'शुद्ध मानवतावादी' कविताको तर्क

'शुद्ध मानवतावादी' कविताको तर्क

'मैले मेरै बाको अनुहार कुँदेको हँ ढुंगामा
र पठाएको हँ तिम्रो मन्दिरभित्र
तिमीले वर्षौंदेखि महादेव मानेरै पुजिरह्यौ...'
-केवल बिनाबी, 'यादहरूको संग्रहालय'
८३औं भूपि स्मृति दिवसको सन्दर्भ पारेर चितवन, प्रलेसले टिकटमा कवि केवल बिनाबीको एकल कवितावाचन समारोह आयोजना गर्‍यो । टिकटको बिक्री उल्लेख्य भए पनि उपस्थित हुनेचाहिँ कवि, लेखक, साहित्यिकहरू नै थिए । सहभागीहरू सोध्थे, 'हैन यो बिनाबी भनेको के थर रच ? ' जब उनले कविता सुनाउन थाले, उनका कविताले नै एकएक गर्दै यो प्रश्नको जवाफ दिन थाले । उनले सुनाएका अधिकांश कविताको स्वर थियो— सामाजिक र सांस्कृतिक विभेदका जराहरूको उत्खनन । कवितामा प्रस्टै देखिन्थ्यो नेपाली समाजमा जराजरा पक्रिएर बसेको विभेदकारी वर्णव्यवस्थामाथिको विद्रोह । सांस्कृतिक घर्षणको मुखर प्रतिविम्बन र सौन्दर्यका मिथकहरूको नयाँ चिरफार । शुद्र सम्बुक, छोइडुम, कन्यादान, म अछूतै सही, यादहरूको संग्रहालयलगायत १२ वटा कविता सुनाएर मञ्चबाट उठिसक्दा उनले श्रोतागणलाई चकमन्न, सनन्न बनाएर छोडिदिएका थिए ।

त्यसपछि सुनिन थाले प्रतिक्रिया । दर्शक सहभागीमध्ये केहीले बडो रोषको भावमा भने, 'कविता त लेख तर बदला नलेख । उहिल्यै मेरा पुर्खाले गरेको तिम्रा पुर्खाको अपमानको बदला पोखिएको कविता सहिष्णु भएर सुन्न हामी बाध्य छैनौं ।' त्यहाँ कविलाई 'शुद्ध' मानवतावादी बनेर लेख्न सुझाइयो । जातीयताको घेराबाट निस्केर 'साझा' भावमा सोच्न आग्रह गरियो । अनुमान गरिए जसरी नै उनका कविताको क्षमता र तिनले वहन गरेको बहसको प्राथमिक थालनी बिन्दु यही थियो ।

सांस्कृतिक स्थानमानको पिँधका मानिसहरूले बोलेको दमित र भाग्यवादी रोदनको ध्वनि सुन्दा सहानुभूतिशील हुने तर आक्रोश, आवेग र आन्दोलनको ध्वनि एकै मिनेट सुन्न नसक्ने प्रवृत्ति प्रगतिशील तप्कामै पनि खाँदीखाँदी भरिएको छ । 'तिमीले पुज्ने ईश्वरको मूर्तिमा मेरा बाउको आकृति खिपेको हुँ' भन्ने कविको विद्रोही गर्जन चुपचाप ग्राह्य हुनेछ भन्ने अपेक्षा थिएन पनि ।

समाज धेरै विचार, धेरै धारणामा बाँडिएर बाँचेको छ । यो धेरैपनको टकराव व्यवस्थित हँदा बहस हुन्छ । अव्यवस्थित हुँदा लडाइँ । निश्चय नै अधिकांश मानिस संस्थापनाकै पछाडि हिँड्न रुचाउँछन् किनभने यो बाटोमा त्यस्तो उल्लेख्य जोखिम छैन । त्यसैमाथि, यही बाटोमा उनीहरूका पूर्वनिर्धारित सहुलियत, अधिकार र प्रतिष्ठा पनि छन् भने स्वाभाविक रूपले गलत बाटो पनि सही नै ठहरिन्छ । उनीहरूका आँखाबाट हेर्दा समाजमा भएगरेका आजसम्मका धेरै कुरा ठ्याक्क मिलिरहेको देखिन्छ ।

पछिल्ला नयाँ चेतना र प्रस्तावनाहरू 'मिलेर बसेको' समाज भाँड्ने 'नन्सेन्स' फेसनजस्तो लाग्छ । केही समयअगाडि दिल्ली जाँदा भेटिएका मेरा एक आफन्तले यही प्रसंगमा भनेका थिए, 'कति मिलेर बसेको समाज २०६३ पछि पूरै छिन्नभिन्न भयो । किन चाहियो जाति र समुदायको कुरा ? आफ्नो आफ्नो गरिखान पाए भइहाल्यो नि !' 'एम्स हस्पिटल'को छात्रावासमा बस्ने यी डाक्टरसा'ब सँग मैले कुनै बहस गरिनँ । एक दिन पाहुना भएर जाँदा पनि के आफन्त चिढ्याएर फर्कूं भन्ने लाग्यो । अल्पसंख्यकको सांस्कृतिक अस्मिताको बहस हुनासाथ आफ्नो भाग खोस्न खोजिएको ठान्ने मानसिकता बहुसंख्यकमा छ ।

तपाईंको दृष्टिकोण प्र्रायः तपाईंको सांस्कृतिक 'स्टाटस'ले निर्धारण गर्ने हो । यद्यपि विवेकका अन्तिम ढोकाहरू खुला राखुन्जेल, घटना र सन्दर्भहरूलाई वैज्ञानिक, उदारवादी ढंगले हेर्ने चेष्टा गरुन्जेल तपाईंको सांस्कृतिक स्थिति गौण भएर जान्छ । तर तपाईं आफ्नो वरिपरिका घटना र धारणाहरूलाई विवेकसम्मत ढंगले हेर्न तयारै हुनुहुन्न र आफ्ना मनोगत ठम्याइको परीक्षण नै नगरी बस्नुभएको छ भने तपाईं जतिसुकै चतुर शब्दबाज भए पनि वा जतिसुकै घुमाइफिराई बोले पनि तिनको भाव उही हो । तपाईं र कुनै रूढ संस्थापनपक्षीय व्यक्तिमा तात्त्विक भिन्नता छैन ।
बिनाबीको कविता वाचनपछि प्रकट टिप्पणीहरूबाट मलाई यही अनुभूति भयो ।

पछिल्ला दिनहरूमा दलन र दमनको प्रतिरोधमा निस्केका आवाजलाई 'लाउड' भनेर ठप्पा लगाइदिने र कवितामा 'शुद्ध' विचारमात्रै हुनुपर्ने तर्कको भोल्युमलाई यसैसँग गाँसेर हेर्न मिल्छ । नारीमाथिका सौन्दर्यमिथ र यौनिक मिथहरूको व्याख्याको प्रसंगमा होस् या इतिहासमा गुमाउनेमात्रै वर्ग र कोटीमा बाँचेका समुदायको इतिहासमाथि प्रश्न गर्ने अधिकारका विषयमा होस् कवितालाई 'शुद्ध' र राजनीतिमुक्त बनाउनुपर्ने आग्रह उपेक्षितहरूको स्वरले कविताको केन्द्रीय स्वर बन्न खोजिरहेको चेष्टामाथि गरिएका निशेधका प्रयत्न नै हुन् ।

कवितामा महिला, जनजाति, दलित र किनारीकृतहरू वैयक्तिक स्तरमा त आऊन् तर तिनले जीवन र समाजको द्वन्द्वसँग जोडिएका तथ्यहरूभित्र पस्ने 'धृष्टता' नगरून् ! यो आग्रह अर्को प्रकारले भन्दा 'भद्र' कवितागिरीको त्यस्तो अपिल हो जहाँ विचार सकिन्छन् र केवल आवेगहरू बाँकी रहन्छन् । कविका सूक्ष्म मनोदशाहरू, उसको मनका भिन्नभिन्न तह र भावहरू पनि कविता त हुन् तर कविले यति चीजमात्र लेखेर शब्दको बिलास गरिरहोस् भन्ने अपेक्षा राख्नु कविताको सार्वभौमिक सत्व र शक्तिमाथि उपहास गर्नु होइन ?

लेखनले ओढ्ने भाषाको आवरणमा कलाका विविध रङ र शैली हुन सक्छन् तर यसको गुदी अन्ततः राजनीतिक हुन्छ । यो यथार्थ म बारम्बार भनिरहन्छु । बारम्बार लेखिरहन्छु । कसैले बुझपचाए पनि वा अस्वीकार नै गरे पनि लेखन परोक्ष रूपले राजनीतिक कर्म नै हो । लेखनमा लेख्नुमात्र होइन नलेख्नु पनि राजनीति हो । बोल्नुमात्र होइन मौन बस्नु या विषयान्तर हुनु पनि राजनीति हो ।

लेखक देवेन्द्र इस्सर आफ्नो पुस्तक 'साहित्य र स्वतन्त्रता'मा लेखनलाई एक खतरनाक प्रक्रिया भन्छन् । किनभने साहित्य सिर्जनको प्रक्रिया मानिसको मुक्ति र गरिमास्थापन गर्ने प्रक्रिया पनि हो । लेखन यथार्थको कलात्मक पुनरुत्पादन हो भने मानिसको सामाजिक र सांस्कृतिक जीवनका परिघटना र उसले देखेका क्रूरभन्दा क्रूर तथ्यहरूको अभिव्यक्तिमा जब लेखक खतरा मोल्न तयार हुन्छ तब मात्र समाजका, समयका 'अनसिन' सत्यहरू प्रकट हुन्छन् । बोल्नुमा खतरा छ ।

नबोल्नु या बोलेर पनि विषयान्तर हुनु 'सेफ जोन'मा हिँड्नु त हो तर यहाँ शब्द र सत्यबीच ठूलो खाल्डो रहिरहन्छ । लेखकको काम भ्रमहरूको उत्पादन गर्नु होइन सत्यको नजिक पुग्ने चेष्टा गर्नु हो । यस्तो खाल्डो बन्नु लेखक र पाठक सबैका लागि दुर्घटनाको कारक हो ।

लेखकले अभिव्यक्तिको खतरा बेसाउँछ र पो समयको न्यारेसनमा नयाँ पाठ थपिन्छ । यस्तो खतरासँगै दुःख त जोडिएरै आउँछन् । केवल बिनाबीहरूले पनि एक प्रकारको दुःख र चुनौती बेसाए । खस नेपाली भाषाको हेजेमोनीले नेपाली साहित्यको मौलिक चित्र कमजोर भएको भन्दै साहित्यमा खस प्रभुत्वको विरोध गरे । उनीहरूले जातीय र सीमित वैचारिक घेराको कवितालाई प्रवद्र्धन गरेको आरोप पनि खाए । पछिल्लो वर्षदिनमा काठमाडौंका चोकचोकमा आफूलाई 'उन्मुक्त पुस्ता' नामकरण गरेको यो आन्दोलनकारी कवि पिँढीले हस्तक्षेप गर्दै बोल्यो, 'नेपाली समाजको चरित्र सामन्तवादी हो र मूलधारको नेपाली साहित्य त्यसकै निरन्तरता ।'

यिनीहरूले आफूलाई समाजमा गएर समाजकै लागि लेख्ने मतको पक्षधर भनेनन् मात्र । गरेरै देखाए । यिनीहरूले कविताको आन्दोलन परम्परालाई देशको राजनीतिक र सांस्कृतिक कोर्ससँग एकैसाथ जोडे । यो नयाँ आन्दोलन थियो । ४२ दिनसम्म लगातार रातभरि दलित, मधेसी, महिला र उत्पीडित समुदायका आवाज बोल्ने कविताका पोस्टर टाँस्दै र दिनभर सडक छेउमा कविता गोष्ठीहरू गर्दै हिँड्दा यिनीहरू साँच्चिकै आन्दोलनकारी देखिए । यो पिँढीका एकजना सक्रिय सहकर्मी हुन् कवि बिनाबी । खासगरी दलित चेतना र मुक्तिको स्वरलाई ध्वनि दिने कविका रूपमा आन्दोलनको रापसँगै स्थापित भएका कवि । यही रापले यिनलाई कवितावाचनका लागि चितवन ल्याइपुर्‍यायो ।

प्रश्न थाती नै छ - के कविले पुर्खौंदेखिको बदलाको भावले मात्र लेखे होलान् माथिका पंक्ति ? कवि 'रिभेन्ज'को मुडमा छन् ? सामान्य समझको एक सामान्य श्र्रोता र पाठकभन्दा माथि उठेको सचेत पाठकले पनि यस्तो ठान्न सक्दो रहेछ ! केही समयअघि पढेको 'सत्ता विमर्श र दलित' किताब झल्झली सम्झिएँ । हिन्दु वर्णव्यवस्थाले रचेको यो सामाजिक कलंकलाई विशिष्टीकरण गरेर बुझ्ने प्रश्नमा बौद्धिक वर्ग नै अनुदार भएको प्रसंगलाई मैले सामान्य रूपमा लिन सकिनँ ।

हो, कवितालाई सामाजिक सरोकारसँग गाँस्नेबित्तिकै त्यहाँ भिन्न मतहरू आएर ठोक्किइहाल्छन् । यसलाई स्वाभाविक रूपमै लिनुपर्छ । त्यसमा पनि आन्दोलनका कविताको उत्ताप अरू कविताको भन्दा भिन्दै हुन्छ । यिनको स्वाद र सम्प्रेषण कस्मेटिक हुँदैन । न यिनमा गललल्ल हाँस्ने 'ह्युमर आइटम' नै हुन्छन् । यिनमा शब्दका केही 'स्टन्टहरू' हुन सक्छन् र तिनैका आधारमा पनि यी बढी आरोपित हुने गर्छन् । यिनमा संवेदना उमार्ने वा जुरुक्क पार्ने तागत त हुन्छ तर यी समान रूपले सर्वग्राह्य हँदैनन् । झन् कवितालाई एक 'शुद्ध कला' मान्नेहरूका लागि त यस्ता कविता 'कलाको परम्परित सौन्दर्य मिथमाथिका आक्रमण' नै हुन् ।

कविको अर्को एउटा कविताको उद्धरण पेस गर्छु

'वर्षौंपश्चात् आज
खुब याद आइरहेछ बाको
र उभिएको छु त्यही कठघरामा
प्रश्न सोधिरहिछिन् अबोध छोरी
बाबा, किन 'सियो खोइ सियो' कविता पढ्दै गर्दा
पुलुक्क मैतिर हेर्छन् साथीहरू ? '
(छोइडुम)

एउटा सुन्दर शब्द छ— मानवतावाद, जसको परिभाषा वक्ताको जिब्रो र नियतअनुसार फरकफरक सुन्न सकिन्छ । उद्धृत कविताले खोजेको पनि सार्वभौम, बिनाअवरोध मानिस हुन पाउन अधिकारको प्रत्याभूति नै हो । एउटा निश्चित समुदायमा जन्मनासाथ उसलाई मानिस बन्न र मानिस भनिन रोक्ने व्यवस्थासँगको संघर्षलाई के तपाईं जातीय मार्का लगाइदिएर उपेक्षा गर्न सक्नुहुन्छ ? 'ह्युमनिस्ट' बन्ने र साझा मानवतामाथि प्रेम गर्ने ठाउँसम्म आइपुग्न पहिले मान्छे बनिनु जरुरी छैन र ? मान्छे बन्न अवरोध गर्ने पद्धति, रीतिथिति र परिवेशविरुद्ध लड्न जरुरी छैन र ?
कवि भाषाको जादुगरमात्र होइन गतिशील यथार्थको कथयिता पनि हो । कवि शब्दको कालीगढमात्र होइन एक समाजशास्त्री र विवेचक पनि हो । बरु आवश्यक पर्दा कवि एक अभियन्ता वा 'एक्टिभिस्ट' हुनसक्छ तर जीवनहीन शब्दहरू खिपेर बस्न सक्दैन । यो मेरो मान्यता हो । कवितामा भाषाको जादु गर्न सक्नु असाध्यै राम्रो हो तर यथार्थलाई उपेक्षा गरेर लेखेको बुट्टादार कविताको मूल्य कति होला, कहाँसम्म होला ? आफ्नो दृष्टि र बोधबाट उछिट्टिएर, आफ्नै इतिहास र वर्तमानबाट कटेर कुनै पनि कविले प्रभावशाली कलाको रचना गर्नसक्छ भन्ने मलाई लाग्दैन ।

यसरी ऊ कुनै सत्यको नजिक पुग्न सक्छ भन्ने पनि लाग्दैन । माथिका पंक्ति मानिसको गरिमा र मूल्यको छाला काढ्ने गरी हानिएका सांस्कृतिक कोर्राहरूको प्रतिकारमा निस्केका उच्छवास होइनन् र ? कविले पुस्ता दरपुस्ता भोगेको विभेदको घाउलाई जातीय लेबल लगाइदिएर त्यसलाई 'शुद्ध मानवतावाद' र 'साझा जातीयता'को कसीमा जाँच्न मिल्छ ?

अतीतमा गुमनाम सीमान्त मान्छेका अभिव्यक्तिहरूले पछिल्लो दशकभरिमा समकालीन कविताको स्पेस 'अकुपाई' गर्न खोजिरहेको बेला एउटा द्वन्द्व र रस्साकस्सी कविताको बहसमा स्पष्ट गोचर हुन्छ । इतिहासको पुनव्र्याख्या गरेर पहिचान र आत्मसम्मानका लागि संघर्ष गर्ने एकथरी र जाति, क्षेत्र, लिंग र समुदायको पहिचानको स्वरले साझा मनुष्यतालाई खण्डित गराउँछ भन्ने अर्कोथरी । साझा जातीयता र सार्वभौम मनुष्यता हरेक मुक्तिप्रेमी लेखकको सपनाको अन्तिम किनारा हो ।

कवि नै त्यो स्वप्नदर्शी हो जसले मानिस-मानिसबीचका सबै सीमारेखाहरू मेटाउने कल्पना गर्न सक्छ । तर, मानवतावाद कुनै आलंकारिक पदावली होइन जुन भावको निरपेक्ष रटानले मानिसका अतीतदेखि आजसम्मका आत्मसंघर्ष, प्रताडना र प्रकोपलाई एकाएक साम्य पार्न सकोस् । उत्पीडक र उत्पीडित दुवैले भन्ने र खोज्ने मानवतावादको तर्क एउटै होइन । यसलाई सापेक्षिक आँखाले हेर्ने चेष्टा गर्नु र परिभाषित गर्नु जरुरी छ ।

बीसौं शताब्दीको अन्तिम दशकसम्म आइपुग्दा मानवतावाद संस्थापनका लागि आफ्ना आतंक, दमनचक्र र सत्ताप्रयोगको वैधताको अस्त्र भइरहेको हामीले देखेका छौं । संसारको सबैभन्दा अन्यायी र आतंककारी सत्तादेखि सबैभन्दा भ्रष्ट न्यायालयसम्मले हजारौंपल्ट दोहोर्‍याउँदा यो शब्दको अधिकतम दुरुपयोग भएको छ । यसको खास अर्थ के हो ? यसको अर्थ कहाँकहाँ अपहृत भएको छ ? पहिले खोजौं ।

'साझा जातीयता'को पाठ पनि जातीय राजनीतिको पक्षपाती राज्यलाई पहिले राम्ररी पढाइयोस् । त्यसको सिकार भएर प्रतिरोधमा कविता लेख्ने निहत्था कविचाहिँ जातीय हुने राज्य र सामाजिक व्यवस्थाचाहिँ जातीय नहुने हुन्छ र ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.