लाउँदै छ मीठो पियार

लाउँदै छ मीठो पियार

 यतिखेर युट्युबमा एउटा गीतको चर्चा छ, ‘लैजाऊ घुमाउन मलाई ठमेल बजार ।' संगीतकार कालीप्रसाद बाँस्कोटाले फेरि एक पटक आफूलाई अब्बल संगीतकारका रूपमा उभ्याएका छन् भने यो गीतले गायिका मीना निरौला र अभिनेत्री एलिसा राईको करियरमा युटर्न ल्याइदिएको छ । उनीहरू चम्किँदै छन् ।

श्रोता दर्शकले खोज्ने क्रम बढ्दो छ । एउटा गीतको सामथ्र्य कति हुन्छ र त्यसले कलाकारको जीवनमा कति प्रभाव पार्न सक्छ भन्ने उदाहरण बनेको छ यो गीत ।

युट्युबमा अपलोड गरेको अढाइ महिना (मंगलबारसम्म) मा यो गीतको भिवर्स लगभग ६१ लाख नाघिसकेको छ । गीतमा समेटिएको मौलिक शब्द, मीठो लय, मन छुने गायन शैली त छँदैछ छायांकन पनि त्यत्तिकै राम्रो छ ।

विक्रम स्वाँरको कोरियोग्राफीमा एलिसा यसरी छमछमाएकी छन् कि दर्शकलाई दोहोर्‍याएर भिडियो नहेरी चित्तै बुझ्दैन । भिडियोमा दयाहाङ राई र निश्चल बस्नेतको साथले एलिसालाई अझ ‘रिच' बनाएको छ । जितेन राई निर्देशित चलचित्र ‘बिनायो'बाट रजतपट टेकेकी एलिसाले भनिन, ‘चलचित्र लुट २ को ठमेल बजार गीत रिलिज भएपछि मैले धेरै अफर पाएकी छु ।'

‘लैजाऊ घुमाउन मलाई ठमेल बजार'मा एलिसा राई यसरी छमछमाएकी छन् कि दर्शकलाई दोहोर्‍याएर भिडियो नहेरी चित्तै बुझ्दैन । भिडियोमा दयाहाङ राई र निश्चल बस्नेतको साथले उनलाई अझ ‘रिच' बनाएको छ ।

चलचित्र छायांकन सुरु हुनुभन्दा अगाडि नै ‘टिजर' तयार गरी सार्वजनिक गरेको चलचित्र ‘लुट २' अहिले सर्वाधिक प्रतीक्षित चलचित्र मानिएको छ । टिजरमा समेटिएको मीठो संवाद, सहज अभिनय अनि स्टन्डका कारण दर्शक फागुन १३ को पर्खाइमा छन् ।

प्रभावशाली मानिएको टिजरलाई पनि अहिले ठमेलबजार बोलको गीतले छायांमा पारिदिएको छ । एकतारे र कालीप्रसाद बाँस्कोटाको शब्द रहेको गीतमा गायिका मीनालाई भानुभक्त ढकाल र संगीतकार बाँस्कोटाले गायनमा साथ दिएका छन् ।

२०६७ सालमा रिलिज भएको लुट नेपाली पाराको चलचित्रका लागि उदाहरणीय मानिन्छ । सो चलचित्रमा पनि इन्दिरा जोशीले गाएको ‘उध्रेको चोली छ है तै पनि लाइन्छ' बोलको गीत यसरी नै हिट भएको थियो । उक्त गीतमा आइटम डान्स गरेकी नायिका सुष्मा कार्कीले त्यो सफलताको प्रतिफल चलचित्र उद्योगमा लामो समय पाइरहिन् ।

६ वर्षपछि आएको चलचित्र लुटको सिक्वेलले सफलताको अर्को इतिहास रच्ने अपेक्षा गरिएको छ । निर्माता माधव वाग्ले र नरेन्द्र महर्जन गीत र टिजरबाट प्राप्त प्रतिक्रियाले उत्साहित छन् । ‘चलचित्र निर्माणमा हामीले कुनै सम्झौता गरेका छैनौं', महर्जनले भने ।

अर्का निर्माता वाग्लेले त दीपा श्री निरौला निर्देशित चलचित्र छक्का पञ्जाको व्यवसायलाई आफ्नो चलचित्रले उछिन्ने दाबी गरेका छन् । नेपालमा मात्रै १६ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेर इतिहास रचेको छक्का पञ्जालाई टक्कर दिन सक्छ कि सक्दैन त्यो भने समयले तय गर्नेछ ।

निश्चल बस्नेतको कथा एवं निर्देशन रहेको यस चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । चलचित्रमा दयाहाङ, निश्चल, एलिसाका साथै सौगात मल्ल, कर्मा शाक्य, ऋचा शर्मा, सिर्जना सुब्बालगायतले अभिनय गरेका छन् । क्राइम एक्सन चलचित्र लुटमा जस्तै यसको सिक्वेलमा पनि हास्यपरक संवाद, ठेट उच्चारण, मौलिक कथा समेटिएको टिजरबाट प्रस्ट हुन्छ । चलचित्रको यो विशेषतालाई ठमेल बजार गीतको शब्द, भाव, लय र गायन शैलीले थप स्वादिलो बनाइ दिएको छ ।


करियरका लागि युटर्न


किरात मिथकमा आधारित चलचित्र ‘बिनायो'बाट मेरो अभिनय यात्रा आरम्भ भएको हो । पहिलोपटक चलचित्रबाट प्रस्ताव आउँदा सुरुमा त हो कि होइनजस्तो लाग्यो । चलचित्र मलाई मन पर्ने क्षेत्र भएकाले काम गर्ने अवसर पाएपछि खुसी भएँ । म मौलिक कलासंस्कृतिमा रुचि राख्ने मान्छे । पहिलोपटक त्यही विषयमा बनेको चलचित्रमा काम गर्न पाउँदा अझ उत्साहित भएको थिएँ ।

चलचित्र बिनायोमा अभिनय गरेपछि यस्तो (लुट २ मा जस्तो) भूमिका भल्गर हुन्छ गर्दिनँ जस्तो लाग्थ्यो तर त्यो गलत रहेछ । यो चलचित्रमा काम गर्दा स्थापित र राम्रा कलाकारसँग संगत गर्ने मौका पाएँ । हुन त वास्तविकतामा म जस्तो छु भूमिका त्योभन्दा अपोजिट छ । त्यसैले धेरै मेहनत पनि गर्नुप¥यो । त्यसमाथि बिग ब्यानर, विग मुभी । लुट रिलिज हुँदा म स्कुल पढ्थे । त्यति हिट चलचित्रको सिक्वेलमा काम गर्न पाउनु खुसीको कुरा हो ।

चलचित्र दर्शकमाझ आएपछि कस्तो फिडब्याक आउँछ तर गीतले चाहिँ तरंग ल्याइदिएको छ । सुरुमा डर लागेको थियो । मैले लगभग ६० म्युजिक भिडियोमा मोडलिङ गरे पनि आइटम डान्स गरेको थिइनँ । तर ठमेल बजारमाले मेरो करियरमा युटर्न ल्याइदिएको छ । नयाँ जर्नीका लागि नयाँ गेट सावित भएको छ । अहिले प्रशस्त अफर पनि आइरहेको छ तर म हतारमा काम गर्ने पक्षमा छैन ।

कतिपयले तिमी त हिरोइन भयौं भन्छन् तर मलाई हिरोइनभन्दा पनि अभिनेत्रीका रूपमा स्थापित हुने चाहना छ । काम गर्दै सिक्दै अगाडि बढ्दैछु । मसानैदेखि स्टेजमा नाच्ने, भीड मन पर्ने, दर्शकको सामना गर्ने बानी परेकाले जस्तोसुकै टिमसँग काम गर्दा पनि नर्भस चाहिँ भइनँ । अभिनय गर्दा क्यारेक्टर बुझ्न जरुरी हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.