गडड्याम लाइफ !

गडड्याम लाइफ !

'लाइफ इज निदर, लाइफ इज इदर !'
सपनाले किकब्याक गर्छ । बर्बराउँदै उठ्छ ।
'गडड्याम लाइफ ! गडड्याम सपना ! गडड्याम गड ! कुकुरलाई सोध् भन्छ । के ईश्वरभन्दा कुकुर ज्ञानी हुन्छ ? के ईश्वरभन्दा कुकुर इमानदार हुन्छ ? '
सान्त्वनी बिउँझिन्छे ।
'के भो ? आज फेरि सपनामा कोसँग ? '
'भगवान्सँग ।'
भगवान्ले भने, 'द ट्रुथ इज येट टु कम ! आई एम द गड !'
'ह्वाट् ! गड अर्थात् ईश्वर !'

'एस आई एम ! यस्टर्डे हिस्ट्री । टुमरो मिस्ट्री । बाँकी तँसँग ८६ हजार चार सय सेकेन्ड छ । हरेक एक सेकेन्ड मान्छेको जीवन हो— हरेक सेकन्ड मान्छेको मृत्यु हो । बाँकी बुझ् । र, बाँकी तेरो टमीलाई सोध् ।'
टमीलाई नै किन, गड ?
'कुकुर इमानदार हुन्छ ।'
सपनामा जे देख्यो त्यही सुनाउँछ । आँखा खुलेका छैनन् ।
'मेरा आँखाभित्र आकाश पस्यो । यी आँखामा ग्यालेक्सी नाचिरहेको छ । सारा ग्रह-तारा घुमिरहेका छन् ।'
१२ वर्षदेखि मस्तिष्कमा ओथारा बसेको थियो, 'लाइफ इज निदर, लाइफ इज इदर !'
सान्त्वनीले चिसोपानी खन्याउँछे । आँखा खोल्छ ।

सबै थोक अपसाइड डाउन देख्छ । आफू उल्टो देख्छ । स्वास्नी उल्टो देख्छ । मस्तिष्क उल्टो घुमेजस्तो हुन्छ । 'उल्टोसत्य'को गह्रुँगो भारीले थाप्लो किचिएजस्तो हुन्छ । जीवन आफैंमा उल्टोसत्य हो भन्ने लाग्छ ।
'गडड्याम सपना ! भगवान् पनि अंग्रेजी बोल्न थालेछन् ।' फेरि बर्बराउँछ, 'भगवान् भनेकै डर हो । डाइरेक्ट तर्साउँछ । सबै उल्टो देख्दैछु ।'

'ईश्वरसँग डराएकै कारणले मान्छे उसको दास भएको छ । नडराउने भए मान्छेले ईश्वरलाई दास बनाउँथ्यो । मान्छेका खुट्टा ईश्वरले ढोग्नुपथ्र्यो ।' ज्ञानदर्शन दिन्छे सान्त्वनी ।
सपनामा देखेको भगवान्को रूप सम्झिन खोज्छ । एकोहोरिन्छ, सक्दैन । शून्यका फोकाले भरिन्छ स्मृति । डर हराउँछ । सुल्टो देख्न थाल्छ । भगवान्लाई सोधेको प्रश्न स्वास्नीलाई सुनाउँछ । दिक्दार हुन्छे स्वास्नी ।
'बाह्र वर्षदेखि उही प्रश्न । एउटै कुराको पछि लागेको छ, लागेको छ । दारीमा जुम्राले नातिनातिना बनाइसके । मगजमा धमिराले घर बनाउला ।'

फुस्रो हाँसो हाँस्छ । भगवान्ले टमीलाई सोध् भनेको छ । टमी उसको कुकुर हो । छिँडीमा जान्छ । कुकुर छैन । सान्त्वनीलाई सोध्छ ।

'टमी डेटिङमा गाएको छ ।'
सपपत्री फुल्ने महिना । कुकुर खोज्न निस्किन्छ ।
बाटामा साथी भेट्छ । सोध्छ, 'जीवन के हो ? '
'माइन्ड ब्लोयिङ यार ! यस्तो प्रश्नको उत्तर त भट्टी डिस्कसनबाट मात्र निस्किन्छ । बरु आजै... तैं त होस् हाम्रो जीवनदर्शन यार... !'

'गडड्याम साथी, सधैं दारुपूजा ! हरेक कुरामा दारु । बा बित्दा पनि टेन्सन भो यार दारु पिऊँ भन्थ्यो ।'
लेखक मित्रलाई फोन गर्छ । लेखकले यक्षलाई सोध् भन्छ । नदीतिर लाग्छ । बकुल्ला देख्दैन ।
नदीलाई सोध्छ, 'जीवन के हो ? '

'मलाई देखेरै बुझ्नुपर्ने ।' यस्ता मूर्खलाई के जवाफ दिनु भन्ठान्छ, नदी । चुपचाप हुन्छ । नदीलाई दया लाग्छ । केही बेरपछि भन्छ, 'निरन्तर बग्नु नै जीवन हो । बाँकी हावालाई सोध् ।'

हावालाई सोध्छ । हावाले आकाशलाई सोध् भन्छ । आकाशले पानीतिर देखाउँछ । पानीले पृथ्वीतिर देखाउँछ । पृथ्वीले पशुतिर देखाउँछ । पशुले रूखतिर देखाउँछ । रूखले चरातिर देखाउँछ । चराले कीरातिर देखाउँछ । कीराले रोगतिर देखाउँछ । रोगले मृत्युतिर देखाउँछ । मृत्युले भगवान्तिरै देखाउँछ ।
नदीले जस्तै सबैले आफूले भोगेको जीवन बताउँछन् । सुनेर दिउँसै तारा देख्छ । मगज खलबलिन्छ ।
'आखिर के हो, गडड्याम लाइफ ? '

बाटामा कवि भेट्छ । कविलाई सोध्छ । कविले कविता हो जीवन भन्छ । कविता सुनाउँछ । सुन्छ, नबोली हिँड्छ । मनमनै फलाक्छ, 'गडड्याम कवि !'
राजाको दरबार छिर्छ । राजालाई सोध्छ । राजाले भन्छ, 'आफन्तका अनुहारमा लुकेको प्रिय शत्रु हो, जीवन ।'
दार्शनिक भेट्छ । दार्शनिकले भन्छ, 'जीवन खोजिस् भने जीवनभर बाँच्दैनस् । त्यही हो, जीवन !' भित्रभित्रै पागल भन्छ, हिँड्छ ।
स्वामीको आ श्रम देख्छ । छिर्छ । एक भक्तलाई सोध्छ । भक्तले भन्छ, 'कामनाहरूलाई कैद गर त्यही हो, जीवन ।'

स्वामी छेउकी एक भक्तिनी बालिकालाई सोध्छ । बालिकाले भन्छे, 'प्रभुको इच्छा हो जीवन ।' बालिकाका आँखा स्वामीतिर जान्छन् । स्वामी मुस्कुराउँछ ।
स्वामीलाई सोध्छ । स्वामीले भन्छ, 'कामनाहरू मर्नका लागि जन्मिएका हुँदैनन् । पूरा गर, त्यही हो जीवन ।' स्वामी बालिकातिर हेर्छ । बालिकाहरू मुस्कुराउँछन् ।
मध्य सहरमा टाइसुट लगाएको मान्छे देख्छ, सोध्छ ।

'लाइफ इज सङ - सिङ इट । लाइफ इज गेम - प्ले इट । लाइफ इज च्यालेन्ज - मिट इट । लाइफ इज ड्रिम-रियलाइज इट । लाइफ इज सेक्रिफाइस - अफर इट । लाइफ इज लभ - इन्ज्वाई इट ।' पुरेतले मन्त्र पढे जसरी टाइसुटधारी एकसासमा बर्बराउँछ ।
उच्चारण नमिले पनि टाइसुटधारीको नाकमुनिको फोहोर टुटीबाट झरेको अंग्रेजी सुनेर ऊ प्रभावित हुन्छ ।
'महोदय, यो मेरो आफ्नै चिन्तन हो । जीवनबारे जीवनभरको चिन्तन ।' आकाशतिर नाक फर्काउँदै टाइसुटधारी बोल्छ । उसलाई अर्को भगवान् ठान्छ, सादर नमस्कार गर्छ ।

पारीपट्टि पीपलबोटमुनि जोगी बसेको छ । जोगीले इशारा गर्छ । जोगीतिर जान्छ ।
'चिन्छस्, त्यो को हो ? ' जोगीले सोध्छ ।
'भर्खरै चिनेँ । महान् हुनुहुँदो रहेछ उहाँ । वाह ! जीवनको परिभाषा... त्यस्तो गहन्... त्यो पनि अंग्रेजीमा फररर्... ! संसारकै विद्वान्मध्येको एक !'

जोगी हाँस्छ, 'लाइफ इज टु लङ् टु लाइभ एन्ड इज टु सर्ट टु वेस्ट ! त्यो चोरबाट साइबाबाको वचन सुनेर आइस् । कण्ठस्थ पारेको छ । आफ्नै भन्छ । बाटो हिँड्ने हरेक मान्छेलाई सुनाउँछ ।'
जोगीको अंग्रेजी सुनेर अनुहारको चमक उड्छ । घुटुक्क थुक निल्छ । बैगुनजस्तो बैजनी अनुहारले जोगीतिर हेर्छ ।
जोगीसँगै धुवाँ उडाउँदै गरेको बिन्दासले थप्छ, 'हो, हो, त्यो भगवान् हो । तँजस्ता मान्छेका फलफूल पखालेर खाने मान्छेका लागि ।'

दोबाटोमा उभिएर मान्छेलाई मुर्गा बनाउनु साईसुटवालाको फुलटाइम काम हो । फाइनान्स, मेनपावर, बीमा, हाउजिङ, रियलस्टेट एजेन्ट हुँ भन्छ । ठगी गर्छ ।

जोगीले थप्छ, 'ह्वेन यु नो योरसेल्फ देन यु विभिल इन योरसेल्फ । इट इज लाइफ ! म त्यसै जोगी भएको हैन ।'
'गडड्याम लाइफ ! नट इजी । सुरु र अन्त्यबीचको जटिलता हो, जीवन ।' एक्लै फतफताउँछ । दुई हातले टाउको समाउँछ । मनमनै ठान्छ, 'जोगीले भनेको जीवन नै जीवन हो ।'
जोगीसँगै बसेर दुई सर्को गाँजा तान्छ । झुम्म हुन्छ हिँड्छ ।
पर्तिर भरिया बसेको छ । सोध्छ ।

'बुद्धिमानका लागि सपना, मूर्खका खेल, धनीका लागि मजा, गरिबका लागि दुःख हो जीवन ।'
'यो चैं हो ।' बल्ल बुझेँ भन्दै बेलुनजस्तै फुल्छ, हिँड्छ ।
सहरको प्रमुख पुस्तकालयअगाडि पुग्छ । एकछिन एकटकले हेर्छ । छिर्छ । हजारौं किताब छन् । आकाशका ताराभन्दा धेरै छन् जीवन दर्शनका अर्थ र परिभाषा । केही नोट गर्छ ।

- ईश्वरको उपहार हो, जीवन ।
- जन्मनु र मर्नुबीचको खेल हो, जीवन ।
- अरू भएर बाँच्नु हो, जीवन ।
- आफू भएर बाँच्नु हो, जीवन ।
- गहिराइ थाहा हँदैन, सागर हो, जीवन ।
- बिउँझेपछि अर्कै, सपना हो, जीवन । ।
- जीवनका हरेक क्षण नै जीवन हो- ह्वाट् यु मेक इट ?
- बी गुड, डु गुड एन्ड रिसिभ व्याड हो, जीवन ।
- एउटाले सल्काउँछ । अर्कालाई जलाउँछ । आगो हो, जीवन ।
- केही पनि हैन जीवन ।
- जुनसुकै बेला जिरो हुन सक्छ । चल्तीखाता हो, जीवन ।
- ह्वाट इज द मिनिङ अफ लाइफ अर एक्स्पेरियन्स अफ विङ अलाइभ ? त्यही हो जीवन ।

यो पनि हो, त्यो पनि हो तर केही पनि हैन जीवन । यो पनि हैन, त्यो पनि हैन तर पनि सबैथोक हो जीवन ! झिँझो लाग्छ । सब् च्यात्चुत् पार्छ । फर्केर जोगीअड्डा जान्छ ।
'जस्ट गिभ अप । गडड्याम लाइफ ! वाहियात ! गुमाउनका लागि धेरै वस्तु उत्पादन गर्ने झुर कारखानाको मालिक हुँ म ।'

भित्रभित्र ऐंठन हुन्छ । चिच्याउँछ । बसेर गाँजा तान्छ । हाई फिलिङ्मा पल्टिन्छ ।
'डन्ट गिभ अप ! नेभर गिभ अप !' मस्तिष्कमा स्ट्राइक हुन्छ ।

'धेरै कुरा अन्त्यपछि सुरु हुन्छन् । ब्र्रेक थ्रु गर्नैपर्छ ।' भगवान्ले भनेको सम्झन्छ । घर फर्कन्छ ।
अब कसलाई सोधूँ ? दुई मृत आँखा बोकेको जिउँदो बुख्याचा हो मान्छे । सेतो कालो छुट्याउन सक्दैन । के दिमाग लगाउँछ ? कसले देला मेरो प्रश्नको जवाफ । भौतारिँदै आर्यघाट पुग्छ । मुर्दालाई सोध्छ ।
'जीवनभर जीवनको भारी बोकेर मान्छे मर्छ तर जीवन के हो बुझ्दैन, त्यही हो जीवन ।'
मन्दिरको पेटीमा भिखारी देख्छ । उसले भन्छ, 'जीवनबिनाको जीवन बाँच्नु नै जीवन हो ।'

सडकमा गधा सुतिरहेको देख्छ । नजिकै जान्छ । सोध्छ ।
'जे हो, त्यही हो । के हुन्छ थाहा हँदैन, जे थाहा हुँदैन; त्यही हो, जीवन ।'
गल्लीमा बिरालो देख्छ । सोध्छ ।
'जे देखिन्छ त्यो हैन, जे भोगिन्छ त्यो देखिँदैन । गडड्याम मान्छे हो जीवन- देख्नु र भोग्नुमा कति फरक छ ।'
मुसो देख्छ । सोध्छ ।
'जसरी बाँच्छस् त्यही हो, जीवन ।'

घर आउँछ । स्वर्गवासी बाबाको तस्बिरमा ढोग्छ । तस्बिरलाई सोध्छ ।
'तिमी आधा हौ जसले तिमीलाई पूर्ण बनाउँछ त्यही हो, जीवन ।'
सान्त्वनीलाई सम्झन्छ ।
'सान्त्वनी, जीवन के हो ? '
'ताइम पास !'

काठमान्डुको लोकल एक्सेन्टेमा बोल्छे । गलललल् हाँस्छे । आँखा घुमाउँछ । गेटतिर हेर्छ । टमी देख्छ । काली पनि सँगै देख्छ । काली टमीकी गर्लफ्रेन्ड हो ।
टमी छेउ जान्छ । टमीले टाउको दायाँबायाँ गर्छ । स्वास्नीतिर हेर्छ ।
'भन्नै पर्दैन, मेरो छोरा तमीलाई थाहा छ ।' टमीलाई किस गर्छे सान्त्वनी ।
'मालिक, निष्ठा खाने मान्छेको विश्वास नगर्नु । ममाथि भरोषा र विश्वास गरेकोमा भगवान्लाई धन्यवाद ।'
'तर मेरो प्रश्न बाँकी नै छ, टमी । जीवन के हो ?

'आमालाई सोध्नुस् मालिक । आमा र मान्छेमा फरक छ । आमा त आमा हो ।'
कुकुरसँग झर्किन्छ । टमी केही नबोली कालीसँग बारीतिर लाग्छ । प्राणी हो, प्रेम गर्न जानेको छ । मौसम प्रेमको छ । कागतीघारीपछाडि कुइँकुइँ गर्न थाल्छ ।

एक मनले निक्र्योल गर्छ, 'यो प्रश्न नै गलत छ । गलत प्रश्नको उत्तर हुँदैन ।'
आमा आँगनमा सुकुल ओछ्याएर बसेकी छन् । आमातिर हेर्छ । आमा मुसुक्क हाँस्छिन् ।
'साँवा अक्षर नचिन्ने आमा ! के जान्नु हुँदो हो ? कस्ताकस्ता विद्वान्ले त लछारपाटो लगाएनन् । मनमा अविश्वासको गाँठो बाँधेर आमा छेउ जान्छ ।

'एउटा हँसिया लिएर आइज, बाबु ।' आमाले अह्राउँछिन् । हँसिया ल्याउँछ ।
'बारीबाट एउटा खँदिलो बन्दाकोभी ले ।' मुन्टा तलमाथि गर्दै बारीतिर जान्छ । सबैभन्दा खँदिलो बन्दाकोपी काटेर ल्याउँछ । आमा छेउ बस्छ । भागवतगीता, महाभारत र रामायणका प्रसंग सुनाउँदै बन्दा उधिन्न थाल्छिन्, आमा ।

आमा एकसुरले बन्दाका पत्रपत्र छुट्याउँदैछिन् । ऊ एक ध्यानले आमाका कुरा सुनिरहेको छ । एकतमासले आमातिर हेरिरहेको छ ।

आमाले के गरेको होला ? आमाको अनौठो व्यवहारको रोटेपिङ मनमा घुमिरहेको छ । कति बेला सकिएला र आमालाई सोधौं भनेर पर्खिरहेको छ । भित्रभित्रै छट्पटिन थालेको छ ।
सान्त्वनी दलिनमा बसेर हेरिरहेकी छे । उसका मनमा पनि उत्सुकता दीया सल्किँदै निभ्दै गरिरहेका छन् ।
आमाले बन्दा केलाई सकिन् ।

'बुझ्यौ बस् यही हो ।' आमाले हात टक्टक्याइन् ।
'के यही हो आमा ? '
'जीवन यही हो । बन्दाकोभी हो जीवन । अन्तिममा केही छैन ।' आमाले रित्ता हात फैलाउँदै भनिन् । दुवै एकतमासले आमालाई हेर्न थाले ।
'आमासँग हरेक प्रश्नको उत्तर हुन्छ ।' उसको बोली फुट्छ ।
बोलीमा बोली थप्छे सान्त्वनी, 'टमीले भनेको हैन, आमा त आमा नै हो !'

'गडड्याम मान्छे भ्यागुतालाई सुसुवर्षा गराएर मस्तिष्कमा च्याउखेती गरेरे बसेको छ । जीवनभर एउटा बन्दा फलाउन सक्दैन । कहाँबाट बुझोस्, गडड्याम लाइफ !' हाँस्छ, मजाले हाँस्छ । साइलेन्सर पाइप फुटे जसरी हाँस्छ ।

'गडड्याम लाइफ !' आमाको थोतो मुखबाट हाँसोको फोहरा फुट्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.