खेलग्राम बनाउन जग्गा खोजी
काठमाडौः सरकारले अन्तर्राष्ट्रिय स्तरको खेलग्राम (स्पोर्ट्स भिलेज) निर्माण गर्ने लक्ष्यसहित आवश्यक जग्गाको खोजीप्रक्रिया अघि बढाएको छ ।
देशमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अधिकांश प्रतियोगिताको भार थेग्दै आएको राजधानीस्थित एकमात्र दशरथ रंगशालाको अवस्था अघिल्लो वर्ष गएको विनाशकारी भूकम्पका कारण दयनीय बनेपछि सरकारले अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न खेलग्राम बनाउने तयारी गरेको हो ।
अन्तर्राष्ट्रिय स्तरको खेलग्राम निर्माणका लागि जग्गा खोज्न युवा तथा खेलकुद मन्त्रालयले समितिसमेत गठन गरिसकेको छ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीको अध्यक्षतामा पुस २० मा बसेको बैठकले अन्तर्राष्ट्रिय स्तरको खेलग्राम निर्माणका लागि उपयुक्त जग्गा खोज्न मन्त्रालयका उपसचिव महेश्वर शर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समिति सदस्यमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बजेट तथा कार्यक्रम शाखाका वासुदेव आचार्य र निर्माण शाखाका इन्जिनियर प्रभात बडाल छन् ।
समितिलाई खेलग्राम निर्माणका लागि उपयुक्त जग्गा पहिचान गरी फागुन मसान्तभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । खेलकुदमन्त्री श्रीपालीले सुविधासम्पन्न पूर्वाधार अभावमा खेलकुद क्षेत्रले अपेक्षित नतिजा हासिल गर्न नसकेको तथ्यलाई ध्यानमा राखी सरकारले अन्तर्राष्ट्रिय स्तरको खेलग्राम निर्माण गर्ने तयारी गरेको बताए ।
‘खेलकुद क्षेत्रमा पूर्वाधारको अभाव छ । भएका पूर्वाधार पनि जीर्ण बन्दै गएका छन् । त्यसैले सरकारकै पहलमा अन्तर्राष्ट्रिय स्तरको खेलग्राम बनाउने तयारी गरिएको हो । जग्गाको टुंगो लाग्नासाथ निर्माणप्रक्रिया अगाडि बढाइनेछ', मन्त्री श्रीपालीले भने ।
उनका अनुसार खेलग्राममा विभिन्न खेलका लागि अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार निर्माण गरिनेछ । मन्त्री श्रीपालीले खेलग्रामका लागि जग्गा खोज्दा काठमाडौं उपत्यका र छेउछाउका जिल्लालाई प्राथमिकतामा राखिएको बताए ।
मन्त्रालयका उपसचिव शर्माका अनुसार सरकारले निर्माण गर्ने खेलग्राममा विभिन्न खेलका संरचना तयार पारिनेछ । ‘क्रिकेट र फुटबलसँगै विभिन्न खेलको संरचना एकै थलोमा निर्माण गर्ने उद्देश्यले आवश्यक जग्गाको खोजीप्रक्रिया अघि बढाइएको हो । खेलग्राममा अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार निर्माण गरिनेछ । यो खेलग्राम निर्माण भएपछि विभिन्न खेलका खेलाडीले एकै थलोमा अभ्यास गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउनेछन्', उनले भने ।
शर्माले खेलग्राम निर्माणका लागि निकै जग्गा आवश्यक पर्ने भएकाले सरकारी स्वामित्वको जग्गा खोज्ने काम भइरहेको बताए ।
राखेपका इन्जिनियर अरुण उपाध्यायले पनि खेलग्राम निर्माणका लागि आवश्यक जग्गा खोज्ने काम सुरु भइसकेको बताए ।
उनले अन्तर्राष्ट्रिय स्तरको खेलग्राम निर्माण गर्ने भनिएकाले त्यसका लागि निकै जग्गा आवश्यक पर्ने बताए । ‘मल्टी स्पोटर्स कम्लेक्सको अवधारणा भएकाले यसका लागि पाँच सयदेखि सात सय रोपनीभन्दा पनि बढी जग्गा आवश्यक पर्छ तर काठमाडौं उपत्यकामा यति धेरै जग्गा पाउन गाह्रो छ । त्यसैले हामीले नजिकका जिल्लामा पनि ध्यान केन्द्रित गरिरहेका छौं', उनले भने ।
जग्गा खोज्न गठित समितिका सदस्य बडालले बाराको निजगढ नगरपालिकाले खेलग्राम निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए । ‘निजगढ नगरपालिकाले खेलग्रामका निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
काठमाडौं र छेउछाउका जिल्लामा जग्गा पाउन सकिएन भने निजगढलाई पनि विकल्पका रूपमा लिन सकिन्छ', उनले भने । नेपालले सन् २०१९ मा १३ औं दक्षिणएसियाली खेलकुद (साग) आयोजना गर्ने जिम्मेवारी लिए पनि देशभित्र खेलकुदका भौतिक पूर्वाधारको अवस्था भने निकै दयनीय छ ।
खेलग्रामका लागि पाँच सयदेखि सात सय रोपनीसम्म जग्गा आवश्यक पर्छ । काठमाडौं उपत्यकामा यति धेरै जग्गा पाउन गाह्रो छ । त्यसैले हामीले नजिकका जिल्लामा ध्यान केन्द्रित गरिरहेका छौं । अरुण उपाध्याय, राखेप इन्जिनियर
सन् १९९९ को सेप्टेम्बर २५ देखि अक्टोबर ४ सम्म काठमाडौंमा भएको आठौं दक्षिणएसियाली खेलकुदका लागि चीन सरकारले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निर्माण गरिदिएको सेन्थेटिक ट्र्याकलगायत पूर्वाधार जीर्ण अवस्थामा पुगेका छन् ।
त्यसमाथि गत वर्ष गएको विनाशकारी भूकम्पका कारण रंगशाला झनै दयनीय स्थितिमा पुगेको छ । भूकम्पले राखेप परिसरमा रहेको पौडीपोखरीलाई पूर्ण रूपमा क्षति पुर्याएको छ भने रंगशालाको पश्चिमतर्फको प्यारापिट बस्नै नहुने अवस्थामा पुगेको छ । आठौं सागकै लागि चीन सरकारले ललितपुरको सातदोबाटोमा निर्माण गरिदिएको अन्तर्राष्ट्रिय खेल परिसरको अवस्था पनि सन्तोषजनक छैन ।
सरकारी स्तरबाट विभिन्न समयमा खेलकुदको भौतिक पूर्वाधार निर्माण गर्ने, अन्तर्राष्ट्रिय स्तरको वैकल्पिक रंगशाला बनाउने, प्रत्येक विकास क्षेत्रमा क्षेत्रीय रंगशाला निर्माण गर्ने भनिए पनि ती योजना हालसम्म कागजी रूपमा मात्र सीमित हुँदै आएका छन् ।
युवराज लामा राखेपको सदस्यसचिव हुँदा राजधानीको जगडोलमा खेलकुदको भौतिक पूर्वाधार निर्माण गर्ने भनी सम्भाव्यता अध्ययनका लागि समिति पनि गठन गरिएको थियो । तर राखेपका इन्जिनियर उपाध्याय जगडोलस्थित जग्गा खेलकुदको भौतिक पूर्वाधार निर्माणका लागि उपयुक्त नरहेको बताउँछन् ।
‘जगडोलमा पूर्वाधार निर्माण गर्न ७० मिटरभन्दा बढी माटो फाल्नुपर्ने हुन्छ । त्यसमाथि त्यहाँ पूर्वाधार निर्माण गर्न वन मन्त्रालयले पनि अनुमति नदिने भएको छ', उपाध्यायले भने, ‘जगडोलमात्र होइन, चितवनको टिकौलीमा यसअघि क्षेत्रीय रंगशाला निर्माण गर्ने भनी शिलान्यास गरिएको जग्गामा समेत वनले रोक लगाएपछि हालसम्म अलपत्र अवस्थामा छ । त्यहाँ लगाइएको साइनबोर्डमा पनि खिया लागिसकेको छ ।'