नरहरीनाथ चिनाउन नेपालभर जागरण (भिडियो)

नरहरीनाथ चिनाउन नेपालभर जागरण (भिडियो)

काठमाडौं: गुरु गोरक्षनाथले पृथ्वीनारायण शाहलाई घरबाट दही ल्याउन भने । ठेकी नै लिएर गुफामा पुगेपछि गोरक्षनाथले सबै दही खाए । अलिकति पृथ्वीनारायणलाई दिए तर घिनाएर उनले खाएनन् । हातमा पर्नुपर्ने दही अलिकति खुट्टामा पर्‍यो । यो सबै पृथ्वीनारायणले घर पुगेर आमालाई सुनाए ।

आमाले गोरक्षनाथले दर्शन दिएको लगायतका विषयको महत्व बुझाइन् । गोरक्षनाथले पृथ्वीलाई भनेका थिए, 'मैले दिएको सबै दही खाएको भए जे बोले पनि पुग्थ्यो, ठिकै छ पाउमा लाग्यो । अब जहाँ जहाँ टेक्छौ त्यहाँ त्यहाँ एकता हुनेछ ।' घर पुगेपछि आमाले पनि थपिन्, 'मुलुकका लागि देश दर्शन गर्न पैदल यात्रा गर ।'

गुरु गोरक्षनाथ पीठ मृगस्थलीमा गोरक्षनाथले २००८ वैशाख १ गते स्थापना गरेको कर्मवीर महामण्डल स्वयं सेवक संघका अध्यक्ष योगी देवनाथले गुरु गोरक्षनाथ र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहबीचको सम्बन्ध र नेपालका लागि दुईको महत्व प्रष्ट पार्दै प्रस्तुत गरेको सन्दर्भ हो यो । अहिलेजस्तै त्यतिबेला पनि नेपाल राज्य अराजक रहेको र गोरक्षनाथकै आशिर्वादले गर्दामात्र एकीकरण संभव भएको उनको तर्क छ ।

उनले थपे, 'पृथ्वीनारायणका दिव्योपदेश यथार्थ रुपमा लागू नगर्दा मुलुकको यो हाल भएको हो । दिव्योपदेश लेखे पनि भित्रै थिए, गुरु गोरक्षनाथले नै पहिलोपटक मुलुकभर पुर्‍याउनुभएको हो ।' राष्ट्रिय एकताका सूत्रधार शाहको बाटोमा देश चल्न छोडेपछि देश आफ्नो मौलिक स्थितिबाट अगाडि बढ्न नसक्ने देखेपछि राष्ट्रको चारैवटा सत्ता (धर्म सत्ता, राष्ट्र सत्ता, जनसत्ता र राजसत्ता) लाई वैदिक साम्यवादी नीतिअनुसार राष्ट्रको राजनीति, अर्थनीति, धर्मनीति एवं समग्र सत्ता सञ्चालन गर्नका निमित्त स्वयं योगी नरहरीनाथ संस्थापक रहेर २००८ सालमा कर्मवीर महामण्डल स्वयंसेवक संघको स्थापना गरेको देवनाथले जानकारी दिए ।

भिडियो हेर्नुहोस्

राष्ट्रगुरु उनै योगी नरहरीनाथका विविध प्रयास, विचार र अभियानलाई शिष्यहरुले अब मुलुकभर जागरण ल्याउने भएका छन् । पाशुपत क्षेत्रको मृगस्थलीमा रहेको गोरक्षनाथ पीठमा बुधबार 'कर्मवीर महामण्डलः हिजो, आज र भोलि' विषयमा प्रवचन गर्दै देश दर्शन जागरणको शुभारम्भ भएको घोषणा गरिएको हो । संघका अध्यक्ष योगी देवनाथ, उपाध्यक्ष प्रमोदनाथ खड्का र महासचिव एवं संघका प्रवक्ता रवि खड्काले घोषित जागरण अभियानलाई आगामी वर्षको पुस २७ गतेसम्ममा मुलुकभरका सबै ७५ वटै जिल्ला, नगरपालिका र गाउँ विकास समितिका साथै विद्यालय तथा बस्तीहरुमा पुर्‍याउने भएका हुन् ।

उनीहरुले पूर्वीय दर्शन, वेद र संस्कृत नचिने र नबुझे मुलुकको मौलिक अस्तित्व बचाउन नसकिने र राष्ट्रियताविना राष्ट्रको महिमा गर्व गर्न योग्य नहुनेजस्ता विषयबारे जानकारी गराउने छन् । प्रत्येक जिल्लामा 'कर्मवीर महामण्डलः हिजो, आज र भोलि' विषयक गोष्ठी सञ्चालन गर्नेछन् भने यी समग्र विषय गाउँ गाउँ पुर्‍याउन प्रत्येक जिल्लामा समिति गठन पनि गरिनेछन् । प्रवचनमा डा. शास्त्रदत्त पन्तले २५ वर्षयताको राज्यव्यवस्थामा कुनै पनि नेपालीले चित्त बुझाउन नसकेको तर्क गरे ।

उनले भने, 'प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र जे आए पनि राष्ट्रमा विश्वासको संकट झन् गहिरो रुपमा खाडल बनेको छ । कुनै दल, संघसंस्थालाई विश्वास गर्ने वातावरण नहुँदा मुलुकमा झनै ठुलो समस्या छ ।'जनार्दन घिमिरेले सही र आवश्यक चिन्तनको अभावमा नेपाल र नेपाली गरिब हुनुपरेको बताए । उनले भने, 'युरोप लगायत यतिबेला वेद खोजिरहेछ तर त्यो दिन सक्ने विश्वमा एउटै देश छ त्यो हो नेपाल । संसार हिन्दुको देश भनेर नेपालको पछि लागेको होइन, वेदको पछि लागेको हो त्यो चुरो कुरो बुझ्न नसक्दा नेपाल चुकिरहेको छ ।'

पेशलकुमार निरौलाले नेपालको अस्तित्व बचाउन पृथ्वीनारायण र नरहरीनाथबाट मुलुक चल्नुपर्नेमा जोड दिए । उनले भने, 'स्वतन्त्र ढंगले जाती र पार्टी भन्दा माथि उठ्न सकेमात्र नेपाल नेपाल बन्छ यसका लागि पृथ्वीनारायणलाई शीरमा र योगी नरहरीनाथलाई मनमा राख्नुपर्छ ।' नरहरीनाथले साप्ताहिक रुपमा प्रकाशन गर्दै गरेको पत्रिका 'कर्मवीर' लाई पुनः मासिक रुपमा प्रकाशन थालिएको भन्दै बुधबार विमोचन गरिएको थियो । सोही अवसरमा कर्मवीर डटकम पनि सार्वजनिक गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.