लिबर्टी इनर्जीको साधारणसभा
काठमाडौः लिबर्टी इनर्जी कम्पनी लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार सम्पन्न साधारणसभाबाट आगामी चार वर्षे कार्यकालका लागि सञ्चालक कुशकुमार जोशी, आत्माराम घिमिरे, सुशील थापा, रामबहादुर पाण्डे र राजेन्द्र वस्ती निर्विरोध निर्वाचित भएका छन् ।
साथै निर्वाचित सञ्चालकमध्येबाट सञ्चालक अध्यक्षमा कुशकुमार जोशी र प्रबन्ध सञ्चालकमा आत्माराम घिमिरे नियुक्त भएको कम्पनीले जनाएको छ । यस कम्पनीले दुईवटा जलविद्युत् आयोजनालाई अगाडि बढाइरहेको छ जसमध्ये लमजुङ जिल्लामा रहेको माथिल्लो दोर्दी ‘ए' जलविद्युत् आयोजना २५ मेगावाट क्षमताको छ ।
२०७५ असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको उक्त योजनाको करिब ३० प्रतिशत निर्माण कार्य सकिएको छ । साथै कम्पनीले बागलुङ र गुल्मी जिल्लामा रहेको बडीगाढ खोलामा २१ मेगावाट क्षमताको बडीगाढ खोला जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी अध्ययन गरिरहेको छ ।