'शुद्ध मानवतावादी' कविताको तर्क
'मैले मेरै बाको अनुहार कुँदेको हँ ढुंगामा
र पठाएको हँ तिम्रो मन्दिरभित्र
तिमीले वर्षौंदेखि महादेव मानेरै पुजिरह्यौ...'
-केवल बिनाबी, 'यादहरूको संग्रहालय'
८३औं भूपि स्मृति दिवसको सन्दर्भ पारेर चितवन, प्रलेसले टिकटमा कवि केवल बिनाबीको एकल कवितावाचन समारोह आयोजना गर्यो । टिकटको बिक्री उल्लेख्य भए पनि उपस्थित हुनेचाहिँ कवि, लेखक, साहित्यिकहरू नै थिए । सहभागीहरू सोध्थे, 'हैन यो बिनाबी भनेको के थर रच ? ' जब उनले कविता सुनाउन थाले, उनका कविताले नै एकएक गर्दै यो प्रश्नको जवाफ दिन थाले । उनले सुनाएका अधिकांश कविताको स्वर थियो— सामाजिक र सांस्कृतिक विभेदका जराहरूको उत्खनन । कवितामा प्रस्टै देखिन्थ्यो नेपाली समाजमा जराजरा पक्रिएर बसेको विभेदकारी वर्णव्यवस्थामाथिको विद्रोह । सांस्कृतिक घर्षणको मुखर प्रतिविम्बन र सौन्दर्यका मिथकहरूको नयाँ चिरफार । शुद्र सम्बुक, छोइडुम, कन्यादान, म अछूतै सही, यादहरूको संग्रहालयलगायत १२ वटा कविता सुनाएर मञ्चबाट उठिसक्दा उनले श्रोतागणलाई चकमन्न, सनन्न बनाएर छोडिदिएका थिए ।
त्यसपछि सुनिन थाले प्रतिक्रिया । दर्शक सहभागीमध्ये केहीले बडो रोषको भावमा भने, 'कविता त लेख तर बदला नलेख । उहिल्यै मेरा पुर्खाले गरेको तिम्रा पुर्खाको अपमानको बदला पोखिएको कविता सहिष्णु भएर सुन्न हामी बाध्य छैनौं ।' त्यहाँ कविलाई 'शुद्ध' मानवतावादी बनेर लेख्न सुझाइयो । जातीयताको घेराबाट निस्केर 'साझा' भावमा सोच्न आग्रह गरियो । अनुमान गरिए जसरी नै उनका कविताको क्षमता र तिनले वहन गरेको बहसको प्राथमिक थालनी बिन्दु यही थियो ।
सांस्कृतिक स्थानमानको पिँधका मानिसहरूले बोलेको दमित र भाग्यवादी रोदनको ध्वनि सुन्दा सहानुभूतिशील हुने तर आक्रोश, आवेग र आन्दोलनको ध्वनि एकै मिनेट सुन्न नसक्ने प्रवृत्ति प्रगतिशील तप्कामै पनि खाँदीखाँदी भरिएको छ । 'तिमीले पुज्ने ईश्वरको मूर्तिमा मेरा बाउको आकृति खिपेको हुँ' भन्ने कविको विद्रोही गर्जन चुपचाप ग्राह्य हुनेछ भन्ने अपेक्षा थिएन पनि ।
समाज धेरै विचार, धेरै धारणामा बाँडिएर बाँचेको छ । यो धेरैपनको टकराव व्यवस्थित हँदा बहस हुन्छ । अव्यवस्थित हुँदा लडाइँ । निश्चय नै अधिकांश मानिस संस्थापनाकै पछाडि हिँड्न रुचाउँछन् किनभने यो बाटोमा त्यस्तो उल्लेख्य जोखिम छैन । त्यसैमाथि, यही बाटोमा उनीहरूका पूर्वनिर्धारित सहुलियत, अधिकार र प्रतिष्ठा पनि छन् भने स्वाभाविक रूपले गलत बाटो पनि सही नै ठहरिन्छ । उनीहरूका आँखाबाट हेर्दा समाजमा भएगरेका आजसम्मका धेरै कुरा ठ्याक्क मिलिरहेको देखिन्छ ।
पछिल्ला नयाँ चेतना र प्रस्तावनाहरू 'मिलेर बसेको' समाज भाँड्ने 'नन्सेन्स' फेसनजस्तो लाग्छ । केही समयअगाडि दिल्ली जाँदा भेटिएका मेरा एक आफन्तले यही प्रसंगमा भनेका थिए, 'कति मिलेर बसेको समाज २०६३ पछि पूरै छिन्नभिन्न भयो । किन चाहियो जाति र समुदायको कुरा ? आफ्नो आफ्नो गरिखान पाए भइहाल्यो नि !' 'एम्स हस्पिटल'को छात्रावासमा बस्ने यी डाक्टरसा'ब सँग मैले कुनै बहस गरिनँ । एक दिन पाहुना भएर जाँदा पनि के आफन्त चिढ्याएर फर्कूं भन्ने लाग्यो । अल्पसंख्यकको सांस्कृतिक अस्मिताको बहस हुनासाथ आफ्नो भाग खोस्न खोजिएको ठान्ने मानसिकता बहुसंख्यकमा छ ।
तपाईंको दृष्टिकोण प्र्रायः तपाईंको सांस्कृतिक 'स्टाटस'ले निर्धारण गर्ने हो । यद्यपि विवेकका अन्तिम ढोकाहरू खुला राखुन्जेल, घटना र सन्दर्भहरूलाई वैज्ञानिक, उदारवादी ढंगले हेर्ने चेष्टा गरुन्जेल तपाईंको सांस्कृतिक स्थिति गौण भएर जान्छ । तर तपाईं आफ्नो वरिपरिका घटना र धारणाहरूलाई विवेकसम्मत ढंगले हेर्न तयारै हुनुहुन्न र आफ्ना मनोगत ठम्याइको परीक्षण नै नगरी बस्नुभएको छ भने तपाईं जतिसुकै चतुर शब्दबाज भए पनि वा जतिसुकै घुमाइफिराई बोले पनि तिनको भाव उही हो । तपाईं र कुनै रूढ संस्थापनपक्षीय व्यक्तिमा तात्त्विक भिन्नता छैन ।
बिनाबीको कविता वाचनपछि प्रकट टिप्पणीहरूबाट मलाई यही अनुभूति भयो ।
पछिल्ला दिनहरूमा दलन र दमनको प्रतिरोधमा निस्केका आवाजलाई 'लाउड' भनेर ठप्पा लगाइदिने र कवितामा 'शुद्ध' विचारमात्रै हुनुपर्ने तर्कको भोल्युमलाई यसैसँग गाँसेर हेर्न मिल्छ । नारीमाथिका सौन्दर्यमिथ र यौनिक मिथहरूको व्याख्याको प्रसंगमा होस् या इतिहासमा गुमाउनेमात्रै वर्ग र कोटीमा बाँचेका समुदायको इतिहासमाथि प्रश्न गर्ने अधिकारका विषयमा होस् कवितालाई 'शुद्ध' र राजनीतिमुक्त बनाउनुपर्ने आग्रह उपेक्षितहरूको स्वरले कविताको केन्द्रीय स्वर बन्न खोजिरहेको चेष्टामाथि गरिएका निशेधका प्रयत्न नै हुन् ।
कवितामा महिला, जनजाति, दलित र किनारीकृतहरू वैयक्तिक स्तरमा त आऊन् तर तिनले जीवन र समाजको द्वन्द्वसँग जोडिएका तथ्यहरूभित्र पस्ने 'धृष्टता' नगरून् ! यो आग्रह अर्को प्रकारले भन्दा 'भद्र' कवितागिरीको त्यस्तो अपिल हो जहाँ विचार सकिन्छन् र केवल आवेगहरू बाँकी रहन्छन् । कविका सूक्ष्म मनोदशाहरू, उसको मनका भिन्नभिन्न तह र भावहरू पनि कविता त हुन् तर कविले यति चीजमात्र लेखेर शब्दको बिलास गरिरहोस् भन्ने अपेक्षा राख्नु कविताको सार्वभौमिक सत्व र शक्तिमाथि उपहास गर्नु होइन ?
लेखनले ओढ्ने भाषाको आवरणमा कलाका विविध रङ र शैली हुन सक्छन् तर यसको गुदी अन्ततः राजनीतिक हुन्छ । यो यथार्थ म बारम्बार भनिरहन्छु । बारम्बार लेखिरहन्छु । कसैले बुझपचाए पनि वा अस्वीकार नै गरे पनि लेखन परोक्ष रूपले राजनीतिक कर्म नै हो । लेखनमा लेख्नुमात्र होइन नलेख्नु पनि राजनीति हो । बोल्नुमात्र होइन मौन बस्नु या विषयान्तर हुनु पनि राजनीति हो ।
लेखक देवेन्द्र इस्सर आफ्नो पुस्तक 'साहित्य र स्वतन्त्रता'मा लेखनलाई एक खतरनाक प्रक्रिया भन्छन् । किनभने साहित्य सिर्जनको प्रक्रिया मानिसको मुक्ति र गरिमास्थापन गर्ने प्रक्रिया पनि हो । लेखन यथार्थको कलात्मक पुनरुत्पादन हो भने मानिसको सामाजिक र सांस्कृतिक जीवनका परिघटना र उसले देखेका क्रूरभन्दा क्रूर तथ्यहरूको अभिव्यक्तिमा जब लेखक खतरा मोल्न तयार हुन्छ तब मात्र समाजका, समयका 'अनसिन' सत्यहरू प्रकट हुन्छन् । बोल्नुमा खतरा छ ।
नबोल्नु या बोलेर पनि विषयान्तर हुनु 'सेफ जोन'मा हिँड्नु त हो तर यहाँ शब्द र सत्यबीच ठूलो खाल्डो रहिरहन्छ । लेखकको काम भ्रमहरूको उत्पादन गर्नु होइन सत्यको नजिक पुग्ने चेष्टा गर्नु हो । यस्तो खाल्डो बन्नु लेखक र पाठक सबैका लागि दुर्घटनाको कारक हो ।
लेखकले अभिव्यक्तिको खतरा बेसाउँछ र पो समयको न्यारेसनमा नयाँ पाठ थपिन्छ । यस्तो खतरासँगै दुःख त जोडिएरै आउँछन् । केवल बिनाबीहरूले पनि एक प्रकारको दुःख र चुनौती बेसाए । खस नेपाली भाषाको हेजेमोनीले नेपाली साहित्यको मौलिक चित्र कमजोर भएको भन्दै साहित्यमा खस प्रभुत्वको विरोध गरे । उनीहरूले जातीय र सीमित वैचारिक घेराको कवितालाई प्रवद्र्धन गरेको आरोप पनि खाए । पछिल्लो वर्षदिनमा काठमाडौंका चोकचोकमा आफूलाई 'उन्मुक्त पुस्ता' नामकरण गरेको यो आन्दोलनकारी कवि पिँढीले हस्तक्षेप गर्दै बोल्यो, 'नेपाली समाजको चरित्र सामन्तवादी हो र मूलधारको नेपाली साहित्य त्यसकै निरन्तरता ।'
यिनीहरूले आफूलाई समाजमा गएर समाजकै लागि लेख्ने मतको पक्षधर भनेनन् मात्र । गरेरै देखाए । यिनीहरूले कविताको आन्दोलन परम्परालाई देशको राजनीतिक र सांस्कृतिक कोर्ससँग एकैसाथ जोडे । यो नयाँ आन्दोलन थियो । ४२ दिनसम्म लगातार रातभरि दलित, मधेसी, महिला र उत्पीडित समुदायका आवाज बोल्ने कविताका पोस्टर टाँस्दै र दिनभर सडक छेउमा कविता गोष्ठीहरू गर्दै हिँड्दा यिनीहरू साँच्चिकै आन्दोलनकारी देखिए । यो पिँढीका एकजना सक्रिय सहकर्मी हुन् कवि बिनाबी । खासगरी दलित चेतना र मुक्तिको स्वरलाई ध्वनि दिने कविका रूपमा आन्दोलनको रापसँगै स्थापित भएका कवि । यही रापले यिनलाई कवितावाचनका लागि चितवन ल्याइपुर्यायो ।
प्रश्न थाती नै छ - के कविले पुर्खौंदेखिको बदलाको भावले मात्र लेखे होलान् माथिका पंक्ति ? कवि 'रिभेन्ज'को मुडमा छन् ? सामान्य समझको एक सामान्य श्र्रोता र पाठकभन्दा माथि उठेको सचेत पाठकले पनि यस्तो ठान्न सक्दो रहेछ ! केही समयअघि पढेको 'सत्ता विमर्श र दलित' किताब झल्झली सम्झिएँ । हिन्दु वर्णव्यवस्थाले रचेको यो सामाजिक कलंकलाई विशिष्टीकरण गरेर बुझ्ने प्रश्नमा बौद्धिक वर्ग नै अनुदार भएको प्रसंगलाई मैले सामान्य रूपमा लिन सकिनँ ।
हो, कवितालाई सामाजिक सरोकारसँग गाँस्नेबित्तिकै त्यहाँ भिन्न मतहरू आएर ठोक्किइहाल्छन् । यसलाई स्वाभाविक रूपमै लिनुपर्छ । त्यसमा पनि आन्दोलनका कविताको उत्ताप अरू कविताको भन्दा भिन्दै हुन्छ । यिनको स्वाद र सम्प्रेषण कस्मेटिक हुँदैन । न यिनमा गललल्ल हाँस्ने 'ह्युमर आइटम' नै हुन्छन् । यिनमा शब्दका केही 'स्टन्टहरू' हुन सक्छन् र तिनैका आधारमा पनि यी बढी आरोपित हुने गर्छन् । यिनमा संवेदना उमार्ने वा जुरुक्क पार्ने तागत त हुन्छ तर यी समान रूपले सर्वग्राह्य हँदैनन् । झन् कवितालाई एक 'शुद्ध कला' मान्नेहरूका लागि त यस्ता कविता 'कलाको परम्परित सौन्दर्य मिथमाथिका आक्रमण' नै हुन् ।
कविको अर्को एउटा कविताको उद्धरण पेस गर्छु
'वर्षौंपश्चात् आज
खुब याद आइरहेछ बाको
र उभिएको छु त्यही कठघरामा
प्रश्न सोधिरहिछिन् अबोध छोरी
बाबा, किन 'सियो खोइ सियो' कविता पढ्दै गर्दा
पुलुक्क मैतिर हेर्छन् साथीहरू ? '
(छोइडुम)
एउटा सुन्दर शब्द छ— मानवतावाद, जसको परिभाषा वक्ताको जिब्रो र नियतअनुसार फरकफरक सुन्न सकिन्छ । उद्धृत कविताले खोजेको पनि सार्वभौम, बिनाअवरोध मानिस हुन पाउन अधिकारको प्रत्याभूति नै हो । एउटा निश्चित समुदायमा जन्मनासाथ उसलाई मानिस बन्न र मानिस भनिन रोक्ने व्यवस्थासँगको संघर्षलाई के तपाईं जातीय मार्का लगाइदिएर उपेक्षा गर्न सक्नुहुन्छ ? 'ह्युमनिस्ट' बन्ने र साझा मानवतामाथि प्रेम गर्ने ठाउँसम्म आइपुग्न पहिले मान्छे बनिनु जरुरी छैन र ? मान्छे बन्न अवरोध गर्ने पद्धति, रीतिथिति र परिवेशविरुद्ध लड्न जरुरी छैन र ?
कवि भाषाको जादुगरमात्र होइन गतिशील यथार्थको कथयिता पनि हो । कवि शब्दको कालीगढमात्र होइन एक समाजशास्त्री र विवेचक पनि हो । बरु आवश्यक पर्दा कवि एक अभियन्ता वा 'एक्टिभिस्ट' हुनसक्छ तर जीवनहीन शब्दहरू खिपेर बस्न सक्दैन । यो मेरो मान्यता हो । कवितामा भाषाको जादु गर्न सक्नु असाध्यै राम्रो हो तर यथार्थलाई उपेक्षा गरेर लेखेको बुट्टादार कविताको मूल्य कति होला, कहाँसम्म होला ? आफ्नो दृष्टि र बोधबाट उछिट्टिएर, आफ्नै इतिहास र वर्तमानबाट कटेर कुनै पनि कविले प्रभावशाली कलाको रचना गर्नसक्छ भन्ने मलाई लाग्दैन ।
यसरी ऊ कुनै सत्यको नजिक पुग्न सक्छ भन्ने पनि लाग्दैन । माथिका पंक्ति मानिसको गरिमा र मूल्यको छाला काढ्ने गरी हानिएका सांस्कृतिक कोर्राहरूको प्रतिकारमा निस्केका उच्छवास होइनन् र ? कविले पुस्ता दरपुस्ता भोगेको विभेदको घाउलाई जातीय लेबल लगाइदिएर त्यसलाई 'शुद्ध मानवतावाद' र 'साझा जातीयता'को कसीमा जाँच्न मिल्छ ?
अतीतमा गुमनाम सीमान्त मान्छेका अभिव्यक्तिहरूले पछिल्लो दशकभरिमा समकालीन कविताको स्पेस 'अकुपाई' गर्न खोजिरहेको बेला एउटा द्वन्द्व र रस्साकस्सी कविताको बहसमा स्पष्ट गोचर हुन्छ । इतिहासको पुनव्र्याख्या गरेर पहिचान र आत्मसम्मानका लागि संघर्ष गर्ने एकथरी र जाति, क्षेत्र, लिंग र समुदायको पहिचानको स्वरले साझा मनुष्यतालाई खण्डित गराउँछ भन्ने अर्कोथरी । साझा जातीयता र सार्वभौम मनुष्यता हरेक मुक्तिप्रेमी लेखकको सपनाको अन्तिम किनारा हो ।
कवि नै त्यो स्वप्नदर्शी हो जसले मानिस-मानिसबीचका सबै सीमारेखाहरू मेटाउने कल्पना गर्न सक्छ । तर, मानवतावाद कुनै आलंकारिक पदावली होइन जुन भावको निरपेक्ष रटानले मानिसका अतीतदेखि आजसम्मका आत्मसंघर्ष, प्रताडना र प्रकोपलाई एकाएक साम्य पार्न सकोस् । उत्पीडक र उत्पीडित दुवैले भन्ने र खोज्ने मानवतावादको तर्क एउटै होइन । यसलाई सापेक्षिक आँखाले हेर्ने चेष्टा गर्नु र परिभाषित गर्नु जरुरी छ ।
बीसौं शताब्दीको अन्तिम दशकसम्म आइपुग्दा मानवतावाद संस्थापनका लागि आफ्ना आतंक, दमनचक्र र सत्ताप्रयोगको वैधताको अस्त्र भइरहेको हामीले देखेका छौं । संसारको सबैभन्दा अन्यायी र आतंककारी सत्तादेखि सबैभन्दा भ्रष्ट न्यायालयसम्मले हजारौंपल्ट दोहोर्याउँदा यो शब्दको अधिकतम दुरुपयोग भएको छ । यसको खास अर्थ के हो ? यसको अर्थ कहाँकहाँ अपहृत भएको छ ? पहिले खोजौं ।
'साझा जातीयता'को पाठ पनि जातीय राजनीतिको पक्षपाती राज्यलाई पहिले राम्ररी पढाइयोस् । त्यसको सिकार भएर प्रतिरोधमा कविता लेख्ने निहत्था कविचाहिँ जातीय हुने राज्य र सामाजिक व्यवस्थाचाहिँ जातीय नहुने हुन्छ र ?