‘दुर्लभ अवसर' छोप्न प्रधानमन्त्री यूएर्ई भ्रमणमा

‘दुर्लभ अवसर' छोप्न प्रधानमन्त्री यूएर्ई भ्रमणमा

काठमाडौं संयुक्त अरब इमिरेट्स (यूएर्ई) सँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्षपछि पहिलोपटक सरकार प्रमुखको हैसियतमा प्रधानमन्त्री पुष्पकमल दाहालले गर्न लागेको तीनदिने भ्रमणलाई परराष्ट्र मन्त्रालयले दुर्लभ अवसरका रूपमा विश्लेषण गरेको छ ।

यूएईको राजधानी अबुधाबीमा हुने विश्व ऊर्जा सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहालको नेतृत्वमा ११ सदस्यीय प्रतिनिधिमण्डल शनिबार त्यसतर्फ प्रस्थान गर्न लागेको छ ।

यूएईका युवराज शेख मोहम्मद विन जायद अल नाहेयमको निमन्त्रणामा जान लागेका प्रधानमन्त्री दाहालले सोमबार विश्व ऊर्जा सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ । युवराज शेख मोहम्मदले कार्यक्रममा सहभागी हुन दाहाललाई २८ सेप्टेम्बरमा निमन्त्रणापत्र पठाएका थिए । दाहालले आइतबार यूएईका समकक्षीसँग वार्ता गर्ने कार्यक्रम छ ।

‘ऊर्जा सम्मेलनमा सम्बोधनका लागि निमन्त्रणा गरिनुले आयोजक राष्ट्रले नेपाललाई सम्मानजनक सहभागिताका लागि आमन्त्रण गरेको देखिन्छ । यसै अवसरलाई प्रयोग गरी नेपालमा स्वच्छ ऊर्जा विकासको प्रचुर सम्भावना रहेको तथ्य विश्वका शीर्ष नेतामाझ प्रस्ट पार्न दुर्लभ अवसर मिल्ने भएकाले प्रस्तावित भ्रमण उपयोगी हुने देखिन्छ', प्रधानमन्त्री दाहालको भ्रमणको औचित्य पुष्टि गर्दै परराष्ट्र मन्त्रालयले भनेको छ ।

परराष्ट्रका अनुसार भ्रमणका क्रममा यूएईसँगको द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी समझदारी अझ फराकिलो पार्न यूएईका समकक्षी एवं अन्य उच्चपदस्थ पदाधिकारीसँग औपचारिक वार्ता गर्ने कार्यक्रम छ ।

यूएईसँग २२ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि दुई मुलुकबीच राष्ट्रप्रमुख एवं सरकारप्रमुख तहमा हालसम्म औपचारिक भ्रमणको आदानप्रदान भएको थिएन । त्यहाँ हुने औपचारिक वार्ताबाट यूएईबाट वित्तीय वा आर्थिक सहयोग प्राप्त गर्न, यूएईबाट हुनसक्ने लगानीका लागि उचित वातावरण बनाउन, यूएईमा नेपालीलाई थप रोजगारीका अवसर जुटाउन र नेपालीसँगको प्रत्यक्ष भेटबाट उनीहरूका समस्या समाधान गर्न प्रधानमन्त्री दाहालको भ्रमण उपयोगी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा दाहालपत्नी सीता, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, शिष्टाचार महापाल दीपक अधिकारी, शिष्टाचार सहायक प्रेमप्रसाद बराल, प्रधानमन्त्री दाहालका पुत्र तथा स्वकीय सचिव प्रकाश दाहाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधि, प्रधानमन्त्री दाहालका अंगरक्षक प्रमुख सेनानी पवन खत्री, प्रधानमन्त्रीका सुरक्षा अधिकृत प्रहरी नायब उपरीक्षक दानबहादुर मल्ल, दाहालका स्वकीय उपसचिव मनहरि शर्मा र प्रधानमन्त्रीका छाया चित्रकार दिनेश श्रेष्ठ संलग्न छन् ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले स्वीकृत गरेको प्रतिनिधिमण्डलमा ऊर्जामन्त्री जनाद्र्धन शर्मा र उर्जा मन्त्रालयका प्रतिनिधि छैनन । प्रधानमन्त्री दाहाल नेतृत्वको ११ सदस्यीय प्रतिनिधिमण्डलले यूएईको अबुधाबी भ्रमणका लागि ३९ लाख रुपैयाँ (३५ हजार पाँच सय ७७ अमेरिकी डलर) बजेट पनि मन्त्रिपरिषद्को बुधबारको बैठकले स्वीकृत गरेको छ ।

खर्च नियमावली २०६४ एवं सरकारका अति विशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले गर्ने विदेश भ्रमण, दिवा तथा रात्रीभोज एवं उपहारसम्बन्धी निर्देशिका २०७२ अनुसार खर्च रकम अर्थ मन्त्रालयले परराष्ट्रलाई निकासा गरिदिएको हो । दाहाल नेतृत्वको प्रमण्डल मंगलबार स्वदेश फर्कनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.