ढुंगा प्रहारपछि उर्जामन्त्रीको उद्धार (भिडियोसहित)
सन्धिखर्कः अर्घाखाँची महोत्सवको उद्घाटन सत्रमा तनाव भएपछि ऊर्जामन्त्री जनार्दन शर्मा कार्यक्रमलाई सम्बोधन नै नगरी काठमाडौं फर्किएका छन् । बिहीबारदेखि सुरु हुन लागेको अर्घाखाँची महोत्सवको उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका नेता डिलाराम आचार्यले ‘देश टुक्रिनु भएन, ५ नम्बर टुक्रेमा केही हुदैन’ भनेपछि आक्रोशित युवाले मञ्चमा ढुंगा बर्साएका थिए ।
महोत्सव उद्घाटन गर्न हेलिकोप्टर चढेर आएका ऊर्जामन्त्री शर्मा कार्यक्रममा तनाव भएपछि मन्तव्य नराखी फर्किएका हुन् । माओवादी नेताको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै स्थानीयले ढुंगामुढा गरेपछि कार्यक्रम नै स्थगित भएको छ ।
भिडियाे हेर्नुहाेस्
कार्यक्रमस्थल तनावग्रस्त बनेपछि मन्त्री शर्मालाई प्रहरीले स्कटिङ गरेर बाहिर लगेको थियो। आफ्नो अभिव्यक्तिका कारण कार्यक्रममा तनाव भएपछि माओवादी नेता आचार्यले माफी मागेपछि मात्र स्थिति सामान्य भएको थियो ।
नेता आचार्यले आफू अर्घाखाँजीवासी भएको र जिल्लावासीसँग टाढा हुन नसक्ने भन्दै आफूले बोलेका शब्द फिर्ता लिदै माफी मागेका थिए ।
कार्यक्रमस्थलमा ढुंगामुढा हुँदा प्रेम खड्का र मानबहादुर भुसाल घाइते भएका छन् । घाइते दुबैजनाको जिल्ल अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ ।