विभाजनको राजनीति घातकः महत
कञ्चनपुरः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले कांग्रेसलाई विभाजनको राजनीतिक स्वीकार्य नभएको बताएका छन्। उनले भौगोलिक, धार्मिक, सामाजिक तथा जातीय ढंगले विभाजित गर्ने विकृतिपूर्ण राजनीतिलाई स्वीकार गर्न नसकिने बताए।
सुदूरपश्चिमी जिल्लाहरुको भ्रमणका क्रममा कञ्चरपुर पुगेका नेता महतले भने,‘वर्षौदेखि एकजुट भईँ मिलेर बसिरहेका नेपालीलाई अहिले विभाजित गर्ने काम हुँदैछ। यो विकृतिपूर्ण राजनीति हो र यसलाई हामीले बढावा दिनु हुँदैन, बन्द गर्नुपर्छ।’
संसारमा सबैले मानेको राजनीतिक व्यवस्था लोकतान्त्रिक व्यवस्था नै भएको भन्दै उनले पछिल्लो समय नेपालमा भौगोलिक, सामाजिक, धार्मिक र जातीय ढंगले नेपालीलाई विभाजित गर्ने राजनीति सुरु भएको बताए। उनले नेपालका सबै राजनीतिक शक्तिहरु अहिले लोकतान्त्रिक राजनीतिक प्रणालीमा आइसकेको र उनीहरुले कांग्रेसले अंगालेको आर्थिक नीति नै अगाल्न थालेकोले पार्टीका सबैले गौरव गर्नुपर्ने बताए।
‘२०४६ को परिवर्तनपछि नेपालको अर्थतन्त्रको आधुनिकीकरण गरेको र पूर्वाधारको जग बसाएको कांग्रेसले हो। आज गाउँ–गाउँमा सडक पुग्नु, शैक्षिक र स्वास्थ्य संस्थाको विकास, खानेपानीमा पहुँच, सञ्चार तथा उड्ड्यान क्षेत्रको विकास कांग्रेसको आर्थिक नीतिका कारणले भएको हो,’ नेता महतले भने।
महतले आगामी दिनमा आर्थिक एजेण्डालाई उच्च प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा जोड दिए।