'सरकार, पृथ्वीनारायण शाहको सम्मान गर’
काठमाडौंः व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिँदै सांसदहरुले राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाहको योगदानको सम्मानका लागि राष्ट्रिय एकता दिवसका दिन पुस २७ गते सार्वजनिक विदा दिनु पर्ने माग गरेका छन्।
राप्रपाका कुन्तीकुमारी शाहीले यही पुस २७ गतेको राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिन र राष्ट्रिय एकीकरणका पृथ्वीबाट भएको योगदानको सम्मान गर्न आग्रह गरिन्। शाहीले भनिन्,‘सडकदेखि सदनसम्म उठेका आवाजको सम्मान गर्न र राष्ट्रियताको प्रतिकको चिनारी दिनु गणतान्त्रिक आन्दोलनकै सम्मान हो।’ कमजोर मानसिकता र लज्जास्पद भावना त्याग्न उनले प्रमुख दलका शीर्ष नेताहरुलाई आग्रह गरिन्।
राप्रपाका अर्का सांसद भक्तबहादुर विश्वकर्मा खपांगीले पृथ्वीको सम्मान राष्ट्र र जनताको सम्मान भएकोले उनको तस्बिर अंकित नोट छाप्न आग्रह गर्दै विद्यालय र महाविद्यालयमा समेत विशेष पाठ्यक्रमको व्यवस्था गर्न उनले आग्रह गरे।
भारतमा महात्मा गान्धिको प्रचार हुन्छ भने हामी पृथ्वीको प्रचारमा किन र के-का लागि सरम मान्दै चुक्ने? उनले प्रश्न गरे। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नबुझिकनै संघीयता ल्याइएको भन्दै विपक्षीको विरोधकाबीच संविधान संशोधन विधेयक प्रस्तुत गरेर तराई र पहाडलाई आपसमा अलग गर्ने षड्यन्त्र भएको आरोप लगाए।
गणतान्त्रिक आन्दोलनको मुद्दा नै नभएको विषय संघीयता थोपर्नेहरुका लागि नै अहिले गलाको पासो भएको आरोप उनले लगाए। केसीले भने,‘ संघीयताले आज मुलुक धरासायी पार्न लागेको उदाहरण बिरालोको ख्याल ठट्टामा मुसो खुत्रुक्कै भए जस्तो छ।’ संघीयता थोपर्ने त्यतिबेलाका केही नायकहरु आज आफै लज्जा वोध गरिरहेको केसीले बताए।