सिन्धुपाल्चोकको भोटेसिपामा खुल्यो प्रविधियुक्त पुस्तकालय
सिन्धुपाल्चोकः सिन्धुपाल्चोकको भोटसिपामा अत्याधुनिक सुचना प्रविधिसहितको सामुदायिक पुस्तकालय सञ्चालनमा आएको छ। रिड नेपाल र स्थानीयवासीको संयुक्त प्रयासमा झण्डै एक करोड रुपैयाँको लागतमा निर्मित इन्द्रावति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र्र्रमा महिला कक्ष, बाल कक्ष, सुचना प्रविधि कक्ष, पुस्तकालय कक्ष, श्रव्यदृश्य कक्ष, तालिम घर युवा कक्षलगायत विभिन्न दर्जन बढी विधा समावेश गरिएको छ।
१० आना क्षेत्रफलमा बनाइएको सो पुस्तकालय तथा स्रोत केन्द्रको १३ कोठे भवनको विशेष समारोहकाबीच नेकपा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले उद्घाटन गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सापकोटाले विभिन्न प्राकृतिक विपत्तीको चपेटामा परेर पनि स्थानीयमा जीवन संघर्षका लागि उत्तिकै शाहस र हिम्मत रहेको भन्दै प्रशंसा गरे। उनले शिक्षाले नै चेतनाको विकास गर्ने र चेतना विकास भएमात्रै सम्मुन्नत विकास हुने भन्दै चेतना जागृत गराउने सवालमा पुस्तकालय कोशेढुंगा सावित हुने बताए।
पुस्तकालय तथा स्रोत केन्द्रका सल्लाहाकार तथा प्रेस काउन्सिल नेपालका सदस्य सुदर्शन आचार्यले शैक्षिक क्षेत्रको उन्नतिका लागि सबै जिल्लामा सुचना प्रविधियुक्त पुस्तकालय तथा स्र्रोत केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिए। उनले पुस्तकालय निर्माणको कामलाई अभियानका रुपमा गाउँ-गाउँमा लैजानुपर्ने भन्दै त्यसका लागि आवश्यक पहल गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए।
कार्यक्रममा पुस्तकालयका अध्यक्ष राजेन्द्र आचार्यले निशुल्क इन्टरनेट सेवासहितको सो पुस्तकालय तथा स्रोत केन्द्रबाट कम्तिमा १० हजार स्थानीय प्रत्यक्ष लाभान्वित हुने अपेक्षा लिइएको बताए। दिर्घकालिन स्थायित्वका लागि पुस्तकालयको सातवटा सटर भाडामा दिइएको छ। रिड नेपालबाट ६७ लाख, निर्मला पराजुली साहित्य कोषबाट २ लाख, जापानमा बस्ने नेपालीहरुबाट एक लाख १५ हजारलगायत विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा पुस्तकालय निर्माण गरिएको हो।