गोबध प्रतिबन्धको पूर्वकथा

गोबध प्रतिबन्धको पूर्वकथा

नेपाल मानवअधिकार संगठनको पाँचौं साधारणसभा थियो, बाराको कलैयामा । २०५१ साल फागुन २७ गते आयोजित यो कार्यक्रममा तत्कालीन एमाले सरकारका श्रम तथा स्वास्थ्यमन्त्री पद्मरत्न तुलाधरले गरेको सम्बोधनले धार्मिक तथा राजनीतिक वृत्तमा ठूलो खैलाबैला ल्यायो । उनले भनेका थिए, 'हामी सबैले मानेको कुरा धार्मिक समानता हो, धार्मिक स्वतन्त्रता पनि हो, तर फेरि पनि मुसलमानको जब कुरा आउँछ, फेरि पनि मंगोल जातिको मूलको कुरा आउँछ, उनीहरूले गाईको मासु खान पाउने कि नपाउने ? '

एकातिर पद्मरत्न तुलाधरको यो भाषण तत्कालीन विपक्षी दल नेपाली कांग्रेसका लागि सरकारविरुद्धको अभियानमा निकै ठूलो मसला भएको थियो । तत्कालीन मनमोहन अधिकारी नेतृत्वका सरकारमा उनी स्वास्थ्यमन्त्री थिए । अर्कातिर एक अतिवादी पक्षले पद्मरत्नको टाउको काट्नेलाई इनामको घोषणासमेत गरेका थिए । २०५२ वैशाख ८ गते हिन्दु स्वयंसेवक संघको निमन्त्रणामा काशी हिन्दु विश्वविद्यालयबाट जनकपुर आएका सुदामा शास्त्री उर्फ भरत आचार्यले पद्मरत्नको टाउको काट्नेलाई ५० हजार रुपैयाँको इनाम घोषणा गरेका थिए । वैशाख ९ गते काठमाडौंमा आयोजित कार्यक्रममा योगी नरहरिनाथले पद्मरत्न र गाई प्रकरणमा आफ्नो मत प्रकट गर्दै गाई काट्ने कुरा बोल्नेका जति रौं छन्, त्यति नै टुक्रा गरी काटिएमा अपराधले माफी पाउने बताए (मूल्यांकन मासिक, जेठ २०५२:५-६) ।

संविधानमार्फत राज्य धर्मनिरपेक्ष घोषणा भइसके पनि अहिले पनि गाई वा गोरु काटेको अभियोगमा कतिपयले सजाय भोगिरहनु परेको छ । संवैधानिक रूपमा गाई राष्ट्रिय जनावर हो ।

ऐतिहासिक तथ्यहरूले भने नेपालका आदिवासी जनजाति सबैजसो गोभक्षक भएको बताउँछन् । यस विषयमा ऐतिहासिक दस्तावेजहरू समेत प्रशस्तै पाइएका छन् । तीमध्ये एक वि.सं. १८४३ जेष्ठ सुदी २ सोमबार रणबहादुर शाहले लिम्बू सुब्बाहरूको नाममा जारी गरेको एक लालमोहरमा 'हिजो सीमापारि बसेर लुटपिट गरेको र गोबध गरेकोमा माफी दिएको' उल्लेख भएकोले रणबहादुर शाहको पालादेखि कडाइका साथ गोबध प्रतिबन्ध लागू गरिएको देखिन्छ ।

गोबध प्रतिबन्धको सिलसिला

गोबध प्रतिबन्धलाई अत्यन्तै कडाइ गरिएको र गोबध गर्दा के कति दण्ड जरिबाना हुन्थ्यो भन्ने ऐतिहासिक तथ्यहरू 'रेग्मी रिसर्च प्रालि'ले संकलन गरेको विभिन्न भोल्युमहरूमा पनि पढ्न पाइन्छ ।

छरिएर रहेका विभिन्न राज्यहरू गोरखा राज्यमा गाभिएपछि क्रमशः गाईको बध गर्न प्रतिबन्ध लगाउन थालियो । खासगरी गीर्वाणयुद्ध विक्रम शाहको पालामा गोबध नगर्न कडा आदेश जारी गरियो । इतिहासकार महेशचन्द्र रेग्मीद्वारा सम्पादित 'रेग्मी रिसर्च सेरिज' (नोभेम्भर, १९६९:१५) अनुसार शिवराज, काशीराम, ऋषि पाध्यका नाममा एक आदेश जारी गरी तामाकोसीदेखि टिष्टासम्मको पहाडी भागमा लागू हुने गरी गोबध प्रतिबन्ध गर्न उनीहरूलाई खटाइयो । त्यसबेला भीमसेन थापा सर्वेसर्वा थिए भने गीर्वाणयुद्धविक्रम शाह राजा थिए ।

त्यसबेला गोबध गर्नेलाई कडा दण्ड जरिबाना तोकिएको थियो । गोबध गर्नेमात्रै होइन, गोबध गर्न सघाउने र बधका लागि गाई वा गोरु बेच्नेलाई समेत दण्ड जरिबानाको सजाय तोकिएको थियो । गोबध गर्न सघाउने र बधका लागि गाई वा गोरु बेच्नेलाई सजाय दिन र उनीहरूबाट जरिबाना उठाउन अमालीको व्यवस्था पनि गरिएको थियो ।

वि.सं. १८६६ पुस बदी ९ मा जारी गरिएको यस आदेशमा गोबध गर्नेलाई ज्यान सजायको व्यवस्था गरिएको छ । यस्तै गोबधका लागि सघाउनेलाई ५० रुपैयाँ जरिबाना अनि यदि गाईको मासु वितरण गरेको पाइएमा २० रुपैयाँ जरिबाना तोकिएको छ । यसैगरी यदि बध गरिएको गाई वा गोरु कसैले बिक्रीवितरण गरेको छ भने त्यस व्यक्तिलाई तीन रुपैयाँ जरिबाना तोकिएको थियो, त्यसबेलाको सरकारी आदेशमा ।

रेग्मी रिसर्च सेरिज (सेप्टेम्बर १९७९:१२९) अनुसार यसअघि नै १८६२ मार्ग बदी ९ मा सोलुखुम्बु र चाँखुमा गोबध नगर्न आदेश जारी गरिसकिएको थियो । गोबध गरेबापत उठाइने जरिबानालाई त्यसबेला 'चोखो दण्ड' नाम दिइएको थियो । यस व्यवस्था लागू गर्न न्यायकर्ताको रूपमा त्यहाँ निधिरत्न तिवारीलगायतलाई पठाइएको थियो ।
त्यस्तै सिनो भन्दै विभिन्न मरेको चौपायासमेत नखान भोटे, राई, माझी, मुर्मी (तामाङ) जातिलाई १८७४ बदी ४ मा, गुरुङ जातिलाई १८६७ बदी १२ मा र चेपाङ, सुनुवार, हायु, पहरी, बरामु र थान्सी (थामी ? ) जातिलाई १८६२ मा आदेश जारी गरिएको थियो (रेग्मी रिसर्च सेरिज, डिसेम्बर १९७९:१२७-१२८)।

त्यस्तै प्यूठानमा पनि गोबध नगर्न र सिनो नखान १८६७ साउन सुदी ७ मा आदेश जारी गरिएको थियो । त्यहाँ सिनो खानेप्रति घरपरिवारलाई आर्थिक जरिबाना तोकिएको थियो । प्यूठानमा खटिएका काजी रेवन्त कुँवरले सिनो खानेप्रति घरपरिवार डेढ रुपैयाँ सजाय तोकिदिएका दिए । यस्तै सुबेदार रतनसिंह थापाले सिनो खानेप्रति घरपरिवार आठ आनाको दरले सजाय तोकेर तीन हजार परिवारबाट एक हजार पाँच सय रुपैयाँ जरिबाना दस्तुर संकलन गरेका थिए (रेग्मी सोही सेरिज) ।

भीरमा लड्दासमेत पतिया

गोबधमात्रै होइन राज्यले भोटतिर गाईगोरु बेच्नसमेत प्रतिबन्ध लगायो । कतिसम्म भने भीर, दाम्ला वा सोला (पासो)मा पर्दा समेत पहिले गाई धनीलाई दण्ड गरिने गरिएकोमा पछि पतियाले शुद्ध हुनुपर्ने अर्थात् चोखिनुपर्ने प्रावधानसमेत राज्यले ल्याएको देखिन्छ । यसबारेमा राज्यले जारी गरेको केही कस्य रुक्काहरू इतिहासकार शिवकुमार श्रेष्ठले 'लिम्बूवानको ऐतिहासिक अध्ययन' (२०६२:१३६-१४४)मा प्रकाशित गरेका छन् ।

'भोट मंगलानमा गै गोरु बेचे वंद भएको बाटो खोली हिडाउनेलाई कायम कायल गरी दण्ड गर्नु' भनी राजा राजेन्द्रविक्रम शाहद्वारा वि.सं. १८८७ श्रावण वदी ५ शनिबार अरुणपूर्व चैनपुरका खटिएर जाने भारदार र बिचारीहरूका नाममा जारी रुक्काले त्यसबेला भोटतिर गोरुसमेत बेच्न प्रतिबन्ध लगाएको स्पष्ट हुन्छ ।

यस्तै १८८७ श्रावण बदी ११ मा लिम्बू सुब्बाहरूको नाममा राजेन्द्रविक्रम शाहबाटै अरुणपूर्व मेची पश्चिमका राई, लिम्बू, सुब्बा याखा मझिया, मोहरिया मुखियालगायतका नाममा जारी भएको रुक्कामा गाईगोरु भोट मुगलानतिर नबेच्नू भन्ने पुरानो आफ्नो आदेशको स्मरण गराउँदै भोग मुगलानमा गाईगोरु जसले बेच्छ उसको हात ढुंगोले किच्याउने त्यसो नभए अमालमा लगी दण्ड गर्ने उल्लेख गरिएको छ ।

यी त भए गाईगोरु बेचबिखनमा लागेको प्रतिबन्ध । तर गाई, गोरु भीरमा, दाम्लोमा वा पासोमा पर्दासमेत गाईगोरु धनीलाई दण्ड जरिबाना गरिँदो रहेछ भन्ने ऐतिहासिक प्रमाणका रूपमा अर्को एक कस्य रुक्कासमेत उपलब्ध छ ।

राजा राजेन्द्रविक्रम शाहकै समयमा वि.सं. १९०४ जेठ ५ मा दूधकोसीपूर्व अरुण पश्चिम माझ किरातका राई, मझिया, जिमदारका नाममा जारी लालमोहरमा यसबारे यस्तो लेखिएको छ, 'आजसम्म गाईगोरु भीरमा मर्दा दाम्लामा मर्दा सोलामा मर्दा दण्ड गरी शुद्ध हुन्थ्यो । अब उप्रान्त मर्दा हत्ये लाग्यो भने सबै पतियाले शुद्ध हुनू । नदबाउनू दबायो भने अमालीले दण्ड गर्नू ।'

विक्रम सम्वत १८४३ मा लिम्बूहरूमा गोबध नगर्न आदेश जारी गरिए तापनि उनीहरूलाई पटकपटक गोबध नगर्न आदेश जारी गरिएकाले उनीहरूले सरकारी आदेश पटकपटक उल्लंघन गरेको स्पष्ट हुन आउँछ ।

बहर दाउन नपाइने

राजा रणबहादुर शाहको पालामा बाहुन, क्षेत्री, खस, मगर, जोगी, सन्न्यासी, भट्ट, जागिरदार, ढाक्रे, बिर्तावार, धोबी, तेलीलगायतको नाममा एक रुक्का जारी गरियो । वि.सं. १८५६ श्रावण बदी ४ रोज १ मा जारी गरिएको यो रुक्काले बहर जोत्न नपाउने र बहरलाई गोरु बनाएरमात्रै जोत्न पाउने नियम बसाइएको छ । यस्तो नियम उल्लंघन गर्नेलाई सजायस्वरूप हात काट्नेसम्मको आदेश जारी गरिएको छ । यो रुक्का 'पूर्णिमा' पत्रिकाको पूर्णांक ९८ (पुस २०५६:४८) मा छापिएको छ । रुक्काको सार यस्तो छ:

'...येतिन्जेल बहर जति सजनु सज्यौ आजर्उप्रान्त बहरलाई नसजिकन जोत षेतीकिसान अरु काजलाई गोरु ल्र्या जोतन्या काज लावन्या गर अबर्उप्रान्त हाम्रा भर मुलुकमा जो बहर सजौला तस्को हात काटियला ।'

लिम्बू जातिमा गोबध प्रतिबन्ध

लिम्बू जातिमा रणबहादुर शाहले पहिल्यै गोबध प्रतिबन्ध लगाइसकेका थिए । उनले तम्बरपारिका १६ जना लिम्बू सुब्बाहरूको नाममा लालमोहर जारी गरेका थिए । यो लालमोहरको सक्कल दार्जिलिङ, मिरिक निवासी साहित्यकार विरही काइँलासँग सुरक्षित रहेको छ । यसको प्रतिलिपि इलाम पशुपतिनगर निवासी कवयित्री कविता राई 'गाउँले'मार्फत यो लेखकले प्राप्त गरेको हो ।

१८४३ साल जेठ सुदी २ सोमबार जारी गरेको यस लालमोहरमा रणबहादुर शाहले लिम्बू सुब्बाहरू देवपति राय, थामावु राय, बहिनामसा राय, फेन्दुवा राय, शाभामुधा राय, थेबेसिंह राय, जसमुखा राय, गोथिम राय, सां राय, नामसाहाङ राय, इगुमसेदी राय, पोतवा राय, ओङ्देवा राय, फावोहांग्या राय, यंवा राय, षिंभिदिंग राय, पातलुवा राय (पालुङ्वा राय) को नाममा यो लालमोहर जारी गरेका हुन् ।

यस लालमोहरमा हिजो सीमापारि बसेर लुटपिट गरेको र गोबध गरेकोमा माफी दिएको उल्लेख गर्दै अब उप्रान्त गोबध नगर्नू भनी आदेश दिइएको छ । यस्तै आफ्नो खायन पायन सम्हाल्न आऊ भनी यस लालमोहरमा लेखिएको छ ।

लालमोहरको व्यहोरा यस्तो छः

'स्वस्ति श्री गिरिराज चक्रमुडामणि नरनारायणेत्यादि विविध विरुदावलि विराजमान मानोन्नत श्रीमन महाराजाधिराज रणबहादुर शाह देवानाम सदा समर विजयिनाम.............

स्वस्ति श्री सर्वोपमायोग्य श्री देवपति राय थामावुं राय श्री बहीनामसा राय श्री फेन्दुवा राय श्री शाभामुधा राय श्री थेवेसिं राय श्री जसमुषा राय श्री गोथिम राय श्री सां राय श्री नामसाहां राय श्री इगुमसेदी राय श्री पोतवा राय श्री ओङदेवा राय श्री फोवोहांग्या राय श्री यंवा राय श्री षिंभिदिंग राय श्री पात्लुवा रायके आशीषपूर्वक पत्रमिदं यहाँ कुशल ताहाँ कुशल चाहिये आगे यहाँको समाचार भलो छ उप्रान्त जीहाको निमिष खायाको थियो सेवकको गर्नु निमिष सक्दो गर्नुछ गर्‍यौ आज हाम्रो पाव भनी आयौ त तम्रो पिछा लियौ बस्र्दास्ती गरौला हिजो तिमीहरूले पारि बसी लुटपिट गोबध खतछित् गर्‍याको सब माफगरिबक्यौं हाम्रा पिछा पर्‍यापछि गोबध नगर्नु पारी हुँदा गर्‍याको षत बापत तिमीहरूलाई कसैले दराउतम्बी गर्‍या अप्सरिया होला निमिषको साझो गरी टहलमा रुझु रहु तिमी सुबा सुबाहरूको षातिरजामासित पजनी भेटाई आज तम्रो खायन पायन जस्को जस्तो जस्तो छ जाँची बुझी लाजिमा माफिक बनाइबक्सौंला सर्वथा चाँडो गरी आज ढिलाइ नगर उप्रान्त तम्रो ज्या लुटपिट गर्‍याकोमा हामीले माफ गरिबक्स्याकोछ जस्ले लुटपिट लियाको छ मागी लेउ ।

तिमीले माग्दामा नदिया अप्सरिया हुनेछ तसर्थ तिमीहरू चाडो गरी आयापछि सबै कुराको बन्दबस्त गरिबक्सौंला । इति सम्वत १८४३ जेष्ठ सुदी २ रोज २ शुभम्...'

यी लालमोहर वा आदेशबाट स्पष्ट हुन्छ भने नेपालमा प्रायजसो आदिवासी जनजातिहरू गोभक्षक थिए । गोरखा राज्यमा बिलीन हुन पुगेपछि वा गोरखाली शाह राजाहरूको शासन स्वीकार गरेपछि उनीहरूलाई जबरजस्ती गाईको मासु खान वा गोहत्या गर्न छोडाइएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.