रोग्लामा रम्दा

रोग्लामा रम्दा

मध्य युरोपमा पर्ने 'स्लोभेनिया' सुन्दर पहाडी मुलुककै रूपमा चिनिन्छ । सानासाना चट्ट मिलेका पहाड, चौडा बाटो, अनुशासित मान्छे, स्वच्छ वातावरणले सबैलाई मोहित पार्छ । प्राकृतिक रूपमा अति सुन्दर देश स्लोभेनिया युरोपियन युनियनको एउटा सदस्य राष्ट्र पनि हो ।

पूर्वमा हंगेरी, पश्चिममा इटली, उत्तरमा अस्ट्रिया र दक्षिणमा क्रोयसियाको बीचमा छ यो सुन्दर देश । जेलिया, आलु र मासु यहाँको मुख्य खाना हो । यहाँको मुख्य खेल स्की भए पनि सबै खेलमा निपुण मानिन्छन् ।

२० हजार दुई सय ७३ वर्गकिलोमिटर फैलिएको यो सानो देशमा लगभग २६ लाख बसोबास गर्छन् । लुब्लियाना यसको राजधानी हो । नेपालीहरू मुस्किलले पुग्ने यस देशमा करिब ७०/८० जना नेपालीको बसोबास रहेको स्लोभेनियाका लागि नेपाली वाणिज्यदूत रहेका अश्विनी श्रेष्ठले बताउनु भएको थियो । चलनल्तीको रूपमा युरो नै कारोबार हुन्छ ।

रोग्ला, मारीवोर, रोगार्सका, लुब्लियाना, भेलेन्या, पोर्रतोरस, पिराना, कोपर, चेलयिा र कुनिचा मुख्य सहर हुन् । जनतालाई सरकार भएको अनुभूति हुने देश र जनताप्रति सरकारलाई पूर्ण विश्वास भएको देशको रूपमा स्लोभेनियालाई लिन सकिन्छ । हुन त विकसित देशका सरकार जनताप्रति उत्तरदायी हुन्छन् नै नत्र कसरी यत्रो विकास सम्भव छ र ? युरोपको भूमिमा उभिएर हेर्दा हाम्रो देश उनीहरूको दाँजोमा पुग्नको लागि निरन्तर काम गरे पनि सयौं वर्ष लाग्न सक्छ ।

यहाँ मानिसहरू मौसम हेरेर काम सुरु गर्दछन् । मौसमविद्हरूले जे भन्छन्, त्यही हुन्छ । म डिसेम्बर २०१५ को अन्तिममा पुगेको थिएँ वीरमानजीको निमन्त्रणामा । उनले भनेका थिए 'खै सर जनवरी २ तारिखबाट हिँउ पर्छ भनेका छन् के हुन्छ हेरौं ।' मैले जोककै पारामा भनेको थिएँ, 'नेपालाँ भए पानी पर्छ भनेको दिनमा घाम लाग्छ, यहाँ खै के हुन्छ ।'

'होइन सर यहाँ त त्यस्तो हुँदैन । हिँउ पर्छ भनेपछि हिउँ पर्छ । पानी पर्छ भनेपछि पानी पर्छ ।'
ओहो ! मलाई पनि हिँउ परेको हेर्ने कौतुहल जागेर आयो । हिमालयको देश भने पनि हामीले हिँउसँग अनुभूति साट्न पाएका थिएनौं । जनवरी २०१६ को पहिलो दिन बिहानै उठेर 'आज तपाईंलाई म रोग्ला घुमाउन लैजान्छु' भन्दै वीरमानजी कस्सिए । आखिर म घुम्नैको लागि त आएको थिएँ युरोप । आन्द्रेयाले पकाएको मीठो केक र चिया पिएर हामी चेलियामै रहेको योगा केन्द्रमा गयौं ।

योग शिविरको उद्घाटन समारोहमा सहभागी भएर घरमा लन्च गरेर रोग्ला हानियौं । चेलिया सहरबाट करिब ४० किलोमिटर उत्तरमा रहेको रोग्ला हिँउमा खेल्नको लागि प्रख्यातै रहेछ । जाँदै गर्दा मलाई नगरकोट जाने बाटोजस्तै अनुभूति भइरहेको थियो । नयाँ वर्ष भएकोले बिदाको सदुपयोग गर्न त्यहाँ भीडभाड ठूलै थियो । स्वर्गजस्तै लाग्ने सुन्दर रोग्लाको रौनकले म एकछिन त अलमल्लै परेँ । ओहो मान्छेहरू हिउँमा रमाइरहेका ।

स्लोभेनियाको पर्यटनको मुख्य केन्द्र बिन्दु रहेछ रोग्ला । चिसो स्याँठ चलिरहेको छ । घामका किरणहरू हिउँमा ठोक्किएर अझै सुन्दर बनिरहेको छ । बच्चादेखि बूढासम्मै हिउँमा रमाइरहेका छन्, स्की खेलिरहेका छन् । रोग्लामा बाह्रैमहिना हिउँ पर्दोरहेछ । तालको पानीमा पनि पूरा हिउँ जमेको थियो । स्की खेल्नको लागि सुरक्षित स्थानहरूको निर्माण गरिएको रहेछ । स्की गर्दै तल पुगेपछि पुनः केबलकारबाट माथि आउने व्यवस्था रहेछ । प्रकृतिले दिएको स्वर्गको अनुभूतिमा मान्छेहरू रमाइरहेका थिए । म पनि केही समय रमाएँ ।

त्यहाँको सौन्दर्य क्यामरामा कैद गर्‍यौं । मैले स्की खेल्न जानेको थिइनँ । स्की खेलिरहेका मान्छेहरू हेरेरै आनन्द लिएँ । वीरमानजी धेरै पटक रोग्ला पुगेका थिए तापनि उनको रौनक बेग्लै थियो । मैले भने हिँउसँग धेरैबेर लुकामारी खेलेँ । त्यहाँको मनमोहक सौन्दर्यले मन हरेको थियो । पहिलो पटक पुगेकोले रमाइलो लागेको ठानेको थिएँ तर स्लोभियनहरू नै मभन्दा बढी रमाइरहेका थिए । मान्छेले गरे के नहुने रहेछ भन्ने प्रमाण थियो रोग्लामा ।

अत्याधुनिक सुविधा थियो त्यहाँ । माइनस १५ को चिसोमा पनि मन गर्मिरहेको आभास हुन्थ्यो । हिँउमा खेल्नको लागि चाहिने सबै सामानहरू हामीसँग थियो नै । धेरैबेर हिँउमा रमायौं । प्रकृतिले दिएको सुन्दर स्वर्ग थियो रोग्ला । मनमोहक थियो रोग्ला ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.