कांग्रेस नेताले टेरेनन् केन्द्रको निर्देशन
काठमाडौः कांग्रेस केन्द्रीय कार्यालयबाट २७ बुँदे जिम्मेवारीसहित जिल्ला खटाइएका अधिकांश केन्द्रीय सदस्यले पार्टी निर्देशन अटेर गरेका छन् ।
एक महिनाअघि पार्टी सभापति शेरबहादुर देउवाले संगठन सुदृढीकरणका लागि पुस महिनाभरि बस्ने गरी ७० जिल्लामा केन्द्रीय सदस्यलाई प्रतिनिधि खटाएका थिए । तर अधिकांश केन्द्रीय सदस्य खटाइएको जिल्लामा गएनन् भने गएका पनि सदरमुकाम बसेर एक साताभित्रै फर्किएका छन् ।
केन्द्रीय सदस्यलाई विभिन्न २७ बुँदे जिम्मेवारी दिएर कम्तीमा १५ दिन र बढीमा एक महिना सम्बन्धित जिल्लामै बस्न निर्देशन दिइएको थियो । निर्देशनमा जिल्ला, नगर तथा गाउँ कमिटीले पूर्णता पाएको छ कि छैन, पाएको छैन भने के-के कारणले पाएको छैन, यी कमिटीको बैठक कति महिनामा बस्ने गरेको छ, कस्ता निर्णय हुने गरेका छन् जस्ता प्रश्न समावेश थियो ।
त्यसैगरी बैठक बसेको छैन भने किन बसेको छैन, पार्टी कार्यालय कसरी सञ्चालन भएका छन्, पार्टी कार्यालयको भौतिक संरचना कस्तो छ, रेकर्ड प्रणाली कस्तो छ, हरेक कार्यालयमा आफ्नो मातहत क्षेत्रको प्रोफाइल छ कि छैन, आफ्नै कार्यालय भवन छन् वा छैनन्लगायत बुँदा समेटेर केन्द्रमा लिखित प्रतिवेदन बुझाउन निर्देशन गरिएको थियो ।
प्रतिनिधि खटाएको एक महिनासम्म एकजना पनि प्रतिनिधिले केन्द्रमा प्रतिवेदन बुझाएका छैनन् । ‘जिल्ला खटाइएका केन्द्रीय सदस्य कसैको पनि प्रतिवेदन केन्द्रमा आएको छैन', कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले अन्नपूर्णसँग भने, ‘उहाँहरूको प्रतिवेदन आउँदै होला ।'
कांग्रेसले निकट भविष्यमा हुने तीनै तहका निर्वाचनलाई मध्यनजर गरेर जिल्ला, क्षेत्र र गाउँको पार्टी संगठन संरचना, जनताको गुनासोलगायत विषयमा धारणा बनाउने गरी केन्द्रीय प्रतिनिधि खटाएको हो । उनीहरूलाई पार्टीको जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति र गाउँ कार्यसमितिको कम्तीमा एक÷एक बैठकमा सहभागी भएर त्यहाँको संगठन विस्तारका चुनौती र सम्भावनाका विषयमा अध्ययन गर्न निर्देश दिइएको थियो । तर एकजना पनि केन्द्रीय सदस्य खटाइएको जिल्लामा एक महिनासम्म नबसेको केन्द्रीय कार्यालयले जनाएको छ ।
पार्टी निर्देशनमा केन्द्रीय प्रतिनिधिलाई सम्बन्धित जिल्लाको पार्टीको हितका लागि प्राथमिकतामा राख्नुपर्ने विकास-निर्माणका आयोजना, स्थानीय तहको पुनर्संरचना अभियान, पुनर्संरचनापछि स्थानीय तहमा नेपाली कांग्रेस तथा अन्य पार्टीको अवस्थालगायत विषय समेटेर प्रतिवेदन तयार गर्ने कार्यभार दिइएको थियो ।
तनहुँमा प्रतिनिधि खटिएका चन्द्र भण्डारी एकदिने कार्यकर्ता भेटघाट गरेर फर्किए । त्यस्तै शंकर भण्डारी खटाइएको जिल्ला रोल्पा अझै पुगेकै छैनन् ।
बझाङ खटिएका नवीन्द्रराज जोशी, उदयपुर खटिएका देवन्द्रराज कँडेल, रौतहट खटिएका महेश आचार्य, सिन्धुली खटिएकी कमल पन्त जिल्ला पुगेका छैनन् ।त्यस्तै कालीकोट खटिएका रमेश लेखक, हुम्ला खटिएका गगन थापा र सल्यान खटिएका मीन विश्वकर्मा पनि गएका छैनन् ।
अधिकांश केन्द्रीय सदस्य खटाइएको जिल्लामा गएनन् भने गएका पनि सदरमुकाम बसेर एक साताभित्रै फर्किएका छन् ।
डोल्पा खटिएका जीवनबहादुर शाही, मुगु खटिएका अर्जुननरसिंह केसी, बझाङ खटिएका दीपक गिरी र जाजरकोट खटिएका पद्मनारायण चौधरी पनि जिल्ला पुगेका छैनन् । केन्द्रीय कार्यालयले खटाएकामध्ये आधाजसो नेता जिल्ला नपुगेको केन्द्रीय कार्यालयले जनाएको छ ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सुनसरी जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा एक-एकवटा भेला सम्पन्न गरिसकेका छन् । उनी १० दिन सुनसरी बसेर फेरि फर्किएका छन् । परराष्ट्रमन्त्रीसमेत रहेका डा.प्रकाशशरण महतले चितवन तीनपटक आवत्जावत गरेका छन् । बहादुरसिंह लामाले पुस २७ गतेका लागि सिन्धुपाल्चोकको चौतारामा जिल्ला भेला बोलाएका थिए । ज्ञानेन्द्रबहादुर कार्कीले झापामा तीनवटा क्षेत्रीय र गाउँ तहका भेला गरेका छन् ।