रोनाल्डोविना मैदान उत्रिएको रियल मड्रिडले बनायो नयाँ रेकर्ड
काठमाडौंः फिफा वर्ष खेलाडीको अवार्ड विजेता क्रिष्टियानो रोनाल्डोबिना मैदान उत्रिएको रियल मड्रिडले नयाँ कीर्तिमान बनाएको छ।
गएराति भएको कोपा डेल रे फुटबल अन्तर्गत सेभिल्लाविरुद्धको दोस्रो लेगमा अन्तिम मिनेटमा बराबरी गोल फर्काउँदै रियल मड्रिड नयाँ कीर्तिमानी बनाउन सफल भएको हो। खेल सकिन केही सेकेन्डमात्रै बाँकी छँदा करिम बेन्जिमाले बराबरी गोल फर्काएपछि रियल मड्रिडले नयाँ किर्तिमानी बनाउन सफल भयो।
सेभिल्लासँग ३–३ गोलको बराबरी खेलेको रियल मड्रिडले लगातार ४० खेलमा अपराजित रहँदै स्पेनिस लिग फुटबलमा नयाँ रेकर्ड बनाएको हो। यसअघि लगातार ३९ खेलमा अपराजित रहँदै बार्सिलोनाले रेकर्ड बनाएको थियो। बार्सिलोनाको उक्त रेकर्ड शुक्रबार बिहान भएको खेलमा बराबरी खेल्दै रियल मड्रिडले तोडेको हो।
सेभिल्लासँग ३–३ गोलको बराबरीमा रोकिएपछि समग्रमा ६–३ गोल अन्तरको जित निकाल्दै रियल मड्रिड कोपा डेल रे फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ। शुक्रवार बिहान भएको खेलमा खेलको १० औं मिनेटमा डानिलोको आत्मघाती गोलबाट सेभिल्लाले सुरुवाती अग्रता लिएको थियो।
तर, रियल मड्रिडका लागि खेलको ४८ औं मिनेटमा एसेन्सियोले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए। ५३ औं मिनेटमा जोभेटिकले गोल गर्दै सेभिल्लालाई पुन २–१ को अग्रता दिलाए। यस्तै ७७ औं मिनेटमा इबोराले गोल गरेपछि सेभिल्लालाई ३–१ को अग्रता लियो।
खेलको ८३ औं मिनेटमा रियल मड्रिडले पेनाल्टी पायो र त्यसमा सर्जियो रामोसले गोल गर्दै अग्रता ३–२ मा झारे। यस्तै खेलको ९३ औं मिनेटमा करिम बेन्जिमाले गोल गरेपछि रियल मड्रिडले सेभिल्लालाई ३–३ गोलको बराबरीमा रोक्न सफल भयो।