मेरा गीत खोज्न थालेः मीना निरौला
म संगीतमा लागेको १५ वर्ष भयो । नेपालमा आएर गाउन थालेको पनि नौ वर्ष भइसक्यो । मेरो माइती भारतको मणिपुर भएकाले सन् २००७ मा विवाह (गोपाल निरौलासँग) भएपछि नेपाल आएकी हुँ ।
मैले नङताना हेल्ली, तोरइ, लै कङलालगायत आठनौवटा मणिपुरे चलचित्रमा गाएको थिएँ । नेपाल आएपछि नेपालयले आयोजना गरेको पलेँटी शृंखलामा अमर गुरङ, फत्तेमान राजभण्डारी, प्रेमध्वज प्रधान, किरण प्रधान, सीके रसाइलीका साथमा गीत गाउने मौका पाएँ । पलेँटीमै माधव घिमिरे र दिनेश अधिकारीको गीत पनि गाएकी छु ।
मेरो गीत त्यति धेरै रेकर्ड भएको छैन, लगभग डेढ दर्जनजति होला । कालीप्रसाद बास्कोटाको संगीतमा ६ वर्षअगाडि म र रोजिना गुरुङले संयुक्त एल्बम ‘पाइला' श्रोतामाझ ल्याएका थियौं । तर जब चलचित्र ‘लुट २'को ठमेल बजारमा बोलको गीत गाएँ, त्यसबाट धेरै प्रशंसा पाइरहेकी छु ।
सुरुमा त यति धेरै हिट होलाजस्तो लागेको थिएन । त्यसअघि चलचित्र फागुका दुईवटा र झमक घिमिरेको जीवनीमा आधारित जीवन काँडा कि फूलमा एउटा गीत गाएकी थिएँ । ठमेल बजार गीतको शब्द, संगीत, एरेन्जअनुसार मेरो स्वर म्याच गरेको छ भन्छन् सबैले । चलचित्रको ब्यानर राम्रो भएकाले पनि गीतले माइलेज पायो । मलाई खुसी लागेको छ ।
मेरो स्वर पहिल्यै सुनेकाहरूले चाहिँ सबै प्रकारका गीत गाउन सक्छ भन्छन् तर ठमेल बजारमा सुनेर यो गीत मन पराउने फ्यानहरूले चाहिँ मेरो टोन मन पराएको पाएँ । शब्द संगीतअनुसार स्वर पनि टिपिकल नै छ । यो गीतपछि धेरैले सामाजिक सञ्जालमा मेरो प्रोफाइल भिजिट गर्ने, पुराना गीत खोजेर सुन्ने, सेयर गर्ने गरेका छन् । नयाँ गीतको प्रस्ताव पनि आउन थालेको छ । ठमेल बजारपछि चलचित्र ‘पर्व'को एउटा गीत पनि गाइसकेकी छु ।
वास्तवमा संगीत क्षेत्रमा परिवारका कोही नभए पनि म सानैदेखि गाउँथेँ । गायन प्रतियोगितामा भाग लिन्थेँ । मणिपुरमै मैले शास्त्रीय संगीतमा चौथो वर्ष पूरा गरेँ । संगीत नजाने पनि मेरो परिवारले मलाई सधैं साथ दियो । विवाहपछि पनि संगीतमा लाग्न कुनै अप्ठ्यारो भएन । श्रीमान् र परिवार सबैको साथसहयोग रह्यो । तर, बच्चा भएपछि समय मिलाउन गाह्रो हुन्छ । दुईजना बच्चासँग व्यस्त भए पनि समय निकालेर अहिले पनि नियमित रियाज गरिरहेकी छु ।