न सरकार छ, न गरिबको जिन्दगी
गंगापुर बाँकेः आँगनको चिसो धुलोमा दूधे बालक छोडेर हरिइसुन साँयी झुपडीभित्र आगो फुकिरहेकी थिइन् । आगो बलेन । स्याउलाले बारेका उनको झुपडीको भित्ताबाट धुँवैधुँवा निस्कियो । यस्तो लाग्थ्यो घरमै आगलागी भएको छ ।
निहुँरिएर छिर्न मिल्ने एउटा थोत्रो टिनको ढोकाबाहेक माटोले गाँसिएका स्याउला पनि बीचबीचबाट फाटेर प्वालैप्वाल परेको छ । तीनै भित्ताका प्वालबाट धुँवा पुतपुत्याइरहेको थियो । त्यसैबाट भित्र छिर्छ, मधेसको ठिहिर्याउने चिसो सिरेटो ।
रातभरि छातीमा टाँस्दा पनि छोरी नतातिएपछि धेरै रात हरिइसुनले रोएरै बिताएकी छन् । ‘भुइँ पनि चिसै छ, छानोबाट पनि शीत खस्छ, भित्ताबाट पनि सिरेटो छिर्छ' तस्बिर लिँदा सुरुमा मुख छोप्दै हरिइसुनले भनिन्, ‘छोरीलाई जति छातीमा टाँसे पनि न्यानो हुन्न, कति रात त सुत्नै मिल्दैन ।'
उनका पति गाउँमा मजदुरी गर्न गाएका छन् । गाउँमा जे भेटिन्छ त्यही काम गर्छन् । साँझ फर्केपछि बल्ल भाँडामा केही पाक्छ । छोरीलाई न्यानो बनाउन उनी दिनभरि आगो फुकिरहन्छिन् । वनबाट दाउरा पनि ल्याउन पाइन्नँ । वरिवरिका शीतले भिजेका चिसा झिँजा जति फुके पनि बल्दैनन् । धुवाँ मात्रै आउँछ ।
गंगापुरकै कोलाहमा रहेको दुर्गामाता सामुदायिक वनभरि लगभग सयौं यस्ता छाप्रा छन् । माटोले गाँसिएको स्याउलाका भित्ता पनि गलिसकेका छन् । शीत चुहिएर भुइँ सबै चिसो छ । न गतिलो ओढ्ने छ न त गतिलो ओछ्यान । यो बस्तीमा दुई छाक जुटाउन सबैलाई मुस्किलै छ ।
सैजादी साँयीका दुई छोरी छन् । दुई छोरीको जीउमा एउटा पातलो जामाबाहेक अरू केही छैन । जुम्ल्याहा छोरीलाई उनी पनि चिसै भुइँमै पल्टाउँछिन् । उनको जीउमा एउटा मैलो कुर्ता सलवार छ । झुत्रो ओढ्नेले शरीरमा चिसो छेक्न सकेको छैन ।
त्यसैमाथि एउटी छोरीलाई कुपोषण छ । तीन वर्ष पुग्न लागेकामध्ये एउटी छोरी अडिनसमेत सक्दिनन् । ‘दूध नै आएन, दुई छोरीलाई पुगेन', छेउमा उभिएकी उनकी छिमेकी काकी भन्दै थिइन्, ‘के खाएर दूध आओस् त? ' घरमा न्यायो ओछ्याउने केही छैन । न त त्यस्तो खानेकुरा नै केही छ ।
वनभरि बनेका एकनासका यी झुपडी देख्दा लाग्छ यहाँ वन अतिक्रमण भइरहेको छ । तर यी अतिक्रमणकारी होनन् । बाढीले पुस्तौँसम्मको बस्तीमा परिणत गरेपछि केही उपाय नभेटेर उनीहरू यहाँ बस्न थालेका हुन् । कहिले सामुदायिक वनका मान्छे आएर झुपडी भत्काइदिन्छन् । कहिले वनपाले आएर धम्क्याएर जान्छन् ।
साबिर अली साँयी गाउँको एउटा मदरासामा नमाज पढाउँछन् । पाँच दिन लगाएर बनाएको छाप्रोमा स्याउलाकै ढोका लगाएर उनी दिउँसो मदरासा गएका थिए, साँझ आउँदा उनको झुपडी थिएन । स्याउला र माटो छुट्टिइसकेको थियो ।
केही दिन उनी आफन्तकैमा बसे र केही दिनपछि फेरि त्यस्तै झुपडी बनाए । ‘हाम्रो सारा पुस्ताले भोगेको जमिन त बाढीले बालुवा बनाइदियो अनि हामी कहाँ बस्ने ? के खाने ? ' उनले भने, ‘हामी यहाँको जमिनमा बस्न आउँदा रूखै चोरछन्जस्तो गर्छन् । हामीले त यो वनको एउटा पनि स्याउला काटेका छैनौं, बरू वन जोगाउँछौं नि ।'
२०७१ साल साउन २९ गते राप्तीमा आएको बाढीले बाँकेको गंगापुर गाविसमा धेरै जमिन बगाएको थियो । त्यही बाढीले १, २ र ३ वडाका धेरै घर पनि बगायो । सारा जमिनभरि बालुवा मात्रै थुप्रियो । अन्न उब्जिने त्यहाँका जमिनलाई रातारात राप्तीले बगर बनायो । हजारौँ मानिस विस्थापित भए । सोनपुरमा मात्रै ५ सय घरपरिवार बाढीले विस्थापित भएका थिए ।
राहतको नाममा यी बाढी पीडितले सुरुमा जिल्ला प्रशासनमार्फत २३ सय रुपैयाँ पाए । त्यसपछि फेरि ५३ सय रुपैयाँ दिइयो । त्यो बेला केही संघसंस्थाले दिएका खानेकुरा पनि सकियो । त्यसपछि केही पाएका छैनन् । ‘अब त राहतसाहतको केही आशा छैन, भरोसा पनि छैन' पीडित भुजउ साँयी भन्छन्, ‘सरकार छ भने हामीलाई एक टुक्रा जमिन दिए बाँच्न सक्छौँ ।'
उनीजस्ता पुस्तौदेखि जोतभोग गर्दै आएका धेरैको जमिनमा राप्ती पसेर बगर बनाइदिएको छ । अहिले उनीहरूको पुस्तौँ बसेको जमिनमा जताततै बालुवा नै बालुवा छ । त्यहाँ वर्षौदेखि उनीहरू बस्दै आएका थिए । धेरैको दर्ता जमिन थियो । केहीको ऐलानी जमिन । तर बाढीले केही छुट्याएन ।
एकै रातमा उर्लिएको राप्तीले सबैलाई बगर बनाइदियो । धन्न उनीहरूले ज्यान जोगाउन पाए । बाँकी केही बँचेन । अहिले दुर्गा सामुदायिक वनमा उनीहरू अस्थायी टहरा बनाएर बसिरहेका छन् । तर त्यहाँ केही छैन । चिसो भुइँमा सुत्छन् । स्याउलाको भित्ताले पनि सिरेटो छेक्दैन । त्यहाँ धारा पनि छैन । शौचालय पनि छैन । करिब २ सय घरपरिवारको बाक्लो त्यो बस्तीमा वरिपरिका गाउँलेको धाराबाट पानी खान्छन् । त्यो पनि हातपाउ जोडेर । नत्र गाउँलेले पनि उनीहरूलाई पानीधरि दिँदैनन् ।
‘हामीलाई त कसले हेर्छ र हजुर, सबका सब मतलबी छन्', बाढीपीडित नाजमा दर्जी भन्दै थिइन्, ‘न यहाँ सरकार छ, न हामी गरिबको जिन्दगी ।'