१५ घटनामा संलग्न लुटेरा पक्राउ
काठमाडौः उपत्यकाभित्र भएका शृंखलाबद्ध लुटपाटका घटनामा संलग्न भएको आरोपमा रामेछाप दोरम्बाका टीका थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले थापा मगरलाई दक्षिण ढोकाबाट नियन्त्रणमा लिएको हो ।
पछिल्लोपटक गत वर्ष असार ७ गते चोरी तथा डकैती गरेको आरोपमा पक्राउ परी २६ लाख रुपैयाँ धरौटी तिरेर जेलबाट छुटेका थापा मगर पुनः लुटपाटमा संलग्न रहेको महाशाखाले जनाएको छ । उपत्यकामा भएका १५ वटा लुटपाटका घटनामा उनी संलग्न रहेको प्रहरीको दाबी छ । महाशाखाले थापा मगरलाई पक्राउ गरेपछि उनको कोठा खानतलासी गर्दा तीन लाख रुपैयाँ नगदसमेत बरामद गरेको छ ।
गत पुस २२ गते भक्तपुर कौशलटारस्थित एनआईसी एसिया बैंकबाट ६ लाख रुपैयाँ निकालेर हिँड्दै गर्दा मन्दिरा अधिकारीको ब्याग लुटेर भागेको घटनामा थापा मगरको संलग्नता रहेको प्रहरीले जनाएको छ । उनले यसअघि गत मंसिर १९ गते पवित्रनगरस्थित ग्लोबल आईएमई बैंक र रिलायबल डेभलपमेन्ट बैंकबाट यमकला भण्डारीले निकालेको तीन लाख ६० हजार रुपैयाँसमेत लुटेर भागेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
त्यसैगरी मंसिर ५ गते भक्तपुर कटुन्जेस्थित इस्ट इन्टरनेसनल मनी ट्रान्सफरबाट सुस्मिता सुवेदीले निकालेको ७३ हजार ६ सय ६९ रुपैयाँसमेत मोटरसाइकलमा आई लुटेर फरार भएको घटनामा पनि थापा मगरको संलग्नता खुलेको छ ।
‘थापा मगर मोटरसाइकल लिएर बैंक तथा वित्तीय संस्थाअगाडि ढुकेर बस्ने र पैसा निकालेर निस्किएका सेवाग्राहीलाई पिछा गरी एकान्तस्थलमा पुगेपछि ब्याग लुटेर भाग्ने गरेको अनुसन्धानबाट खुलेको छ', महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, ‘उनी पेसेबर लुटेरा हुन्, यसअघिका ६ वटा लुटपाटका घटनामा पक्राउ परी कारबाहीपछि छुटेका अभियुक्त उनै हुन् ।'
टीका थापा मगरले मोटरसाइकल लिएर बैंक तथा वित्तीय संस्थाअगाडि ढुकेर बस्ने र पैसा निकालेर निस्किएका सेवाग्राहीको पिछा गरी एकान्तस्थलमा पुगेपछि ब्याग लुटेर भाग्ने गरेका थिए ।
२०७१ माघ २१ गते नयाँ बानेश्वरस्थित ह्वाइटहाउस कलेजनजिकै ग्लोबल आईएमई बैंकबाट १८ लाख ८४ हजार ६ सय ३५ रुपैयाँ निकालेर स्कुटर चढ्दै गर्दा सरस्वती आचार्यको साथबाट पैसासहितको झोला लुटेर भागेको घटनामा समेत थापा मगरको संलग्नता रहेको एसएसपी खनालले जानकारी दिए ।
पैसासहितको झोला लुट्ने घटनासँगै सिक्री लुटपाटमा समेत थापा मगरको संलग्नता खुलेको छ । महाशाखाका अनुसार गत वर्ष जेठ २७ गते बुद्धनगरमा उर्मिला कँडेलको गलाको सिक्री र २०७१ वैशाख २७ गते बाफलस्थित कोहिनुर हाउजिङनजिकै सीता श्रेष्ठको सिक्री लुटपाटमा समेत उनको संलग्नता पाइएको छ ।
‘प्रारम्भिक अनुसन्धानमा थापा मगरका केही कर्तुत खुलेका छन्, थप अनुसन्धानबाट अन्य घटनामा समेत उनको संलग्नता पत्ता लाग्छ', एसएसपी खनालले भने । लुटपाटपछि थापा मगरले क्यासिनोमा जुवा खेल्ने र मोजमस्तीमै पैसा उडाउँदै आएको प्रहरीको दाबी छ ।