‘हाम्रो टार्गेट अब ०७६–७७ हो त्यहीअनुरूप हामीले कामलाई तीव्रता दिइरहेका छौँ’, बस्नेतले भने, ‘अब लामो समय बन्द, हड्ताल, नाकाबन्दी अनि आन्दोलन भएनन् र ठेकेदार कम्पनीले पनि धोका दिएनन् भने हामी निर्धारित समयमै काम सक्न लागिपरेका छौँ ।’ उनले ठेकेदार कम्पनीलाई कडाइका साथ काम अघि बढाउन निर्देशन र अनुगमन पनि तीव्र पाएिको दाबी गरे ।