अमेरिकी राष्ट्रपति ट्रम्पको वरिष्ठ सल्लाहकारमा ज्वाइँ नियुक्त
न्युयोर्क : नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना ज्वाइँ जरेड कुसनरलाई ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार घोषणा गरेका छन् । यसबाट कानुनी एवं नैतिकतासम्बन्धी प्रश्न उठेका छन् ।
नवनिर्वाचित राष्ट्रपतिले कुसनरले ‘राष्ट्रपतिको वरिष्ठ सलाहकार’का रूपमा सेवा दिने स्पष्ट पारेका छन् । उनी ट्रम्पको चुनावी अभियानका सक्रिय सदस्य थिए । यसबाहेक उनीसँग कुनै राजनीतिक अनुभव भने छैन । फोब्र्स पत्रिकाका अनुसार कुसनर भाइ र पितासँगको संयुक्त कारोबारमा करिब १ अर्ब ८० करोड सम्पत्ति रहेको छ । उनले पनि वरिष्ठ सल्लाहकार भएबापत कुनै रकम लिने छैनन् ।
३५ वर्षीय कुसनरले ह्वाइट हाउसका चिफ अफ स्टाफ रेन्स प्रिबस एवं प्रमुख रणनीतिकार स्टिभ ब्याननसँग मिलेर ट्रम्पका योजनालाई कार्यान्वयन गर्नेछन् । यसअघि नै ट्रम्पले कुसनर विश्वसनीय सल्लाहकार बनाइने बताएका थिए । उनलाई आफ्नो वरिष्ठ सल्लाहकार बनाउन पाउँदा आफू गौरवान्वित भएको ट्रम्पको भनाइ छ ।
ट्रम्पले भने, ‘कुसनर व्यापार र राजनीति दुवै क्षेत्रमा सफल मानिस हुन् । उनी मेरो समूहका महत्वपूर्ण सदस्य हुनेछन् । मैले अमेरिकी नागरिकलाई प्राथमिकता दिने योजना महत्वाकांक्षी योजना बनाएको छु । त्यसलाई कार्यान्वयन गर्नेछु ।’ कुसनरले नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले दिएको जिम्मेवारीको स्वागत गर्दै यसका लागि आफू कृतज्ञ रहेको बताएका छन् ।