इटालीः इटालीका प्रधानमन्त्री पाओलो जेन्टिलोनी अस्वस्थ भएका छन् । पेरिसबाट स्वदेश फर्किने क्रममा मङ्गलबार अस्वस्थ भएपछि आकस्मिक शल्यक्रिया गरिएको छ ।
यात्राका क्रममा असहज महसुस गरेपछि उनलाई उपचारका लाग अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा रक्तनली अवरुद्ध भएको तथा साघुरिएको भन्दै उनको शल्यक्रिया गरिएको हो ।
६२ वर्षीय प्रधानमन्त्री शल्यक्रियापछि होशमा आइसकेको छ । स्वास्थ्यमा क्रमिक सुधार आएको उनका सहयोगीले बताएका छन् ।
‘बुधबार बिहान हामीले कुराकानी गरेका थियाै, मलाई विश्वास छ प्रधानमन्त्री छिट्टै काममा फर्किनुहनुेछ, जेन्टिलोनीका निकट रहेको मन्त्री बेनेडेट्टो डेल्ला वेदोभाले पत्रकारसँग कुरा गर्दै भने ।
उनको उपचार एन्जियोप्लाष्टी प्रविधिबाट गरिएको थियो ।
इटालीका पूर्व प्रधानमन्त्री मेटेओ रेन्जीले इटालीमा भएको जनमत सङ्ग्रहमा अपेक्षाकृत नतिजा पाउन नसकेपछि अकस्मात राजिनामा दिएका थिए ।
जेन्टिलोनीलाई गत महिनामा नियुक्त गरिएको थियो । प्रधानमन्त्री नियुक्त भएपछि यूरोपेली मुलकका नेतासँगको भेटलाई प्राथमिकतामा राखी विदेश दौडाहमा थिए । उनले बिहीबार बेलायती समकक्षी थेरेसा मेसँग भेट्ने कार्यक्रम थियो । रासस/एएफपी