महाभारतको धर्म

महाभारतको धर्म

'अधर्मरुपो धर्मो हि कश्चिदास्ति नराधिप ।
धर्मश्चाधर्मरुपोस्ति तञ्च ज्ञेयं विपश्चिता ।।'
(महाभारत, शान्तिपर्व ३३ । ३२)

(भावार्थः कुनै समय धर्म नै अधर्मरूप हुन जान्छ र कहीँ अधर्मरूप देखिने कर्म नै धर्म हुन जान्छ । त्यसर्थ विद्वान् पुरुषले धर्म र अधर्मको रहस्य राम्रो गरी बुझिराख्नु पर्छ )

ऋषि व्यास रचित महाभारतले इतिहास, पुराण दुवैको संज्ञा पाएको छ । यो विश्वकै ठूलो महाकाव्यमात्र नभएर धर्मसम्बन्धी महाग्रन्थ पनि हो । यस ग्रन्थको सुरुको नाम जय थियो । पछि जय हुँदै यसको विशालताको कारणले त्यसमा विशेषण थपिएर ग्रन्थको नाम महाभारत रहन गयो । बुद्धले संसारका प्रत्येक वस्तु आआफ्नै लक्षणका हुन्छन् भनेझैं यस ग्रन्थमा पनि भिन्न स्वभाव र चरित्र लिएका हजारौं पात्रले प्रविष्टि पाएका छन् ।

स्थान र परिवेश फेरिएका छन् तर आज पनि ती चरित्र हाम्रो समाजमा छ्याप्छ्याप्ती रहेको पाउँछौं । यस्तो विशेष लिएको यो विश्वकै प्रथम ग्रन्थ हो । ती हजारौं पात्रमध्ये वासुदेव कृष्ण, शान्तनुनन्दन भीष्म, धृतराष्ट्र, विदुर, युधिष्ठिर, भीम, अर्जुन, दुर्योधन, कर्ण पाण्डव माता कुन्ती, पत्नी द्रौपदी, कौरवमाता गान्धारी प्रतिनिधि पात्रमा पर्छन् । भीष्म र वासुदेवकृष्ण लोकव्यवहारमा फरक दृष्टिकोण राख्ने महत्त्वपूर्ण पात्र हुन् । ग्रन्थकार व्यासले तिनै प्रतिनिधि पात्रहरूको चरित्रलाई लौकिक धर्मको सूक्ष्म र उद्दात्त कसीमा राखेर चित्रण गरेका छन् ।

भारतवर्षीय समाजमा वासुदेव कृष्ण मनुष्ययोनीमा जन्म लिएका ईश्वरकै अवतारमा स्थापित छन्, त्यसमा खासै मतभेद छैन । दासीपुत्र विदुर महाज्ञानीका रूपमा प्रस्तुत भएका छन् । भीष्म र कर्ण पनि अत्यन्त सम्मानित र महत्त्वपूर्ण चरित्र हुन् । दृढ, सच्चरित्र र निष्ठावान् पुरुषको उपमा दिनुपर्‍यो भने भीष्मको नाम लिइन्छ । त्यस्तै कर्णलाई अत्यन्त वीर, दानी र कुण्ठित पात्रका रूपमा लिने गरिएको छ । महाभारतबाट यस्तै प्रभाव हामीमध्ये धेरैजसोले ग्रहण गरेका छौं । तर, भीष्म र कर्णलाई हामीले आदर्श पात्रका रूपमा जसरी बुझेका छौं, त्यसैगरी ग्रन्थका रचनाकारले पनि उनीहरूको व्यक्तित्वलाई ठीक त्यसैगरी चित्रण गरेका हुन् त ? यसै प्रश्नलाई यहाँ विवेचनाको विषय बनाइएको छ ।

कर्ण

उनको जन्म आमा कुन्ती कुमारी अवस्थामा रहँदा नै सूर्यको संसर्गबाट भएको थियो । उनी महाभारतका एक श्रेष्ठ धनुर्धर, दुर्जेय योद्धा र ठूला दानी हुन् । सखारै सूर्योदयको समयमा उनको द्वारमा आउने जोकोही याचकलाई मागेबमोजिमको दान दिने गर्थे र त्यसबाट परम सन्तुष्टि पाउँथे । उनका लागि धर्मपालनको त्यो आदर्श रूप थियो । याचक बनेर छलपूर्वक आएका देवराज इन्द्रलाई पिता सूर्यले सचेत गराउँदागराउँदै पनि कर्णले आफ्नो जन्मसँगै अंगमा जडित कवचकुण्डल काटेर दान दिएका थिए ।

उक्त प्राणरक्षक कवचकुण्डलले कर्णलाई दुर्जेय बनाएको थियो जुन रहस्य उनलाई ज्ञात पनि थियो । उनको त्यो कवच कुण्डललाई विम्बको रूपमा बुझ्नुपर्ने हुन्छ । उनले त्यस्तो आत्मघाती कार्य धर्मको नाममा गरेका थिए । त्यसैमा उनलाई गर्व थियो । आखिर कुरुक्षेत्रको युद्धमा कर्णको मृत्युको कारण त्यही बन्न पुग्यो ।
०००
दुर्योधनले कुनै समयमा कर्णलाई ठूलो गुन लगाएका थिए । भर्खरै पाण्डव र कौरवहरूको शिक्षादीक्षा पूरा भएर रंगशालामा अर्जुनले धनुर्विद्यामा चमत्कार देखाएका थिए । त्यस्तैमा त्यहाँ कर्ण आइपुगे । उनले अर्जुनले देखाएका सबै कौतुक प्रदर्शन गरिदिए । उनी आफूलाई अर्जुनभन्दा यशस्वी देखाउन चाहन्थे । त्यसैले जोशिएर त्यहाँ पुगेका थिए । उनले अर्जुनलाई प्रतिस्पर्धाको चुनौती दिए । त्यो देखेर गुरु द्रोणाचार्य झस्किन पुगे । त्यहाँ उनको कुलगोत्र र पात्रताको परिचय मागियो । सूर्यपूत्र भए पनि सूत अधिरथ दम्पतीले उनको पालनपोषण गरेका थिए ।

त्यो रहस्य खुलेपछि उनले राजपुत्रहरूको प्रतियोगितामा प्रतिस्पर्धा गर्न नपाउने भए । कर्णको क्षमता हुँदाहुँदै पनि जातीय परिचयले गर्दा रंगशालामा आफ्नो पुरुषार्थ देखाउन नपाएर हीनताबोध गर्दै थिए । दुर्योधनले कर्णको त्यो अवस्थालाई बुझे । उनले कर्णलाई अर्जुनको प्रतिस्पर्धा गर्नसक्ने वीरपुरुषको रूपमा देख्न पुगे । दुर्योधनले उनलाई मित्रताको हात अघि सार्दै अंगदेशको राजा घोषित गरेर तत्क्षण नै अभिषेक पनि गरिदिए ।

यसरी दुर्योधनले महाबलि कर्णलाई जीवनमै ठूलो गुन लगाएर आफ्नो विश्वासी मित्र बनाएका थिए । दुर्योधनले लगाएको गुनमा थिचिएर कर्णले उनका सबै अनुचित र अन्यायपूर्ण कार्यमा प्रोत्साहित र सहयोग गर्दैरहे ।
०००
कर्ण सारै आत्मप्रशंसक र डिंग हाँक्ने योद्धा थिए । यस्तो प्रवृत्ति जातीय लघुताको कारणले भएको हुनुपर्छ । द्रुपद राजकुमारी कृष्णा (द्रौपदी)को स्वयंवरमा माथि खम्बामा झुन्ड्याइएको माछाको आँखामा लक्ष्यभेद गर्नसक्ने भए पनि सूतपुत्र भएकै कारण पतिको रूपमा वरण नगर्ने भन्दै द्रौपदीले तिरस्कार गरिदिएकी थिइन् । त्यसैले होला, पाण्डवको सन्धि प्रस्ताव लिएर श्रीकृष्ण आउँदा पाण्डवसँग भविष्यमा हुने सम्भावित युद्धका लागि दुर्योधनलाई हौस्याउँदै कर्णले भनेका थिए, 'युद्धभूमिमा योद्धाहरू खडा भएपछि म समस्त पाण्डवलाई अवश्य मार्नेछु' (उद्योग पर्व ४९/३२) । त्यो उनको आत्मप्रशंसा मात्र थियो भनेर बुझ्न सकिन्छ ।

किनभने विराटनगरमा अर्जुनले एक्लै कर्णको भाइलाई बध गरेर त्यहाँ कौरव पक्षका सबैजसो वीर योद्धालाई मुच्र्छित बनाएका थिए । तिनीहरूका पोसाक झिकेर नांगेझार बनाए पनि कर्ण वा अरू कसैले प्रतिरोध गर्न सकेन (उद्योग पर्व ४९/३८, ३९) । पाण्डवहरू वनबासमा रहँदा उनीहरूलाई होच्याउने हिसाबले कर्ण, जयद्रथलगायत कौरव योद्धाहरूका साथ दुर्योधनको घोषयात्रा हुँदा गन्धर्वराजले उनीहरूलाई बन्दी बनाइदियो । अर्जुन र भीमले नै कर्ण, जयद्रथलगायत कौरवका वीर योद्धाहरूलाई मुक्त गराएर फिर्ता ल्याएका थिए ।
०००
उनी आफ्नो प्रयोजन सिद्धिका लागि साधनको उपयुक्तता र पवित्रतालाई हेर्दैन थिए । उनले स्वयं एक ठाउँमा भनेका छन्, 'मैले पूर्वकालमा आफूलाई ब्राह्मण बताएर परशुरामसँग शस्त्रविद्या प्राप्त गरेको थिएँ । त्यस झूठो परिचय दिएको पापकर्मका लागि मैले परशुरामबाट श्राप पाएँ' (उद्योग पर्व ६२/२) ।

दुर्योधनले पाण्डवहरूको अपमान कर्णकै आड र भरोषा पाएर गरेको थियो । पण्डव पक्षले इन्द्रप्रस्थ नपाए पनि अमूक अमूक पाँच गाउँ पाए युद्ध नगर्ने भनेर सन्धि प्रस्ताव पठाएकोमा दुर्योधनलाई उक्त सन्धि प्रस्तावलाई अस्वीकार गर्न कर्णले उक्साएका थिए । उनले भनेका थिए, 'जो अघि हाम्रो विरोधी रहेका थिए उनीहरूसँग सन्धि कसरी गर्न सकिन्छ र ? ' (उ.प.४९/३२ )

यहाँ विप्र कोइरालाको लघु उपन्यास 'मोदिआइन' सम्झिनुपर्ने हुन्छ । विप्रले त्यस उपन्यासकी नायिका नारीको मुखबाट व्यक्त गरेको गलत मान्यता- द्रौपदीले नै आफ्ना पतिहरूलाई युद्ध गर्न कर गरेकी थिई र कुरुक्षेत्रमा त्यो नरसंहार हुन पुगेको थियो- लाई महाभारतले खण्डन गर्छ ।

भीष्म

राजा शान्तनुबाट जन्मिएका गंगापुत्र देवव्रत (पछि भीष्म) महाभारतमा सबैभन्दा धेरै चर्चा गरिएका पात्र हुन् । उनी एक आदर्शवादी, कर्तव्यनिष्ठ र धर्मप्रति समर्पित पुत्र थिए । लौकिक र शास्त्रीय धर्म, इतिहास-पुराण एवं प्राचीन रीतिथितिको ज्ञान उनलाई सबैभन्दा धेरै थियो । आफ्नो युवावस्थामा पिता शान्तनुलाई माझीकी छोरी काली अर्थात् मत्स्यगन्धा (पछि सत्यवती)लाई पत्नीका रूपमा उपलब्ध गराएका थिए ।

वृद्ध पिताको तरुणीप्रतिको चाहना पूरा गर्न उनले सत्यवतीको गर्भबाट जन्मेको पुत्र नै गद्दीको उत्तराधिकार हुन पाउने अनुचित सर्त स्वीकार गरेर राज्यको अधिकारलाई मात्रै छाडेनन्, आजन्म अविवाहित रहने प्रणसमेत गरेका थिए । यसरी उनले मनुष्यको प्रकृति र स्वयं आफूविरुद्ध पनि निर्णय लिएका थिए । यद्यपि उनी हस्तिनापुरको राजसत्ताको नजिक आजीवनजसो नै बसिरहे राज्यको सुरक्षा र संरक्षण गर्ने भनेर ।
०००
धृतराष्ट्रका पुत्र कौरवहरूलाई व्यासले दुष्ट र अत्याचारी देखाएका छन् । भीष्मले भने उनीहरूको दुष्टता र अत्याचारलाई खासै विरोध गर्न सकेका छैनन् । पाण्डवलाई इन्द्रप्रस्थबाट बोलाएर जुवा खेलाउने षड्यन्त्र दुर्योधन र उनका मामा गान्धार राजकुमार शकुनीले रचेका थिए । राजा धृतराष्ट्रले पुत्रमोहको वशिभूत भएर दुर्योधनको अनुरोधलाई खुसीसाथ मानिदिन्छन् । युधिष्ठिर जुवा खेल्न त्यतिसारो जान्दैनथे (सभापर्व ४८/१९: ४९/३८) । जुआमा छलकपट हुन्छ भन्ने उनले बुझेका थिए (सभापर्व ५८/१०)।

भीष्मलाई पनि जुआमा अनिष्ट हुन्छ भन्ने ज्ञात थियो । त्यस अनिष्ट कार्यलाई रोकाउन समर्थ थिए उनी, तर राजा धृतराष्ट्रलाई कडा दबाब दिन सकेनन् । जुवामा शकुनीको पासा हनाई कपटपूर्ण थियो । कौरवले जुवा जित्दै गए, युधिष्ठिरले सबैथोक हार्दै गए- धनदौलत, राज्य र आफूसमेत आफ्ना भाइहरू र अन्त्यमा पाँच भाइहरूका प्यारी पत्नी द्रौपदीसमेत हार्न पुगेका थिए ।

जुवामा जितेर दासी बन्न पुगेकी भन्दै दुशासनले उनलाई चुल्ठोमा समातेर घिसार्दै ल्यएर सभामा नंग्याउन लाग्दा द्रौपदीले सभामा उपस्थित ससुराहरू भीष्म, धृतराष्ट्र र अरू मान्यजन द्रोणाचार्य आदि समक्ष धर्म के हो भनेर अनेकपटक प्रश्न गरेकी थिइन् । कसैले उत्तर फिराएनन्, सबै चुप थिए । बोल्नैपर्ने बाध्यता आएपछि भीष्मले अत्यन्त लज्जा र पीडाबोध गर्दै भनेका थिए, 'संसारमा बलवान् पुरुषले जसलाई धर्म बुझ्दछ, मानिसहरू त्यसैलाई धर्म मान्दछन् र बलहीन पुरुषले जुन धर्म बताउँछ, त्यो बलवान् पुरुषले बताएको धर्ममा थिचिन्छ ।' (सभापर्व १५/६९) । हो पनि, महाभारत कालदेखि आजसम्म पनि त्यो मान्यतालाई हाम्रो समाजले छोड्न सकेको छैन, धनबल, शारीरिक बल र सत्ताबल कै प्रधानता छ ।

कौरवहरू त्यतिखेर सत्तामा थिए । त्यसैले दुर्योधन र कर्णले बताएको धर्म नै सर्वोपरि भइरहेको थियो । यो अवस्था आज पनि हाम्रो समाजमा विद्यमान छ । नेताहरू सत्तामा पुगेपछि राज्यलाई आफ्नै जिम्दारी भएको जस्तो व्यवहार गरेको हामी देखिरहेकै छौं । सके विकासमा पछि परेका समाजको यो चरित्र नै हो कि ! कौरवहरूले जतिसुकै अन्याय अत्याचार गरे पनि भीष्मले कौरवसत्ताको रक्षा गर्ने प्रण गरेकाले त्यसलाई कडा प्रतिरोध गर्दैनन्, यो उनको विवशता हो । आहान छ- अन्याय सहनु पनि अन्याय हो ।

भीष्मको सबैभन्दा दयनीय अवस्था कुरुक्षेत्रमा देखिन्छ । युद्धमा उनी प्रमुख योद्धा छन् र कौरव सेनाको पहिलो सेनापति बनेका छन् । पाण्डवलाई सत्यको पक्षपाती देखे पनि उनी असत्य र अन्यायको प्रतीक कौरवको पक्षमा युद्ध गर्न विवश छन् । उनको सेनापतित्वमा भएको युद्धमा आफू जीवित छउन्जेल पाण्डवको जित (जुन उनको विचारमा सत्यपक्ष हो) सम्भव छैन । त्यसैले उनलाई कसरी र कुन अवस्थामा मार्न सकिन्छ भन्ने रहस्यपूर्ण उपाय पाण्डवलाई बताएर आफूले शान्ति पाउने ठान्दछन् ।
०००
भीष्म नपुंसक थिए ('युक्तमेतत् तृतीययां प्रकृतौ वर्तता त्वया' - सभापर्व ४१/२ ) । हस्तिनापुरको उत्तराधिकारी वंशलाई निरन्तरता दिने दायित्व पनि आफूलाई भएको मान्थे । तर पति र पिता दुवैका लागि अयोग्य सौतेनी भाइ विचित्रवीर्यको विवाहका लागि स्वयंवर हुन गइरहेका तीनजना कन्यालाई युद्धमा जितेर ल्याएपछि त्यो अयोग्य भाइलाई उसको इच्छा नहुँदा पनि कर गरेर विवाह गराइदिए । स्वयंवर स्थलबाट ती कन्याहरूलाई बलात् हरण गरेर ल्याउनु कुनै कारणले पनि अनुचित थियो । एक नपुंसकसँग विवाह गराउनेजस्ता धर्मविरोधी कार्यलाई कसरी उचित मान्ने ? हाम्रो समाजमा अहिले पनि बेलाबखत आफ्ना तेस्रोलिंगी सन्तानलाई बिहे गराइदिने रहर पालेको देखिन्छ, जसलाई मोह वशीभूत भएको मान्नुपर्छ ।
०००
भाइ विचित्रवीर्यको सन्तान नभएर मुत्यु भयो । तिनकी पत्नी अम्बिका र अम्बालिकालाई अन्य पुरुषको संसर्गबाट नियोग पद्धतिले सन्तान जन्माउन निधो भएपछि ऋषि पराशरबाट जन्मेका सत्यवतीकै प्रथम पुत्र व्यासलाई अनुरोध गरियो । पहिलो रात व्यासलाई अम्बिकाको शयनकक्षमा पठाइयो । जिंग्रिंग दाह्री भएका कुरूप व्याससँग सहवास गर्ने इच्छा अम्बिकालाई पटक्कै थिएन । यो एक किसिमले बलात्कार थियो । त्यसले राम्रो परिणाम दिएन र अन्धो धृतराष्ट्रलाई अम्बिकाले जन्म दिएकी थिइन् ।

अर्कोपटक अम्बालिकालाई तयार गरेर शयनकक्षमा पठाइयो । उनले पनि व्यासलाई रुचाइनन् । उनीसँग पनि जबर्जस्ती गरियो । त्यसको परिणामस्वरूप रोगी र सन्तान जन्माउन नसक्ने पाण्डुको जन्म भयो । तेस्रोपटक छल गरेर घरकी दासीलाई अम्बिकाको शयनकक्षमा पठाइयो । दासीले बडो आनन्द मानेर ऋषि व्याससँग सहबास गरिन्, जसको अत्यन्त सुखद परिणाम निस्क्यो । उनीबाट महाज्ञानी विदुरको जन्म भयो । यसरी स्वेच्छाले गरेको यौनसम्पर्कबाट दोषरहित सन्तान जन्मिने रहेछ । महाभारतको यो शिक्षा आज पनि हाम्रो समाजले लिनसक्छ । तर, मानिसको अव्यक्त जंगलीपना र यौन चाहनाको प्रचण्ड आवेगले त्यसलार्ई ग्रहण गर्दैन । सन्तानको चाहना राख्ने स्त्रीका लागि नियोग पद्धति त्यति खेर प्रचलनमा थियो ।

कुनै कारणले पति समीप नहुँदा अथवा पति समीपमा रहे पनि सन्तान जन्माउने अवस्था नभएमा उनको अनुमति लिएर स्त्रीले सन्तानको चाहना राखेर कुनै देवता वा आफन्तजनको सहबासबाट सन्तान जन्माउने शास्त्रसम्मत विधि थियो नियोग । त्यस घटनामा अम्बिका र अम्बालिकाको सहमति देखिँदैन, तसर्थ उनीहरूको मञ्जुरीबिनाको सहबास बलात्कार नै थियो । यस पापकर्मको सहयोगी भीष्म नै थिए ।

युधिष्ठिर

युधिष्ठिरले पाण्डव शिविरमा दुर्योधनको दूत बनेर आएका सञ्जयलाई धर्मको कुरा गरेका थिए । उनी भन्छन्, 'जुन पुरुष प्रकृतिस्थ अर्थात् स्वाभाविक स्थितिमा रहे पनि आपद्धर्मको आ श्रय लिन्छ, त्यो निन्दनीय हुन्छ । जुन मानिस आपत्ग्रस्त हुँदा पनि शास्त्रोक्त विधिले सामान्य धर्मको आचरण गर्छ उसले कुटुम्बसहित आफ्नो रक्षा गर्न नसकेको कारणले निन्दायोग्य हुन्छ ।' याचकको अपात्रता अथवा कुटिलतालाई नबुझी दान दिँदा दाताको वा लोकको अहित हुनसक्ने अवस्था हुन्थ्यो । त्यस पक्षलाई कर्णले पटक्कै हेरेनन् ।

इन्द्रको याचनामा छल थियो । उनको कवच कुण्डल मागको भित्री मनशायमा आफ्नो पुत्र अर्जुनलाई युद्धमा विजय प्राप्त गराउनु थियो । कर्णबाट कवच कुण्डल प्राप्त नगर्दासम्म उनको मृत्यु हुन सक्तैनथ्यो । यो यथार्थ बुझ्दाबुझ्दै पनि उनले आफ्नो शरीरमा जडित कवच कुण्डल काटेर याचक इन्द्रलाई बुझाएका थिए । युधिष्ठिरले धृतराष्ट्रको निम्तामा कौरवको तर्फबाट जुवा खेल्नु निन्दित कार्य थियो । यसले अनिष्ट ल्याउँछ (सभापर्व ५८/१४: ६८/२०) भनेर जान्दाजान्दै पनि पितृव्यको निमन्त्रणा हो भनेर अस्वीकार गर्न नसक्नु उनको धर्मबारे जडसूत्री दृष्टिकोण थियो भन्ने देखिन्छ । उनले अपद्ग्रस्त अवस्थामा सामान्य धर्मको अवलम्बन गरेका थिए, जसले अनिष्ट गर्‍यो ।
भीष्म, कर्ण र केही हदसम्म युधिष्ठिरले धर्मको मूल स्वरूपलाई बुझ्न सकेनन्, त्यसको बोक्रालाई मात्र ग्रहण गरेका थिए ।

कृष्ण

महाभारतमा सबैभन्दा बढी महत्त्व पाएका र ईश्वरावतार मानिएका पुरुष वासुदेव कृष्ण हुन् । ऋषि व्यासले उनका राम्रा र नराम्रा दुवै पक्षको नीर क्षीर विवेकले गुणानुवाद गरेका छन् । श्रीकृष्णकै फुपुचेला चेदीराज शिशुपालले उनका नराम्रा कामहरूको निन्दा गर्नुलाई व्यासकै विचार त्यहाँ अभिव्यक्त भएको बुझ्न सकिन्छ ।

श्रीकृष्णले प्रचलित धर्मको प्रतिकूलजस्तो देखिने कार्यहरू थुप्रै गरेका थिए । उनी मथुरामै रहँदा कालयवनको आक्रमण भएको थियो र त्यतिखेर उनी भागेर गुफामा लुक्न पुगे । जरासन्धको पुनः आक्रमणको भयले मथुरानगरी नै खाली गराई सम्पूर्ण विष्णिवंशी बन्धुवान्धवसहित अनार्त भूमि द्वारका द्वीपमा बसाइँ सरेर गएका थिए । ती कार्य तत्कालीन धर्म र मर्यादाको दृष्टिले क्षत्रियोचित थिएनन्, कायरतापूर्ण थिए ।

विदर्भ राजकुमारी रुक्मिणीलाई शिशुपालसँग विवाह हुन लागेको अवस्थामा हरण गरी ल्याउनु, भीमबाट मगधराज जरासन्ध, दुर्योधनहरूलाई छलगरेर मार्न लगाउनु धर्मविरुद्धका कार्यहरू थिए ।श्रीकृष्णकै मन्त्रणाबाट अर्जुनले कुरुक्षेत्रको युद्धमा भीष्म, कर्णहरूको बध गरेका थिए जुन प्रचलित युद्धमर्यादाको विपरित कार्य थिए । आफ्नै बहिनी सुभद्रालाई हरणगर्न अर्जुनलाई सहयोग पुर्‍याउनु यादवगणको मर्यादाको प्रतिकूल थियो । यी केही दृष्टान्त हुन् ।
०००
माथि श्रीकृष्णका केही निन्दाजनक कार्यको चर्चा आए पनि ऋषि व्यासले उनका असल कामहरूको नै बढीजसो गुणानुवाद गरेर उनलाई ईश्वरावतार वा महानायकको स्थान दिएका छन् । उनको बाललीला र गोपिनीहरूसँगको रास अर्थात् नृत्य र शृंगारिक क्रीडाको श्रीमद्भागवत्, विष्णु पुराण, देवीभागवत् आदि ग्रन्थहरूले भक्तिपूर्वक वर्णन गरेका छन् । कालीय नागको दमन गर्ने, राजा कंशको अत्याचारलाई विरोधस्वरूप कर दिन बन्द गराउनेजस्ता लोककल्याणका कार्यहरू गर्ने भएकोले उनलाई ईश्वरावतारको स्थान दिइएको बुझ्न सकिन्छ ।

मामा भए पनि अत्याचार गर्ने कंशको बध गरेर राज्य प्राप्त गर्नु, मगधराज जरासंधलाई पराजित गरी, मथुरानगरीको रक्षा गर्नु इत्यादि पुरुषार्थहरू पनि उनले देखाएका छन् । खासमा के भने अत्याचारी शासक होऊन् वा अरू जोसुकै भए पनि दण्डको भागी बनाउनुपर्छ भन्ने उनको मान्यता रहेको पाइन्छ । दुर्योधन, कर्णलगायत कौरवहरू जनविरोधी अत्याचारी थिए । लोककल्याणका लागि राजा नै भए पनि तिनको बध गर्नु धर्मको रक्षा हुने श्रीकृष्णको सन्देश रहेको पाइन्छ । उनले स्वयं ६ जना राजालाई युद्धमा बध गरेको श्रीमद्भागवत्मा पढ्न पाइन्छ ।
०००
श्रीकृष्ण धर्मलाई जड रूपमा लिँदैनन्, गतिशील रूरुपमा लिन्छन् । उनी धर्मलाई मानवको मुक्ति, स्वतन्त्रता र समाज हितनिम्ति ग्रहण गर्छन् । धर्मले समाज र मानवलाई सर्वोच्च हितनिम्ति दिशा दिइरहन्छ भन्ने पक्षलाई स्वीकार गर्छन् । बलजफ्ती विवाह गर्न लागिएकी विदर्भराज कुमारी रुक्मिणीलाई उनको रुचिअनुसार हरण गरेर पत्नी बनाउनु नै श्रीकृष्ण उचित ठान्छन् ।

अर्जुन र शुभद्रा एकअर्कालाई प्रेम गर्थे । त्यसैले शुभद्राको हरण गर्न लगाउन अर्जुनलाई श्रीकृष्णले प्रोत्साहित गरेका थिए । वर्षा गराउने मेघ र कृषिकर्म गर्ने मनुष्यलाई फल दिने देवताका रूपमा इन्द्रलाई लिने गरिएकाले इन्द्रयज्ञ गर्ने गोपजनको साविकदेखिको प्रचलन थियो । गोकुलमा रहँदा उनले इन्द्रयज्ञलाई बन्द गराएर गाईको वृद्धि गर्ने 'गोबद्र्धन पूजा'को प्रचलन बसाले (भागवत् पुराण १०/२४/८-१०) । उनी सम्पूर्ण भारतवर्षका पहिलो समाज सुधारक हुन् । उनी इन्द्रले पानी पार्ने कुरा मान्दैनन् र भन्छन्- पानी पर्नु प्रकृतिको नियमित क्रिया हो । यसमा इन्द्रको के भूमिका छ र ? उनी कर्मलाई नै सबैभन्दा ठूलो कुरा मान्दछन् र भन्छन् 'कर्म नै गुरु कर्म नै ईश्वर' (कर्मैव गुरुरिश्वरः , श्रीमद्भागवत् पुराण १०/२४/१७ ) ।

निष्कर्ष

व्यासले भीष्म र कर्णलाई त्याग गर्नुपर्ने पात्रका रूपमा प्रस्तुत गरेको देखिन्छ । ती दुवै भीष्म र कर्णलाई जन्मिँनासाथ तिनीहरूकी आमा गंगा र कुन्तीले नदीमा प्रवाहित गर्न लगेका थिए । पुत्रमोहले गर्दा पिता शान्तनुले भीष्मलाई बचाएका थिए । उता कर्णलाई नदीमा प्रवाहित गरिदिए पनि धृतराष्ट्रका सारथि अधिरथले नवजात शिशु कर्णलाई नदीबाट जीवित उतारेर पुत्रवत् पालनपोषण गरेर ठूलो बनाएका थिए ।

धृतराष्ट्र पुत्र सय भाइ कौरव पनि नजन्मिनु पर्ने र जन्मिँदा अनिष्ट हुनसक्ने व्यासले संकेत गरेका छन् । सय वर्षसम्म गर्भमा रहँदा जबर्जस्ती तिनलाई जन्माउनु परेको थियो । एक भाइ विकर्णबाहेक ९९ सय भाइ कौरवको अन्याय, अत्याचारलाई साथ दिने देवव्रत भीष्म, सूर्यपुत्र कर्ण अधर्मी देखिन्छन् र खासगरी युद्धका लागि दुर्योधनको आडभरोसा बनेका छन् । वर्तमान नेपाली राजनीतिक परिस्थिती हेर्दा शासनमा भएका केही नेताहरु पनि नजन्मेको भए राम्रै हुन्थ्यो ।
०००
मूलतः सत्य र न्याय नै धर्म हो । समाज र जातीय हितनिम्ति जुनसुकै कार्य पनि सत्य हो, अतः धर्म हो । यो समाज सापेक्ष भएकाले युगअनुसार, स्थानअनुसार निर्धारण हुने गर्छ । स्वयंभूव मनुको शब्दमा 'एउटै क्रिया देश र कालको भेदले धर्म वा अधर्म हुन जान्छ' (शान्तिपर्व ३७/११) । सारांशमा समाजको जीवनपद्धति मान्न लगाउने नियम र सामाजिक मर्यादा धर्म हो । रामायण, महाभारत र वैदिक साहित्यका रचनाकारहरूले यही दिशानिर्देश गरेका छन् । समाजका ती व्यक्ति जो जातीय हित र उन्नतिका लागि सदा सक्रिय र तत्पर छन्, संघर्षशील छन्, तिनीहरू नै देवत्वभावमा स्थापित छन् ।

२०६३ सालको परिवर्तनपछि नेपालको राजनीति राज्यनीतिका रूपमा नरहेर व्यक्तिनीतिका रूपमा चलेको देखिन्छ । यस्ता कार्यले देश दिनानुदिन संकटतर्फ बढ्दै गइरहेको छ । देशका वर्तमान नेतृत्वकर्ताले हाम्रो समाजको धार्मिक, सांस्कृतिक आधार र असल परम्परालाई बुझ्न सकेको देखिएन । धृतराष्ट्र दुर्योधनले हस्तिनापुरको राज्य केही यस्तै गरी निजी स्वार्थमा चलाएका थिए । त्यसको परिणाम थियो महाभारत युद्ध, जहाँ हजारौंको संख्यामा मानिस हताहत भएका थिए । उनीहरूको दुष्चरित्रबाट शिक्षा लिनुपर्छ । श्रीकृष्णको आदर्श अहिले पनि हाम्रा लागि सान्दर्भिक छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.