घर सम्झाउने लाफु
सुँगुरे मुसा (युरोस्क्यापटोर)का विशेषज्ञ डा. ह काई एसियामा सुँगुरे मुसाको उत्पत्ति र विकासबारे अनुसन्धान गर्दैछन् । उनको अध्ययनले यो जीवको उत्पत्ति र विस्तारका क्रममा चीन र म्यानमारको सिमानाका पहाडहरूमा नयाँ प्रजाति हुनसक्ने विश्वास र आशा देखाएको छ । उनकै अनुरोधमा अनुसन्धानको सहयोगका निम्ति हामी तीनजनाको टोली चीनको दक्षिणी प्रान्त युनानको राजधानी कुनमिङबाट ६ सय २७ किलोमिटर टाढा पर्ने दक्षिणी सिमानाको सहर मङ्लियानतिर लाग्यौं । कुनमिङ पौअर हुँदै मङ्लियानको यात्राका लागि रात्रिकालीन बससेवामा जाने निधो गर्यौं । यात्रा करिब १० घन्टा १३ मिनेटको थियो ।
नेपालका विभिन्न कुनामा रात्रि बसको यात्रा गरेको अनुभव त्यति बेला माथ खायो, जब बस चढ्नुअघि बसका सहयोगीले दुईवटा प्लास्टिकका झोला दिई मेरो जुत्ता र मोजा फुकालेर त्यसमा राख्न आग्रह गरे । बस दुई तलाको थियो । पहिलो तलामा हाम्रा सामानहरू राखे । माथिल्लो तल्लामा बस्ने सिटहरू नभई सुत्ने खाटहरू थिइ । बस चढ्ने सबैले आफ्नो जुत्ता र मोजा फुकालेर झोलामा हाले र त्यहाँ भित्रको चप्पल लगाएर बसभित्र हिँडे । मैले पनि त्यही नियम पछ्याएँ । मेरो सिट माथिल्लो खाट थियो ।
लामो बसमा दुईवटा शौचालय र तीसवटा खटिया थिए । यात्रुहरू पूरै भरिएको थियो । खाटमा सिरक, डसना सफा र न्यानो थियो सबै नीलो रङका । सुत्नुअघि आफ्नो महत्त्वपूर्ण सामान र कपडाहरू राख्न अर्को झोला दिइएको थियो । त्यसलाई खाटको छेउमा पछाडिपट्टि रहेको सानो कपबोर्डमा राख्ने व्यवस्था थियो ।
तोकिएको समयभन्दा एक मिनेट पनि तलमाथि नभई बस गुड्न सुरु गर्यो । बसमा सुतेर यात्रा गरेको पहिलो अनुभव भएकाले होला, केही असजिलो र अनौठो महसुस भइरहेको थियो । पहाडको बाटो भए पनि घुम्तीहरू कम थिए । बसमा हल्ला गर्ने वा ठूलो स्वरमा कराउने कोही थिएनन् । सबैजसो यात्रु मोबाइलमा व्यस्त थिए । बसभित्र मोबाइलबाट निस्किएको उज्यालो प्रस्ट देखिन्थ्यो । साँझ ७ बजे गुड्न सुरु गरेको बस खाना खान र शौचालयका लागि पनि कतै रोकिनु परेन किनभने चिनियाँहरू साँझ ६ बजे नै रातिको खाना खाइसक्छन् ।
शौचालयका लागि बसभित्र नै व्यवस्था थियो । सुरुमा अलि असजिलो लागे पनि बानी परिहालेछ । मस्त निदाएछु । बिहान ६ बजेतिर मङ्लियान पुगेर बस रोकिएपछि मात्रै बिउँझिएँ ।
चीनका ५६ जनजातिमध्ये ताई जातिको बाहुल्य भएको मङ्लियान चिटिक्क परेको सानो र सफा सहर हो । साँघुरो तर सफा सडक, पुराना काठका घरहरू । गजुमुज्ज परेको बस्तीसँगै नयाँ चौडा सडक र अग्ला भवनहरू चुलिँदै गरेका देखिन्छन् । चीनको दक्षिणी छिमेकी म्यानमारबाट पाँच किलोमिटरको दूरीमा रहेको यो सहर पुग्दा हामीले कडा सुरक्षा जाँच पार गर्नुपर्यो । चीनको बसाइमा त्यस किसिमको सुरक्षा जाँचको अनुभव मेरो लागि नौलो थियो ।
पछि बुझ्दा थाहा भयो, म्यानमारको सिमाना नजिकको सहर भएको हुँदा लागूऔषध कारोबार र मानव तस्करको समस्या रहेछ त्यहाँ । त्यसैले विदेशी र स्थानीय भाषा नबुझ्ने यात्रुहरूप्रति बढी प्रश्नहरू सोध्ने र त्यहाँ आउनाको कारण र सोसम्बन्धी कागजपत्रको रेकर्ड राखिँदो रहेछ । दिनभर मङ्लियानको सानो बजार घुम्दा देखिए-बौद्ध स्तूपहरू, ताई जातिको मौलिक शैलीका १२ देखि १५ सय वर्ष पुराना गुम्बा, छानो छाएका काठका पुल, सफा नदी, काठमाडौं उपत्यकाका किसानहरूले जस्तै खर्पनमा तरकारी र कृषि उत्पादन बोकेर बजारतिर लागेका किसान ।
कालो कपडामा नीलो बाहुला र त्यसको किनारमा रंगीन बुट्टा भएको लुगा र सेतो कपडाको बीचमा सुनौलो रङका विभिन्न चित्र सजिएको स्कार्फ लगाएका महिलाहरूले नगरकोट, रसुवा र नुवाकोटका तामाङ दिदीबहिनीहरूको स्मरण गराउँथे । त्यस्तै कालो कपडामा बाहुलाको किनार र खल्तीका मुखहरू सुनौलो भएको रंगीन रङका कपडामा सजिएका पुरुषहरू हँसिला र फूर्तिला देखिन्थे । विभिन्न रङका लुंगी लगाएका महिला र पुरुषहरूले 'नेपालकै तामाङ बहुल क्षेत्रमा छु' भन्ने भान पाथ्र्यो । तर, बाँसको ढुंग्रोभित्र पकाएको भात, भुइँकटहरसँगै पकाएको भात, विभिन्न थरीका मासु तथा सागपात खाँदा भने म आफ्नो देशभन्दा फरक भान्छामा छु भन्ने यथार्थबोध भइहाल्थ्यो ।
हामी मङ्लियानबाट ४० किलोमिटर दक्षिणपूर्व लाफु भन्ने सानो गाउँमा पुग्नुपर्ने थियो । चीनका कुनै पनि गाउँ वा त्यस वरपरको जंगलमा अनुसन्धानमा जानुपरे चिनियाँ कम्युनिस्ट पार्टीको स्थानीय समितिसँग अनिवार्य रूपमा स्वीकृति लिनुपर्छ । मसँगै आएका चिनियाँ साथीहरूले सबै औपचारिक कार्य मङ्लियानमै मिलाए । हामीलाई लिन लाफु गाउँका स्थानीय पार्टी सचिव आइपुगे । साँझ ५ बजिसकेको थियो । कच्ची र पहाडको घुमाउरो बाटोमा ४० किलोमिटर पार गर्न दुई घन्टाजति लाग्यो । होचा पहाडमा चियाको खेती र सडक किनारसँगै अग्लो बाँधले गाउँभित्र बनेको ठूलो तालले लाफु गाउँ निकै रमणीय थियो । रातको अँध्यारोमा पनि सफा सुन्दर देखिएको गाउँ उज्यालोमा हेर्ने इच्छालाई बिहानसम्म कुर्नुबाहेक अर्को उपाय थिएन ।
करिब ५० वटाजति घरधुरी भएको लाफु गाउँका सबै घर एकतले थिए । गाउँको बीचमा अलि चौडा स्थानमा तीनतले पक्की घर र त्यसको वरपर बास्केट बल खेल्ने मैदान र गाउँलेहरू जम्मा हुने र हप्ताको दुईपटक हाटबजार लाग्ने चौर थियो । गाउँमा भएको त्यही एकमात्र पक्की ढलान घर नै त्यहाँको पार्टी अफिस रहेछ । हामीलाई त्यही अफिसको दुईवटा कोठामा राखियो । तातो र चिसो पानीको व्यवस्था भएको शौचालयजडित कोठाहरू थिए । सुविधायुक्त कोठाहरूले गाउँमा भएको भान दिएनन् ।
बिहान सबेरै उठेर स्थानीय पार्टी अध्यक्षलाई भेट्न गयौं । उनलाई हामीले गर्ने काम र तालिकाको सूचना दिएपछि त्यहाँबाट उकालो चढ्यौं, चिया बगान र गाउँ छोडेर जंगलभित्र । हामी रातिको बास र साँझको खानाका निम्ति गाउँमा फर्किन्थ्यौं । बिहान सबेरै फेरि जान्थ्यौं डाडाँमाथि जंगलमा । साँझको खाना खान एकजना गाउँलेको घरमा मिलाएका थियौं ।
दुई कोठाको घर, आँगनमा भान्छा, जंगलको दाउरामा पकाएको खाना, एउटा फलामको गोलाकार चक्कालाई तीनवटा फलामकै खुट्टामाथि राखेर बनाएको चुल्हो देख्दा कुनमिङ र बेइजिङ बसेका दिनहरू, चीनको विकासका तहहरूको तुलना गर्न मेरो मनलाई कतैबाट पनि रोक लागेन । पाहुना बसेको घरकी आमा हरेक दिन दिनदिनै नयाँ खानाको स्वाद चखाउनुहुन्थ्यो । मैले पिरो सहन नसक्ने थाहा पाएपछि तरकारीमा पिरो र मसला कम गर्नुभयो । मसला पिँध्ने ढुंगाको सिलौटा र आगो फुक्ने ढुंग्रोले मेरो पुरानो घरको सम्झना ताजा बनाउँथ्यो । देख्दा असजिला र साँघुरा देखिए पनि सबै घरमा तातो पानीका निम्ति सोलारहरू थियो ।
सबैजसो गाउँलेले सँगुर, बंगुर, कुखुरा र बाख्रा पालेका थिए । चियाको पात टिप्ने समयमा छिमेकी म्यानमारबाट पनि धेरै संख्यामा मजदुरहरू त्यहाँ आउने रहेछन् । सबैको घरमा कम्तीमा एउटा मोटरसाइकल र ट्र्याक्टर थियो । अधिकांश घरमा निजी जिप थिए । आफूलाई गरिब भन्ने यी गाउँहरूको गरिबी मेरो देशको गरिबीसँग कुनै पनि कोणबाट तुलनायोग्य थिएन ।
हामीलाई त्यस क्षेत्रबाट कम्तीमा तीनवटा सुँगुरे मुसाको नमुना संकलन गर्नु थियो । राति सक्रिय हुने र माटोभित्र भएका कीरा खाने सुँगुरे मुसा छुचुन्द्रो प्रजातिको हो । कालो बाक्लो रौंले ढाकिएको शरीर, गुलाबी रङको चुच्चो नाक, सानो पुच्छर र गुलाबी रङकै साबेलजस्तै चौडा औंलाहरू भएको यो जीव आफैंले खनेको सुरुङमा बस्छ । जमिनमाथि कमैमात्र निस्कने यो जीवले रातभरिमा आहाराको खोजीमा एकदेखि डेढ किलोमिटरसम्म सुरुङ खन्छ ।
यो जीव निशाचरमात्र नभई सुरुङबाहिर नआउने हुँदा समात्न निकै गाह्रो हुन्छ । यसलाई समात्नका लागि सुरुङ खन्न गाह्रो हुने कसिलो माटो भएको स्थानमा पुरानो सुरुङलाई बीचमा काटेर दुवैतिर जाल राख्नुपर्छ । यस्तो ठाउँमा सुरुङ खन्न गाह्रो हुने हुनाले यो मुसाले पटकपटक एउटै सुरुङ प्रयोग गर्छ ।
पहाडमाथिको जंगल, वरिपरिको चियाबारी, किसानहरूको खेतबारी र स्थानीय चिहान सबैतिर सम्भावित स्थानमा राखेका जालोहरूमा तीनवटा सुँगुरे मुसाहरू पार्न हामीलाई १० दिन लाग्यो । दाँतको रङ र आकार, दाँतको माथिल्लो भागमा भएका विभिन्न आकृतिका आधारमा नयाँ प्रजाति भेटिने हाम्रो विश्वास र आशा यथार्थमा परिवर्तन भयो । यद्यपि अनुवांशिक अध्ययन बाँकी नै थियो ।
१० दिनको लाफु बसाइमा दुईपटक हाट बजार पर्यो । वरपरका गाउँले लुगाकपडा, खाने सामान, विद्युतीय सामान, स्थानीय खानाका परिकार बेच्दै थिए । दाउराका भारीहरू पनि बजारमा थिए । गाउँहरूले म्यानमारबाट ल्याएका चुरोट र रक्सी चिनियाँ ब्रान्डभन्दा मीठो र सस्तो भएको बताए । चुरोटपारखीका अनुभव मैले भेउ पाउने कुरो भएन ।
लाफुवासी निकै मिलनसार थिए । युवाविहीनजस्तै गाउँमा ४५ देखि ५० वर्ष माथिका गाउँलेलाई फुर्सद धैरै थियो । बाँधले बनाएको तालमा माछा मार्ने, चियाबारी र जंगलको बीचमा झुलजस्तै जालो राखेर चरा मारी तारेर खाने, बिहानदेखि नै रक्सी खाने र चुरोटलाई दुई औंलाको कापमा निरन्तर सल्काइरहने दृश्य दिनहुँ देखिन्थ्यो । केही चुरोटका सोखिनहरूले बाँस वा स्टिलको लामो र मोटो पाइपमा चुरोट राखी हुक्काजस्तै तानेको पनि देखिन्थ्यो ।
गाँउमा सबैजसोले पाहुनालाई सम्मानस्वरूप चुरोट र स्थानीय रक्सी खान आग्रह गर्थे । तर, हामी तीनैजना रक्सी र चुरोट नखाने भएकाले हरियो चिया लिन्थ्यौं । विभिन्न थरीका चियाका पातहरूको अलग्गै स्वादको अनुभव मलाई लाफुबाटै मिल्यो । चियापत्तीको स्वाद र मूल्य चियाको बोटको उमेरअनुसार फरक पर्छ भन्ने ज्ञान पनि पाइयो । लाफु गाउँमा एउटा निम्न माध्यमिक तहको विद्यालय रहेछ ।
एक सय ५० जनाजति ६ देखि १२ वर्षका विद्यार्थी पढ्ने विद्यालय ६ वटा गाउँका निम्ति खोलिएको रहेछ । टाढाटाढाका गाउँबाट विद्यार्थी आउने भएकाले उनीहरूलाई होस्टलमा राखिँदो रहेछ । विद्यालयमा खाना र शिक्षा निःशुल्क रहेछ । १० दिनको बसाइपछि हाम्रो टोली फर्कियो । स्थानीय पार्टी अध्यक्षले हामीलाई मङलियानसम्म पुर्याउनुभयो । गाउँमा सानो पसल सञ्चालन गर्ने २४ वर्षीय साहुजी नै पार्टी अध्यक्ष थिए ।
उनीसँग १० दिनपछि मात्र परिचय भयो । चिनियाँ भाषामा नेपाललाई निपोअर भनिन्छ । गाउँलेलाई आफू निपोअरबाट आएको भनी परिचय दिँदा मेरो देशबारे उनीहरू पूरै अनभिज्ञ थिए । फर्कने दिन मैले गाउँको पार्टी अध्यक्षसँग कुराकानी गरेँ । अध्यक्षलाई भने नेपालबारे राम्रै ज्ञान रहेछ । नेपाललाई उनले दक्षिणपश्चिमको एक असल मित्रका रूपमा चित्रण गर्दा मन नै फुरुंग भयो ।