हेला गरिएकै अन्नबालीको माग बढ्दो
जुम्ला: अत्यन्तै हेलाका रुपमा हेरिने कर्णालीमा उत्पादित जौ बालीको माग पछिल्लो समयमा बढ्न थालेपछि यसको निर्यातमा वृद्धि हुन थालेको छ।
यातायातले कर्णाली क्षेत्र नजोडिउन्जेल धान पछि बढी उत्पादन गरिने जौ बाली उपभोग पनि बढी नै गरिन्थ्यो। तर सडक खुलेसँगै यसको उत्पादनमा कमी आएको छ। यसलाई हेलाका रुपमा हेरिने गरिएको छ।
बालीको महत्व र यसको गुण अवगुणका विषयमा सूक्ष्म जानकारी नभएकाले यसलाई हेला गरिएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत धनप्रसाद देवकोटाले बताए। 'जौ बालीमा कार्बोहाइडेड र प्रोटिनको मात्रा बढी पाइन्छ। यसबाटै लिटोपिठो, हर्लिक्स, बिस्कुटजस्ता चिज बनाइन्छ । स्वास्थ्यका लागि जौ निकै लाभदायक छ,'उनले भने।
जौको विशेषता र यसले दिने पोषणका विषयमा अवगत नभएकाले र आयातित खाद्यान्नमा निर्भर हुन थालेपछि पछिल्ला वर्षमा यसको उत्पादनमा कमी आएको छ। आर्थिक वर्ष २०६७/६८ मा चार हजार ४०० हेक्टर जमिनमा छ हजार ६०० मेट्रिक टन जौ उत्पादन भएको थियो। आर्थिक वर्ष २०७२/७३ सम्म आइपुग्दा तीन हजार ८५० हेक्टरमा तीन हजार ४६५ मेट्रिक टन जौ उत्पादन भएको कार्यालयले जनाएको छ।
कृषि प्राविधिक सहायक खेमराज शाहीले चालु आर्थिक वर्षमा अहिलेसम्ममा जुम्लाबाट २०० क्विन्टल जौ निर्यात भएको बताए। जौलाई कोदो, गहुँ र अन्य कृषिजन्य वस्तुसँग सहजै मिश्रण गरेर खान मिल्छ। जिल्लामा जौ प्रतिकिलो २८ रुपैयाँमा खरिद गरी नेपालगन्ज–काठमाडौँसम्म पुर्याउँदा प्रतिकिलो ३६ देखि ३८ रुपैयाँसम्ममा बिक्री हुन्छ। रासस