२०१६ को अन्तिम लन्डन डायरी

२०१६ को अन्तिम लन्डन डायरी

अक्सफोर्ड सर्कसः ७:३५
ट्युब स्टेसनबाट बाहिरिनेबित्तिकै अघिपछिजस्तै मानिसको भेलले छोप्छ । सडकमा सार्वजनिक बस र निजी गाडीहरू गुडेका छैनन्, एकाध ट्याक्सीबाहेक । पुलिसका भ्यान तैनाथ देखिन्छन् । युरोपकै अति व्यस्त सपिङ स्ट्रिटमध्येकै एक जहाँ दैनिक सरदर पाँच लाखभन्दा बढी मानिस ओहोरदोहोर गर्छन्, आज उतिसारो हतारमा देखिँदैन । नभए अघिपछिका साँझहरूमा यतिबेला झटारिएका र बेगिएका मानिसमात्रै भेटिन्थे । यस ठाउँमा बिरलै भेटिने यस्तै अलमस्त मानव नदीमा एउटा थोपा भएर म पनि लाग्छु- पिकाडेली सर्कसतिर ।

क्रिसमस अघिदेखि झुन्ड्याइएका रंगीबिरंगी बत्तीहरू अझैसम्म सडकमाथि र ठूलाठूला बिल्डिङका भित्तामा उसैगरी आँखा झिम्क्याइरहेका छन् उस्तै चमकदमक देखाएर । फुटपाथे सोभिनियर पसलको बक्सको आडमा एउटा श्यामवर्णी कलाकार अत्यन्तै कुशलतापूर्वक थोत्रा बाल्टीहरूबाट ड्रमको आवाज निकालेर ताली र पैसा दुवै बटुलिरहेछ । अझै परतिर एउटा बिल्डिङको पेटीमा उभिएर एउटा अधबैंसे भने एक्लै स्याक्सोफोन फुकिरहेछ ।

ड्रमवालालाई झैं उसलाई अडिएर कसैले सुनिरहेको छैन । उसको अघिल्तिर उत्तानो टाँग लगाएको कालो ह्याट पनि ऊजस्तै उदास र खाली छ । साँझजस्तै चिसो र उदास त्यो कलाकारको रित्तो ह्याट मैले राखिदिएको एक पाउन्डको ढ्याकले अलिकति गुल्जार हुन्छ । ऊ बजाउँदा बजाउँदै मलाई झुकेर अभिवादन गर्छ । ड्रमवाला र स्याक्सोफोनवालाको अवस्थाबीचको अन्तरले आजको साँझको मनोविज्ञान झल्काएको छ ।

पिकाडेली सर्कसः ७:५५

ठूलो इलेक्ट्रोनिक्स विज्ञापन स्क्रिनको सदाबहार नियोन बैंस बोकेर धपक्क बलिरहेछ पिकाडेली सर्कस । गजबको लाग्छ यो स्क्रिन । सुनेको छु, १९४९ पछि जम्मा तीनपटकमात्रै यसको स्विच अफ गरिएको थियो । खासमा ठूला र बहुराष्ट्रिय कम्पनीहरूका विज्ञापन टाँगिने यो डिस्प्ले स्क्रिनमा २००२ मा प्रिय गायक जोन लेननको चर्चित गीत इमाजिनको पहिलो लाइन 'इमाजिन अल द पिपुल लिभिङ लाइफ इन पिस' तीन महिनासम्म राखिएको थियो जसका निम्ति लेनन पत्नी योकोले एक लाख ५० हजार पाउन्ड खर्च गरेकी थिइन् । इतिहास पनि कहीँ-कहीँ त गजबले निर्माण भएको हुन्छ । एउटा व्यावसायिक सूचीकारको स्पेसल डिजाइनको नामबाट हरेक वर्ष कम्तीमा ७० मिलियन पैदल यात्रीहरू आवत्जावत गर्ने सडकको नाम बन्न गयो पिकाडेली ।

चोकैको मेमोरियल फाउन्टेनमुनि कुनै स्पेनिस गीतमा आफ्नो पृष्ठभाग हल्लाएर एउटी केटी बेपर्वाह नाचिरहेकी छे । मानिसहरू घेरा बनाएर उभिइरहेका छन् । भित्तातिर सालिकजस्तै लुगा लगाएर उभिएको मान्छेसित फोटो खिचाउनका लागि लाइन लागेको छ । विज्ञापन स्क्रिनको ब्याकग्राउन्डमा फोटो खिच्ने र खिचाउनेको संख्या भने योभन्दा अधिक छ । अनि यतिमा पनि मानिसको आगमनको प्रवाह थामिएको छैन, उल्टो बढ्दो छ ।

लेस्टर स्क्वायरः ८:१५

यता अझै भीड छ, मानिसको । तर, अघिपछिजस्तो बक्स अफिसहरू अघिल्तिर मानिसको लाइन लागेको छैन । चटकी, स्केलेटनको पुत्लालाई संगीतको तालमा आफूजस्तै गरी नचाउने कृष्णवर्णी युवक अथवा एक्रोब्याटिक शैलीमा पालैपालो नाच देखाउने परिचित युवकहरू कोही छैनन् आज । न त कमेडी सो र नाटकहरूका पर्चा बाँडिरहेका युवा युवती नै छन् । खालि एउटा कुनामा पोट्रेट बनाउने कलाकारको धन्दाचाहिँ सुचारु चलिरहेको छ । होचो पर्खालमाथि उभिएर एउटा दुब्लो मान्छे जिजस क्राइस्टको प्रवचन दिइरहेछ अनि मज्जाको कुरा त त्यसको नाकैमुन्तिर मुस्लिम धर्म प्रचारक पुस्तकहरूको एउटा स्टल नै राखिएको छ ।

तर, न कोही जिजसलाई सुनिरहेको छ न कोही स्टलतिर गइरहेको छ । आफ्नै तालमा मस्त स्टलमा बस्ने दुई युवालाई पनि आफ्नो काममा जाँगर भएजस्तो देखिँदैन । अघिल्तिरका रेन्टुरेन्टमा भने मानिसहरू भित्र पस्ने पालो कुरेर बसिरहेका छन् ।

म पर्खालमा बसेर रमिता हेरिरहेछु । अकस्मात् ढोलकसँगसँगै 'हरे रामा हरे कृष्णा'को आवाज सुनिन्छ । एउटा हुल यतै आइरहेछ पहेँलो भन्ने कि गुलाबी रङको झन्डा फर्रफराएर गीत गाउँदै । भीडमा धेरै इन्डियन अनुहार छन्, केही गोरा र गोरी अनुहारलाई छाडेर । मुख्य गायकचाहिँ छ गुलाबी कुर्था र धोती लगाएको मोटो टुप्पीवाल अग्लो गोरे जो 'हरे रामा हरे कृष्णा' बडो आनन्दसित गाइरहेछ ।

गजब छ । बिक्न पनि केही बाँकी रहेन । अब सामानभन्दा बढी बिकाउ मानिसको संवेग र सांस्कृतिक पक्षहरू भएका छन् । मानिसको मस्तिष्कमाथि बजारले कति बलियो डेरा जमाएको छ, यहीँ देख्न पाइन्छ । मध्यम र निम्न वर्गका मान्छेको श्रम र सिर्जना उत्कृष्टतामा पुग्नका लागि भन्दा पनि कुनै एउटा वस्तु र क्षणको उपभोगका लागि सीमित बनाइदिएको छ बजारले । सबै वस्तु र विषय उपभोग्य बनेका छन् । यसले मानवीय जीवनका कतिपय सुन्दर पक्षहरूलाई क्रमशः कुरूप बनाउँदै लगिरहेको छ ।

हरे राम टोली पिकाडेलीतिर लाग्नेबित्तिकै म चाइना टाउनतिर लाग्छु, यो पनि खचाखच छ । अघिपछिजस्तै चाइनिज बसाइरहेको चाइना टाउनका रेस्टुरेन्टहरू भरिभराउ छन् । म नअडिकनै हिँडिरहेको छु । पल्लो गेटनिर पुग्नैलाग्दा कानमा कोही फुसफसाएजस्तो लाग्छ, फर्किएर हेर्छु- एउटी अधबैंसे युरोपियन मैलाई भन्दैछे 'उद यु लाइक ह्यापी इन्दिङ मसाज सर, वन्ली फर फोरती पाउन्द ? '

सोहोः ८:४५

मसाजवालीबाट लखेटिएर म सोहोतिर लागेँ । भिक्टारियन समयमा बदनाम डिन स्ट्रिट यतै कतैबाट डोहोरिन्छ । विलियम ब्लेकको जन्मस्थल यो एरियामा कार्ल माक्र्स र चाल्र्स डिकेन्सजस्ता मान्छेहरू पनि कुनैबेला बस्ने गर्थे । अहिले लन्डनको एउटा सेक्स बजार यो पनि हो । पुराना गल्लीहरूबाट गुलाबी र सिन्दुरे रङमा चिमचिमाइरहेका सेक्ससपहरू, मसाजपार्लरहरूदेखि डान्सबार, समलिंगी क्लबहरू यहीँ छन् । मलाई यी कुनैसित सरोकार छैन । खासमा मलाई एकपटक २८ डिन स्ट्रिटमा जानु छ जहाँ प्रिय दार्शनिक कार्ल माक्र्सले आफ्नो जीवनका करिब ६ वर्ष बिताएका थिए ।

अनि गजब त मेरो आँखा अगाडि यतिखेर मैले कहिल्यै नभेटेका प्रिय लेखक कुमार नगरकोटीको अनुहार आइरहेछ । उनको स्टाइलमा कल्पना गरेर हेर्छु किन म पनि माक्र्सको डेरा अगाडि सडकमा उभिएर सुसेल्दै माक्र्सलाई नबोलाऊँ र उनलाई लिएर चाल्र्स डिकेन्सको नाटक थियटरमा गई उनलाई पनि उठाई कुनै दारुअड्डामा नलैजाऊँ । अझ यी दुईका साथमा बसेर आतिशबाजी पनि हेरुँ ... ...। कल्पना गर्दै पनि रोमरोमपर्यन्त सल्बलाए ।

'ब्रदर कुछ चाहिए क्या ?' साँझको मध्य लन्डनको कुनै एन्टिक गल्लीमा तपाईंलाई कसैले हिन्दीमा केही सोध्यो भने पनि अनौठो नमान्दा हुन्छ अचेल । हातमा कोष्टा कफीको कप बोकेको छिमेकी मित्रराष्ट्रबाट आएको प्रतीक हुने त्यो आदमीले मलाई फेरि झिँझोल्यो, 'क्या देखते हो ? कुछ मालवाल चाहिए तो बोलो ।'

त्यसलाई पन्छाएर म अगाडि बढेँ । नगरकोटी स्टाइलको कल्पना ध्वस्त बनाएको थियो छिमेकीले । तैपनि पुगेँ २८ डिन स्ट्रिटको त्यो घर अघिल्तिर जहाँ माक्र्स दम्पतीले आफ्नो जीवनको सर्वाधिक कठिन र संघर्षपूर्ण वर्षहरू गुजारेका थिए । तेस्रो तल्लाको माक्र्सको कोठा उज्यालिएको थियो । भुइँतलाको ठूलो रेन्टुरेन्ट भरिभराउ नहुने त कुरै थिएन ।

फर्कंदा अर्को बाटो निस्कन्छु भनेको झुक्किएर फेरि अघिकै बाटो आएछु । चौबाटोमा फेरि उही बीबीसीडी भेट भयो अर्थात् गोराहरूको भाषामा ब्रिटिस बर्न कन्फ्युज्ड देशी । अब त ऊ ठूलो स्वरमा पो करायो, 'ब्रदर क्योँ इधरउधर घुमते हो ? '

मलाई हुनसम्म रिस उठ्यो । यो सडकमा हजारौं मानिस हिँडिरहेछन्, तर योचाहिँ मलाई मात्रै उसको मालको गाहकी बनाउन खोजिरहेछ । रिस उठे पनि म चुपचाप तर छिटोछिटो हिँडे । चौबाटो काटेपछि अर्को गल्लीतिरबाट निस्किने विचारमा थोरै अडिएको मात्रै थिएँ, अघिल्तिरबाट बियरको क्यान लात्ताले हान्दै आइरहेको एउटा सिकुटे प्राणी थियो ।

ऊ अकस्मात् चिप्लिएर मेरो अघिल्तिर उभियो र लड्खडाउँदै मेरो पाखुरा समात्यो अनि मुसुक्क हाँसेर सरी भन्यो । मैले उसको हाँसोलाई ब्याजसहित चुक्ता गरेर समुस्कान नो प्रोब्लम दिएँ । तर, कुरा यतिमा सिद्धिएन । उसले त मेरो पाखुरा छोडेर हत्केला समाउँदै भन्यो 'नाइस टु मिट यु । उड यु लाइक टु स्पेन्ड अ लिटिल टाइम विथ मि मेट ।'

'नो थ्याङ्स' भन्दै मैले उसलाई पाखा लगाएँ । यसो हेरेको, म त गे क्लबभित्र छिर्न बसिरहेको लाइनमा उभिइरहेको थिएँ ।

त्यसपछि पनि दलालको एरिया सकिएको रहेनछ । भिन्ताज म्यागजिन लेखिएको पसलको छेउमा पुग्दा एउटा श्यामवर्णीले सोध्यो, 'एनी ल्याप डान्स, टेबुल डान्स सो .... .? '

ट्रफालगर स्क्वायरः १०:२५

तमाम बाधा-अवरोधलाई पन्छाएर एकैपटक च्यारिङ क्रस स्टेसन हुँदै ट्रफालगर स्क्वायर आइपुग्न मैले निकै समय लगाएँ । म रिभर थेम्सतिर निस्कन सकिन्छ कि भन्ने प्रयासमा थिएँ तर पुलिसले सबैतिर बाटो रोकेको थियो । यतापट्टि त मान्छेहरूको ठूलो जुलुस नै थियो । आन्दोलनमा हिँडेको पुराना यादहरूको झल्को दिलाउने मान्छेहरू यो भीडछेउ सडकमा सुत्ने होमलेसहरू मैले यति धेरै देखेँ कि त्यति त मैले काठमाडौंका सडकमा पनि देखेको थिइनँ ।
यतापट्टि मानिसहरूको एउटा नदी सिधै बकिंघहम प्यालेसको दिशातिर बगिरहेको थियो भने ट्रफालगर स्क्वायरवरिपरि असरल्ल छरिएकाको संख्या त्योभन्दा बढी थियो । मलाई यो ठाउँ हाम्रो रत्नपार्क र खुल्ला मञ्चजस्तै लाग्छ । यहाँ आयोजना गरिने खुल्ला कार्यक्रमहरू एकाध मैले पनि हेरेको छु ।

एक सय ६९ फिट अग्लो नेल्सन्स कोलमन उत्तिकै गर्वपूर्वक ठडिएकै थिए । अर्कोपट्टि नर्वेदेखि हरेक वर्ष ल्याइने क्रिसमस ट्री बत्तीले झकिझकाउ थियो । पानीका फोहोरा बन्द गरिएका थिए । मानिसहरू स्क्वायरभित्र, बाहिर, पेटीमा र अजंगका सिंहहरूमाथि जताततै थिए, खाली पानीभित्र र अग्ला स्तम्भ र सालिकहरूमा चढ्न भ्याएका थिएनन् । अघिपछिको जस्तो सडक प्रतिभाहरू आज त्यहाँ देखिँदैनथे, शायद रोकिएको थियो ।

म नेसनल आर्ट ग्यालरीतिर उक्लिएँ, त्यहाँ पनि भीड जम्मा भइसकेको थियो । म ग्यालरीको ठीक अघिल्तिर केहीबेर आडा लागेर उभिएँ र आरामसाथ मानवसागर हेर्न थालेँ । मेरो छेउमा थियो एउटा लामघारे युवक जो आफ्नी मायालुलाई काँधमाथि बोकेर उभिइरहेको थियो । उसकी मायालुको हातमा बड्वाइजर बियरको क्यान थियो, ऊ पालैपालो आफू र युवकलाई पिलाइरहेकी थिई ।

बोकेदाह्री रबरले बाँधेको एउटा खाइलाग्दो गोरे अघिदेखि लड्खडाउँदै ग्यालरीको पेटीमा उक्लिने प्रयास गरिरहेको थियो । यतिको जाडोमा पनि ऊ हाफ टिसर्टमा थियो जसले गर्दा उसको मोटो पाखुरामा हानिएको ठूलो माकुरेजाल टाटु प्रस्टै देखिन्थ्यो । स्क्वायरमा झर्ने सिँढीको छेउमा पर्खालको आड लागेर उभिइरहेको युरोपियनको हुल अघिदेखि नै हल्ला गरिरहेका थिए । उनीहरू घरि खित्किरहेका थिए, घरि ठूल्ठूलो आवाज निकालेर चिच्याइरहेका थिए । गोरेलाई उनीहरूको तरिका मन परिरहेको थिएन सायद, फोहोर गाली दिँदै करायो. '... जिप्सी... ।'

यसको प्रत्युत्तर दिएको हो अथवा अघिदेखि यही कुरा गर्दै थिए थाहा भएन तर, त्यो समूहबाट धोत्रो आवाज आयो 'बे्रक्जिट गो टु हेल .... ...।'

गोरे माते पनि चनाखै रहेछ फेरि बड्बडायो 'यु सच अ ग्रिट..... ...।' तर, उनीहरू मोटेको वास्तै नगरी अर्कोतिर लागे । मान्छेले राजनीति त जहाँ जस्तोसुकै अवस्थामा पनि गर्नेरहेछ खालि तरिका फरक ।

बकिंघम प्यालेसः ११:००

प्यालेस अगाडि त्यति भीड थिएन । यहाँबाट आतिशबाजी अलिक राम्रोसित देखिने सम्भावना थियो । टिकट हुनेहरू त आतिशबाजी हुने ठाउँ लन्डन आइतिरै गइहाले, नहुनेहरूलाई यो ठाउँ पनि ठीकै थियो । बकिंघम प्यालेस अगाडिको रानी भिक्टोरिया मेमोरियल भने पूरै भरिभराउ थियो, अलिक अग्लो ठाउँ भएकाले होला कब्जा भइसकेको थियो । अत्यन्तै कलात्मक त्यहाँका अनेक सालिक र मूर्तिहरूमाथि सक्ने जति ठाउँमासमेत मान्छे चढेका थिए ।

मानिसहरू यति आनन्दले एकै ठाउँ उभिएर यसरी सहनशीलता र उत्साहका साथ प्रतीक्षारत थिए मानौं अब त्यहाँ कुनै अद्भुत दृश्य देख्न पाइनेछ । त्यहाँबाट ग्रिनपार्क ट्रेन स्टेसनतिर निस्किएर घर फर्कने सोच बनाएको मलाई पनि कुन्नि के सम्मोहन जाग्यो, त्यही भीडमा उभिन पुगेँ लन्डन आई र बिग वेन सकेसम्म राम्ररी देखिने बिन्दु पत्ता लगाएर अलिक कम भीड भएको ठाउँमा । अठोट नै गरेपछि अबको एक घन्टा यहीँ, एकै ठाउँमा उभिनुपथ्र्यो । ममा त्यति ठूलो धैर्य त थिएन तर अरूको प्रतिबद्धता देखेर बेकारको उत्साह पलाइरहेको थियो ।

ट्रफालगर स्क्वायरको भन्दा यहाँको वातावरण बिल्कुलै फरक थियो । उताको जस्तो आवेग, उत्तेजना अनि होहल्ला यता केही थिएन । अचम्मलाग्दो... ...जति पनि स्ट्रिट र चोकहरूमा म आज पुगेँ ती सबैतिरको भन्दा शान्ति र अनुशासन यहाँ छ । रुघाखोकीले सताइएकी भनिएकी बूढी महारानीलाई डिस्टर्ब हुन्छ भनेर पो हो कि... हाँसोउठ्दो तर्क जन्मियो मनमा ।

अलिक पर कुनै स्पेनिस गीत गाइरहेका युवतीहरूको मधुरो आवाज सुनियो । गीतको अर्थ के थियो कुन्नि तर त्यसको लय र स्वरमा कर्णप्रिय थियो । मेरो सीधा अघिल्तिर दुईटी केटी आलिंगनमग्न भएर रातो रङको बोतलमा केही पिइरहेका थिए । तिनीहरूको ठीक अघिल्तिर अग्लो न अग्लो मान्छे बारमा टाँसिएकी आइमाईलाई अँगालोमा बेरेर उभिएको थियो जसको शरीरले पछिल्तिर रहेका हामीलाई बिगबेन र लन्डन आइ दुवै देख्नबाट बञ्चित गराइदिन्थ्यो, ऊ आफ्नी मायालुलाई माया गर्न झुकेका बेलामा मात्रै हामीले त्यसलाई देख्ने सुअवसर पाउँथ्यौं ।

अनि मेरो दाहिनेपट्टि उभिएका थिए एकजोडी । तिनीहरू चाहिँ कहिल्यै छुट्टिनुपर्दैन जसरी लेपासिएका थिए । चस्मा लगाएकी त्यो केटी आफ्नो प्रेमीलाई बारम्बार म्वाइँ खाइरहेकी छे, के थाहा आजको चुम्बन र आलिंगन नै यिनीहरूको अन्तिम पनि हुनसक्छ । भोलिदेखि आफ्नो आफ्नो अलग बाटो लाग्न पनि सक्छन् आखिर भर्चुअल प्रेमको जमाना जो छ ।

र, मेरो देब्रेतर्फ उभिरहेको छ काटिकुटी बिल्सन चर्चिलजस्तै एउटा बूढो । अनुहारमात्रै होइन उसको पहिरन पनि चर्चिलकै जस्तो छ । खालि सिगार च्यापेको छैन । बारम्बार गइरहेछन् मेरा आँखा ऊतिर । ऊ पनि मजस्तै एक्लै छ । ऊ अघिदेखि आफ्ना हात ओभरकोटको पकेटमा राखेर स्थिर उभिइरहेको छ । ऊ यति शान्त छ कि उसको अनुहारको भाव समेत स्थिर छ । उसको अघिल्तिर पनि पछाडि रुकस्याक बोकेको एउटा केटो छ, ऊ भने बारम्बार हल्लिरहेको छ । ऊ निकै मातेको छ र बेसुरोसित एउटै गीत दोहोर्‍याइरहेछ- 'लेट्स आवर मनिङ टु वि ब्राइटर, लेट आवर थट्स बि ह्याप्पीयर, लेट्स आवर डिम्स बि बिगर....ह्याप्पी न्यु इयर ।'

त्यो केटो आफ्नो हाउभाउले वरपर सबैलाई हँसाइरहेछ, तर उसले त्यो पत्तै पाएको छैन । गिन्ती सुरु हुन्छ । बिग बेनको घन्टी बज्छ । लन्डन आई माथितिरको नीलो तन्दामाथि सेतो कपास लुछेर छरिबरी भएको आकाशमा झल्भकझुलुक र चट्याकचुटुक आवाजसँगै प्रकाशका गुच्छाहरू माथितिर फ्याँकिदैछन् । तलबाट कसरी आयो हामी बसेको ठाउँबाट देखिँदैन, खालि माथि आकाशमा पुगेर छरिएपछि मात्रै हाम्रा आँखाले समेट्छन् ।

उसमाथि अगाडि उभिएको त्यो अग्लो मान्छे झुकेको बेलामात्रै हामी देख्न सक्छौं । तैपनि मानिसका मोबाइल र क्यामेरा सोझिएका छन् । बेलाबेलामा उल्लासका आवाज गुञ्जिँदैछन् । तिर्मिराच्छित छरिएको प्रकाश देख्दा मलाई कहिले गहुँका पहेँलपुर बाला बयेली खेलेजस्तो, कहिले सेतै भएको काँसघारीमा कसैले रंग छरिदिएजस्तो, कहिले सैलुङको गुराँसे पाखालाई टाढैबाट नियालेर हेरेजस्तो उज्यालो अनुभूति हुन्छ । अकस्मात् आकाश नै पूरै प्रज्वलित हुने गरेर रंगीबिरंगी धर्साहरू कोरिन्छन् । अनि मानिसहरू चिच्याउन थाल्छन्- ह्याप्पी न्यु इयर ।

अगाडिको लामघारेसँगैको छोटो मान्छेले स्याम्पेनको बोतल खोल्छ जसको फोहोरा सडकबत्तीको प्रकाश परेर इन्द्रेणी बन्दछ । मौका पर्खिएजसरी जोडीहरू चुम्माचाम्मीमा व्यस्त हुन्छन् । गायक केटो एक्लै कराइरहेको छ । चर्चिल बूढोलाई शुभकामना दिऊँ भनेको कतिखेर हिँडिसकेछ ।

फर्कंदा सडकमा असरल्ल फ्याँकिएका बियर र रक्सीका बोतल, ग्लास र टिनहरू र टेक वे कन्टेनरबाट जोगिएर हिँड्न मुस्किल-मुस्किल थियो । अलिक परतिर त मान्छेले गरेका बमिटबाट पनि जोगिँदै जानुपर्ने भयो ।

मान्छेहरूको अथाह जुलुस र पुलिसबाट छेलिँदै टेलिफोन बुथभित्र छिरेर अथवा पर्खाल कुनातिर मूत्र बिसर्जन गर्ने श्रीमान्हरू पनि प्रशस्तै भेटिइरहेका थिए । आधाभन्दा बढी मान्छेहरू खुट्टा सजिलै नटेक्ने भइसकेका थिए । सिंगो हावामा बियरको बास आइरहेको थियो । कतै-कतै पुलिसहरू हुल्याहाहरूलाई लखेट्दै, समातेर ङ्याक्दै गरिरहेको देखिन्थ्यो । यो भर्खर सुरुवात हो, थाहा छैन बिहानसम्ममा यो सडकको दुर्गति के भइसक्नेछ ! सायद यही पो हो कि न्यु इयर इभको रियल सौन्दर्य, अघिको त सबै भर्चुअल हो कि ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.