न्युयोर्क टाइम्सको ‘३० अन्डर ३०’ मा नेपाली चेली अर्पणा

न्युयोर्क टाइम्सको ‘३० अन्डर ३०’ मा नेपाली चेली अर्पणा

चर्चा र प्रशंसा सबैलाई मन पर्छ । त्यसमा पनि अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाउनु सानो कर्म र विवेकले सायद पुग्दैन। कतिपय यस्ता भाग्यमानी हुन्छन् जो छोटो समयमै विश्वमाझ चिनिने मौका पाउँछन् । त्यस्तैमध्येकी एक नेपाली युवती हुन् अर्पणा रायमाझी । २९ वर्षमा हिँड्दै गरेकी उनी संसारमा नयाँ खाले काम गरेर आफ्नो नाम स्थापित गर्न सफल भएकी छन् । हालै न्युयोर्क टाइम्सले सार्वजनिक गरेको ‘३० अन्डर ३०’मा उनी पनि परेकी छन् । संसारमा नयाँ खाले काम गरिरहेका तीसजना युवामा पर्नु चानचुने कुरा होइन तर त्यसलाई अर्पणाले सम्भव तुल्याएकी छन् ।

आफ्नै शैलीका गहना बनाएर फरक पहिचान बनाएकी उनको ब्रान्डले राम्रो अवसर पाएको छ । विश्वविख्यात ब्रान्ड लोरियल पेरिस मेकअपले समेत उनलाई एक प्रतिभावान् युवाका रूपमा सिफारिस गरेको छ । न्युयोर्कमा आफ्नै आर्ट स्टुडियो सञ्चालन गरिरहेकी रायमाझी हरेक मान्छे अद्भुत र रहस्यमय हुने कुरामा विश्वास राख्छिन् । आर्ट गर्नुलाई उनी एक प्रकारको अभिव्यक्ति मान्छिन् ।

आफूलाई रङसँग खेल्न मन पराउने व्यक्तिको संज्ञा दिने उनी कक्षा १२ सम्मको अध्ययन नेपालमा पूरा गरी अमेरिका लागेकी हुन् । नेपालमा हुँदा पनि फरक विभिन्न रङ र शैली अपनाएर नेपालीपन भल्काउने गरगहना बनाउने गर्थिन् । अमेरिका पुगेपछि नेपालका मात्रै होइन, संसारभरका ‘इथनिक’ गहनालाई प्राथमिकता दिन थालिन् ।

खासगरी पश्चिम नेपालमा लगाइने विभिन्न गहना उनले फरक शैलीमा प्रस्तुत गरेकी छन् । संसारभरका आदिवासी कला र संस्कृतिबाट प्रभावित भएर तयार पारिएका गहनालाई नयाँ शैली दिएर उनले ‘अर्पनाज्वेल’ नाम दिएकी छन् । उनले तयार गरेका नेपालीपन झल्किने विभिन्न कलात्मक गरगहनाले विश्वमा बजार लिइसकेको छ ।

विश्व फेसनमा प्रतिष्ठित मानिने भिक्टोरिया सेक्रेट २०१६ पेरिस फेसन सोमा समेत उनले तयार गरेका गहना प्रस्तुत गरिएको थियो । पेरिस फेसन सोमा उनले बनाएका उत्पादनले चर्चामात्रै पाएन, विश्वभरका फेसनप्रेमीलाई आकर्षित पनि गर्न सफल रह्यो । उनले डिजाइन गरेको गहना संसारका सुपरमोडलहरूले लगाइसकेका छन् । रायमाझीले डिजाइन गरेको कलात्मक गरगहना हलिउड स्टार केन्डल जेनर, अडिना लिमा, चाइनिज मोडल ली वेनलगायत विश्वका विभिन्न स्टारले प्रयोग गरिसकेका छन् ।

विश्वचर्चित न्युयोर्क टाइम्समा छाइसकेकी रायमाझी जर्मन प्रेस ‘द विकेन्डर म्याग्जिन’, ‘भोग’, ‘जिन्जा म्याग्जिन’, जापान र अस्टे«लियाको ‘ओस्टर’लगायतका थुप्रै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमा छाइसकेकी छन् । आफूलाई मेक्सिकन आर्टिस्ट फ्रिडाबाट प्रभावित बताउने उनी महिला आर्टिस्टलाई पुरुषसरह इज्जत नदिएकामा भने गुनासो गर्छिन् । नेपाली भएर गोरा महिलासँग प्रतिस्पर्धा गर्नु सजिलो नभएको उनको अनुभव छ ।

सानैदेखि विश्वका बारेमा जानकारी लिने गरेकी उनलाई ग्रिस र इजिप्ट मन पर्ने देश हुन् । त्यहाँका प्राचीन सभ्यताले विश्वभरको ध्यान खिचेको उनी बताउँछिन् । त्यहाँका पिरामिड, देवालय, मन्दिर मन हर्ने खाले भएको उनको भनाइ छ । ऐतिहासिक महत्व बोकेका विषयमा रुचि राख्ने उनी संगीत, अभिनय र गितार वादनमा पनि दखल राख्छिन् ।

अमेरिकाको कपर युनियन कलेजबाट फाइन आर्टमा स्नातक गरेकी उनी राजनीति, इतिहास र दर्शन पढ्दा विश्वलाई बुझ्न थप सहयोग हुने विचार राख्छिन् । नेपालमा हुँदा तीन वर्ष संगीत र कला क्षेत्रमा समेत समय दिएकी थिइन् । त्यस बेला विभिन्न आर्ट स्कुलमा अवसरका लागि निवेदन दिएको स्मरण गर्दै ईमेलमार्फत अन्नपूर्णले गरेको जिज्ञासाका बारेमा भन्छिन्, ‘कलाले मानिसलाई विश्वको बारेमा सिकाउँछ ।’ (एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.