वाग्मती किनारमा ‘सरकारी पृथ्वी जयन्ती'
काठमाडौंः वाग्मती सफाइ अभियन्ता उत्तम पुडासैनी यसपटकको पृथ्वी जयन्ती खुलामञ्चमा मनाउन पाउने आशामा थिए । त्यहाँ नेपाली सेनाले सलामी देला र सरकारी ब्यान्डबाजा बज्ला भन्ने उनलाई लागेको थियो । तर यसपटक पनि उनको सपना अधुरै रह्यो ।
सरकारी स्तरबाट यो दिवस बनाउन नपाएपछि पुडासैनीलगायत स्थानीयले नयाँ उपाय निकाले- वाग्मती किनारामा राष्ट्रिय झन्डा अभियान चलाउने । त्यसपछि जम्बुडाँडा जोरपाटीका स्थानीय जुटे र झन्डा उद्यान अभियान सञ्चालन गरे । त्यसलाई उत्प्रेरण हौसला दिए- क्षेत्र ३ का सांसद रामेश्वर फुयाँलले ।
बुधबार बिहानै वाग्मती किनारमा सर्वसाधारण जम्मा भइसकेका थिए । कार्यक्रम आयोजना गरेको थियो- स्थानीय टाइमलाइन स्कुल र सुगम नगर विकास समाजले । प्रमुख अतिथि फुयाँलले सांसदको लोगो देखाउँदै भने, ‘सरकारी स्तरमा पृथ्वी जयन्ती मनाइएन भनेर चिन्ता नगर्नुस्, म सरकारी प्रतिनिधि हुँ ।
त्यसैले यो दिवस पनि सरकारी नै हो ।' त्यसपछि सहभागीले समर्थनमा ताली पड्काए । पृथ्वी जयन्तीको अवसर पारेर फुयाँलले नजिकै रहेको खाली जग्गामा २० फिटको राष्ट्रिय झन्डा फहराए ।
लाइफटाइम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज ढकालका अनुसार हरेक वर्ष २० फिट लामो राष्ट्रिय झन्डा फेर्ने जिम्मा विद्यालयले लिएको छ । ‘माघेसंक्रान्तिका दिनदेखि यो झन्डामुनि दिनमा हजार मानिस बस्छन् र सलाम गर्छन्', फुयाँलले उद्घोष गरे । उनका अनुसार यो गाडिएको सबैभन्दा अग्लो झन्डा हो । यसअघि भद्रवासको तारेभीरमा १९ फिट अग्लो राष्ट्रिय झन्डा फहराइएको उनी बताउँछन् ।
वाग्मती सफाइ अभियान्ता पुडासैनीका अनुसार अब वाग्मती करिडोरमा झन्डा अभियान चलाइनेछ । यसका लागि यस क्षेत्रमा गठन भएका २० उपभोक्ता समितिसँग परामर्श भएको छ । पृथ्वी जयन्ती पारेर सुरु गरिएको अभियानलाई विस्तार गर्ने र करिडोरलाई नै झन्डा उद्यानमा परिणत गर्ने तयारी छ । उनका अनुसार यसका लागि कुनै बजेट छैन । स्थानीय जनता आफैं जुटेका छन् । बगैंचामा रुद्राक्ष, तुलसीलगायत विभिन्न जातका बिरुवा रोपिनेछ ।
वाग्मती करिडोरलाई झन्डा उद्यानमा परिणत गरी रुद्राक्ष, तुलसीलगायत विभिन्न जातका बिरुवा रोप्ने उद्घोष ।
फुयाँलले नेपालको झन्डा फेर्ने षड्यन्त्र आफूहरूले विफल पारेको दाबी गरे । संविधानसभाको समितिमा दुई भोट नपुगेकाले अहिले झन्डा फेरिन नपाएको हो । उनले थपे, ‘यो नेपालको झन्डा हो, इतिहास बोकेको छ, कुनै वंशसँग जोडिएको छैन ।' पार्टीभित्र आफूले यो अभियान सुरु गर्दा निकै कठिन भए पनि पछि पार्टीको कार्यक्रममा औपचारिक प्रयोग गर्न पाएकोमा लडाइँ जितेजस्तो महसुस भएको उनले बताए ।
फुयाँलले झन्डा अभियान सञ्चालन गर्ने नयाँ तरिका पनि सुझाए । ‘अब हरेकले राष्ट्रिय झन्डा प्रयोग गरौं, पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणको उच्च सम्मान गरौं', उनले भने, ‘यो अभियान क्षेत्र ३ बाट सुरु गरौं, एक घर एक झन्डा राखौं । क्षेत्र ३ मा यसलाई एउटा अभियानका रूपमा पहिला सञ्चालन गरौं ।'