पृथ्वी जयन्ती
नेपाल एकीकरणको २४७ वर्ष बितेको छ । नेपाली राष्ट्रियता र राष्ट्र त्यो एकीकरणका मुख्य नायक तथा त्यो सफल अभियानका सहभागी समस्त पुर्खाप्रति कृतज्ञ छ । पूर्वीय दर्शन र समाजको यो मौलिक संस्कार र संस्कृति पनि हो कि ऊ आफ्ना पूर्वज अनि राष्ट्रका विभिन्न जीवनमा सकारात्मक योगदान पुर्याएकाहरूप्रति सधैं सम्मानजनक र कृतज्ञ रहन्छ ।
पृथ्वीनारायण शाहको जीवन उपलब्धिमूलक रह्यो, तर एकीकरणपछि उनी ६ वर्ष मात्र बाँचे । त्यही छोटो अवधिमा पनि उनले नेपाली राष्ट्रियताको बलियो जग हाले । कूटनीति तथा सुरक्षा नीति, घरेल राज्य सञ्चालन, सार्वजनिक जीवनको शुद्धताको आधार र नीति तय गरे उनले दिव्योपदेशद्वारा ।
एकीकरणकै क्रममा उनले विविध धर्म र साम्राज्यको महत्वाकांक्षा बोकेका आततायीहरूलाई पराजित गरी नेपाललाई मनोवैज्ञानिक हिसाबले राष्ट्रियताको चौघेराभित्र सुदृढ अस्तित्व दिए । खासगरी धर्म परिवर्तनमार्फत र नेपाली राष्ट्रियतालाई अवमूल्यन या धराशायी बनाउने असफल खेलमा लागेका विदेशीले उनलाई ‘निर्मम र क्रूर' योद्धाको रूपमा पनि प्रस्तुत गरेका छन् भावी इतिहासलाई प्रभावित गर्ने गरी र कतिपय नेपाली अध्येता र इतिहासविद्ले त्यसलाई नियोजित असत्य प्रचारको संज्ञा दिएका छन् ।
जे होस्, इतिहास सधैं खोज र अनुसन्धानको विषय रहिआएको छ सर्वत्र र पृथ्वीनारायण त्यस अर्थमा इतिहासका अपवाद पात्र रहने छैनन् ।
तर ०६३ को राजनीतिक परिवर्तनमा पृथ्वीनारायणले पराजित गरेका शक्तिहरूका मान्यतालाई प्रतिनिधित्व गर्ने शक्ति र दाताहरूको उक्साहटमा नेपाललाई जातीय दलदलमा फसाउन केही स्थानीयहरू पनि लागिपरेका छन् । यी प्रवृत्तिले पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसको रूपमा हटाउने तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको निर्णयसँगै मलजल पायो । यसलाई नियोजित षड्यन्त्रको पाटो मान्ने धेरै आधार छन्, नेपाली एकीकरणविरुद्ध ।
तर त्यसभन्दा आपत्तिजनक आचरण अहिलेका राजनीतिज्ञहरूले प्रदर्शन गरेका छन् । राष्ट्रपति विद्या भण्डारीदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिपक्षी नेता केपी ओली र पृथ्वी जयन्तीका अवसरमा चियापान आयोजना गर्दै आएका राप्रपा नेपालका नेता कमल थापा सबैले पृथ्वीनारायणप्रति राष्ट्रले सम्मान गर्नुपर्ने ‘अडान' लिए पनि त्यो निर्णय नगर्नुले उनीहरूको द्वैध चरित्र या राष्ट्रियताका प्रतीकात्मक तत्वहरूप्रतिको उदासीनता देखाउँछ ।
यिनीहरूमध्ये कसैले पनि दरो र इमानदार अडान दिन सकेको भए पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसका रूपमा मान्यता दिन कठिन थिएन । तर महत्वपूर्ण निर्णयहरूसमेत बाह्य शक्ति केन्द्रहरूलाई सोधेर लिन थालेका नेताहरूमा राष्ट्रियता र राष्ट्र निर्माताको सम्मानमा उभिने साहस आउला र ?
तर नेता तथा उच्च ओहोदामा बस्नेहरू मुलुक एकीकरणप्रति कृतघ्न भएको सन्देश गए पनि पृथ्वीनारायणलाई राष्ट्र र समाजका विभिन्न समूहले सम्मान गर्नुले एकीकरणप्रतिको उनीहरूको सम्मान देखाउँछ । त्यसैको जगमा नेपालको स्वतन्त्र अस्तित्व र राष्ट्रियता अडिग रहिरहने दरिलो सन्देश प्रवाह भएको छ ।