चिसो र शीतलहरमा स्वास्थ्य
एक सातादेखि पहाड, हिमालमा ह्वात्तै जाडो बढेको छ । तराईमा बाक्लो हुस्सुका साथै शीतलहर चल्न थालेको छ । अत्यधिक चिसो र शीतलहरले झाडापखाला, निमोनिया, टाउको र छाती दुख्ने, हातखुट्टाका औंला, कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेकाहीँ घाउ हुने, रुघाखोकी, दम, छालासम्बन्धी समस्या, दाद, अनुहारमा सेतो दाग, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, छाला सुक्खा हुने, फुस्रो हुने र फुट्ने, चिसोको एलर्जी हुने, अपच, पखाला, आउँजस्ता पाचनसम्बन्धी रोग, हातखुट्टा र जोर्नी सुन्निने अवस्था निम्त्याएकाले अस्पतालमा भीड बढेको छ ।
मुटु, श्वासप्रश्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त पारेकाले उनीहरू पनि अस्पताल धाउन बाध्य छन् । चिसो मौसम भोजभतेरको समय भएकाले बढी खाना, बोसो र गरिष्ठ खानाले अपच, ग्यास्ट्राइटिस, झाडापखाला हुनसक्छ । चिसोमा जन्डिस र टाइफाइड हुने सम्भावना पनि प्रशस्त हुन्छ । जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचापमात्र बढ्दैन, प्रायः सबै दीर्घकालीन रोग बढी गम्भीर बन्छन् ।
हृदयाघात र मस्तिष्काघात
सहरबजारमा मर्निङवाक र गाउँघरमा कामका लागि एकाबिहानै बाहिर निस्कँदा लुगाफाटामा विशेष ख्याल राख्नुपर्छ । घाम लागेपछि मात्र मर्निङ वाक गर्नुपर्छ । घट्दो तापक्रम, चिसो हावाले रक्तधमनीको पर्खाल बाक्लो हुन्छ । रक्तनली खुम्चने भएकाले रक्तसञ्चारमा कमी हुन्छ ।
रगत र अक्सिजन नपुगी तथा खुम्चेको नसामा रक्तप्रवाह गर्दा अतिरिक्त परि श्रमले मुटुमा असर पुग्छ र हृदयाघातको सम्भावना बढाउँछ । रक्तप्रवाहको कमीले स्ट्रोक, मांसपेशी र जोर्नीको पीडा, श्वासनली खुम्चिएर दम, निमोनिया, ६० वर्षभन्दा बढी उमेरमा हाड खिइने, एलर्जी, टन्सिल, हातखुट्टा सुन्निने, नीलो हुने गर्छन् ।
सामान्य रक्तचाप भएकाहरूको बढ्ने र नियन्त्रणमा रहेकाहरूको अनियन्त्रित हुने र पहिलेदेखि नै अनियन्त्रित भएकाहरूमा अचानक बढेर आकस्मिक उपचारमा जानुपर्ने अवस्था आउँछ । जाडोमा रगतको प्लेटलेट बढी सक्रिय भई रगत जम्नसक्छ । सेतो, रातो र प्लेटलेटको संख्यामा १० प्रतिशतजति वृद्धि हुन्छ । जाडोमा रगतको गाढापना २० प्रतिशत बढ्छ ।
यसले प्रत्येक व्यक्तिमा रगत जम्ने सम्भावना गर्मीको तुलनामा बढी हुन्छ । तैपनि युवामा मुटु र मस्तिष्कको रक्तनली सामान्य भएकाले रगत गाढा भए पनि जम्ने सम्भावना कम हुन्छ तर पाको उमेरका व्यक्तिको रक्तनलीमा कोलेस्ट्रोल जमेर साँघुरो भई बाक्लो रगत प्रवाह हुँदा जम्ने सम्भावना बढी हुन्छ ।
शीतांग
जाडोमा शरीर तताउन मद्यपानलाई सजिलो विकल्प बनाइएको पाइन्छ । पद्यपानले मातेर राति ढलेकाहरू भोलिपल्ट बिहान नउठ्न पनि सक्छन । तत्काल न्यानो अनुभूति भए पनि त्यो भ्रममात्र हो । यसले शरीर तातो नभई चिसो हुने भएकाले विशेष सावधानी अपनाउनुपर्छ । शरीरको तापक्रम ३४ डिग्री सेल्सियसभन्दा तल झरेको अवस्थालाई शीतांग भनिन्छ ।
शरीर तथा कोठा न्यानो बनाउने निहुँमा धूमपान, मद्यपान गर्ने; झ्यालढोका थुनेर गुइँठा, दाउराको आगो बाल्ने काम गर्नु हुँदैन । सुत्ने बेला बालेको आगो, हिटर निभाउनुपर्छ । हिटर वा अन्य चीज बाल्दा त्यसनजिकै पानी राखी बालबालिकाको पहुँचभन्दा पर राख्नुपर्छ ।
यस्तो बेला हातखुट्टा चिसो हुनुका साथै सास फेर्न असजिलो, मुटुको चाल बढ्ने, रक्तचाप कम हुने र शरीरको तापक्रम कम भएपछि मृत्युसमेत हुनसक्छ । शरीरको तापक्रम ९० डिग्री फरेनहाइटभन्दा कम भए जीउ काम्न बन्द हुन्छ, सोच्न र बोल्न असजिलो हुन्छ । शरीरको तापक्रम ८६ डिग्री फरेनहाइटभन्दा कम भए बिरामी हिँड्न सक्दैन, शरीरका सबै अंगले काम गर्न छाड्छन् ।
तातो बनाउँदा/सीओ विषाक्तता
हामी चिसोबाट बच्न तातो पार्ने अनेक जुक्ति अपनाउँछौं । तर, यी तातो पार्ने साधनहरू हानिकारक पनि साबित हुन सक्छन् । सही रूपले बल्न नसकेको स्टोभ, हिट· सिस्टम, जेनेरेटर तथा चुरोट र मट्टितेल, ग्यासबाट चल्ने हिटर, गिजर तथा स्टोभ आदिको ग्यास तथा धुवाँबाट कार्बन मोनोक्साइड ग्यास उत्पन्न हुन्छ । सीओको सामान्य सम्पर्कमा आउँदा सुरुसुरुमा अलि टाउको दुख्छ ।
निरन्तर सम्पर्कमा रहँदा तीव्र टाउको दुखाइ, रिँगटा, थकान, वाकवाकी, चिटचिट हुनेजस्ता समस्या देखिनसक्छ । निर्णय क्षमता, स्मरणशक्ति र अंगमा तालमेलको कमी, स्नायुतन्त्रमा दीर्घकालीन हानि, सिक्ने र सम्झने क्षमतामा अभाव हुन्छ ।
ग्यासले कमजोर बनाउँछ, चेतना हराउँछ, प्रभावित व्यक्ति कराउन पनि सक्दैन र स्लिपिङ ट्याब्लेट खाएझैं लठ्ठ पर्छ र अन्ततः उसको मृत्यृ हुन्छ । शरीरमा वा रगतमा सीओको मात्रा ३० प्रतिशत पुग्दा टाउको दुख्ने, थकाइ लाग्ने हुन्छ, ४० प्रतिशत पुग्दा बेचैनी बढ्छ । रगतमा सीओको मात्रा ६० प्रतिशत हुँदा मान्छेले चेतना गुमाउँछ, बेहोस बन्छ र मात्रा ८० प्रतिशत पुग्दा मानिसको मृत्यु हुन्छ ।
रोकथाम
शारीरिक गतिविधि कम, खानपिन बढी, तौल बढ्ने लगायतले रक्तचाप र मधुमेहजस्ता रोगको जोखिम बढ्छ । तसर्थ मुटुरोगी, रक्तचाप नियन्त्रण नभएका, बूढापाका, मिर्गौला, मधुमेह, दमलगायतका दीर्घरोगी घाम उदाएका बेला अर्थात् बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म एकदुई घन्टा हिँड्न जरुरी छ ।
धुवाँ धुलोबाट बच्ने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खाने, भिटामिन सी पर्याप्त मात्रामा भएको र मौसमअनुसारका ताजा फलफूल तथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा बढी ध्यान दिने, प्रशस्त मात्रामा तातो झोलपदार्थ खाने गर्दा चिसोबाट बच्न सकिन्छ । चिसोमा धुलो, धुवाँ, चिसो र संक्रमणबाट जोगिन मास्क लगाउनु राम्रो हुन्छ ।
शरीर तथा कोठा न्यानो बनाउने निहुँमा धूमपान, मद्यपानको सेवन गर्ने, झ्याल,ढोका थुनेर गुइँठा, दाउराको आगो बाल्ने काम गर्नु हुँदैन । सुत्ने बेला बालेको आगो, हिटर निभाउनुपर्छ । हिटर वा अन्य चीज बाल्दा त्यसनजिकै पानी राखी बालबालिकाको पहुँचभन्दा पर राख्नुपर्छ ।
बन्द कोठामा जेनेरेटर, गाडी वा धुवाँ फाल्ने कुनै पनि यन्त्र चलाउनु हुँदैन । दाउरा, गुइँठा र ब्रिकेट बालेर कोठा तताउँदा झयालढोका खुला राख्नुपर्छ । कोठामा हावाको शचित ओहोरदोहोर भएको हुनुपर्छ । बाथरुममा ग्यास गिजर उपयोग गर्दा झ्याल वा भेन्टिलेसन खुला राख्नुपर्छ ।
जाडोमा मनतातो पानी, सुप, झोल पदार्थ सधैंभन्दा बढी पिउने, सकेसम्म परिवार नियोजनका साधन प्रयोग गर्नु हुँदैन । बिहानैको हुस्सु र चिसोबाट बच्नुपर्छ । घरबाहिर निस्कँदा न्यानो लुगा लगाएर निस्कने गर्नुपर्छ । चिसोमा मोटरसाइकलमा नहिँड्ने, उच्च रक्तचापको औषधि बीचमै नछोड्ने, चिसोबाट बच्ने उपाय अपनाउनु राम्रो हुन्छ ।
संक्रमण हुने र पुरानो रोगमा जटिलता जाडोमा थपिने जोखिम बढी हुने भएकाले नियमित स्वास्थ्य परीक्षण, खानपान, औषधिका विषयमा चिकित्सकसँग परामर्श लिनु राम्रो हुन्छ । लेखक राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा कार्यरत छन् ।