जहाँ पुगेपछि हेलेन केलरको सम्झना हुन्छ..

जहाँ पुगेपछि हेलेन केलरको सम्झना हुन्छ..

चर्चित अमेरिकी लेखिका हेलेन केलरले १९ महिनाको उमेरमा ज्वरोको कारणले आफ्नो आँखाको ज्योति र श्रवणशक्ति दुवै गुमाएकी थिइन् । उनलाई एकपटक एउटा व्यक्तिले 'तपाईं दिन र रात कसरी छुट्याउनुहुन्छ ?' भनी सोधेका थिए । हेलेनको उत्तर थियो- 'दिनमा चहलपहल बढी हुन्छ । हावाको प्रवाह मन्द हुन्छ र वातावरणमा कम्पन धेरै हुन्छ । तर, रात पर्दै गएपछि वातावरण शान्त हुन्छ र कम्पन पनि कम हुँदै जान्छ ।'

आफ्नो शारीरिक अवस्थालाई बिर्सने हो भने आफ्नो संसार निकै माथि र उच्च रहेको ठान्ने हेलेनको एउटा भनाइ निकै चर्चित छ, 'विश्वास नै त्यो शक्ति हो जसले नास भइसकेको संसारमा पनि खुसीको किरण ल्याउन सक्छ ।' राष्ट्रिय अपांग महासंघ हातामा देब्रे कुनामा रहेको बोधिसत्व इन एक्सन (बीआईए) फाउन्डेसनभित्र छिर्नासाथ हेलेन केलरका विचार र अपांगता भएका व्यक्तिमा अन्तरनिहित क्षमताको जोकोहीले अड्कल लगाउन सक्छ ।

भित्र एउटा कुनामा राखिएको दराजमाथिका सिल्ड र पदक देखाउँदै संस्थाका निर्देशक गोकर्ण......ले भने, 'बीआईएमा बस्नेहरूले विभिन्न प्रतियोगितामा जितेर ल्याएका हुन् यी पुरस्कार ।' हेर्दा पत्याउनै गाह्रो पथ्र्यो । सहरका कुनै उत्कृष्ट विद्यालय वा कलेजका फुर्तिला विद्यालयले जितेर ल्याएका पदकभन्दा संख्यामा कम थिएनन् ती । सन् २०१४ मा स्थापना भएको यस संस्थाले आफ्नो नामअनुसारको काम गर्ने प्रयास गरेको देखिन्छ ।

बोधिसत्व- जसको अर्थ संस्कृतमा उज्ज्वल प्राणी हुन्छ भने परम्परागत रूपमा यसको अर्थ कुनै एउटा ठूलो लक्ष्यबाट अभिप्रेरित भन्ने जनाउँछ । नेपालका अपांगता भएका व्यक्तिका लागि दुईवटा हस्तकलाका इन्स्टिच्युटबाट चोग्याल रिन्पोचेले सुरु गरेको यस संस्थामा हाल नौवटा इन्स्टिच्युट थपिएका छन् । शरीर बलियो छउन्जेल परिवारमा प्रिय भइए पनि अपांगता भएपछि परिवारले नै बोझ मान्न थाल्नु समाजको तीतो यथार्थ हो ।

यही तनावका कारण कम्तीमा पनि दुई/चार पटक आत्महत्याको प्रयास गरेकै व्यक्तिमात्रै बीआईएमा आएको संस्थाले जनाएको छ ।

संस्थामा आएका व्यक्तिमध्ये केही गत वैशाख १२ को महाभूकम्पमा सिकार भएकाहरू पनि छन् । यिनैमध्ये १८ वर्षीय रमेश खत्रीले गोंगबुको एउटा गेस्ट हाउसमा काम गर्दैगर्दा गएको भूकम्पमा पुरिएपछि उनको १२ घन्टापछि मात्रै उद्धार भएको थियो । करिब दुई महिनासम्म शिक्षण अस्पतालमा उपचार गराएपछि उनी ठीक त भए, तर होसमा आउँदा दुवै खुट्टा गुमिसकेको थियो । आफूले जीवनमा सोच्दै नसोचेको घटनालाई उनले सजिलै स्वीकार्न त सकेनन्, तर समय बित्दै जाँदा उनको घाउ पनि पुरिँदै गएको छ ।

बीआईएमा आएपछि अन्य साथीसँगको घुलमिलमा उनले आफ्नो दैनिकीलाई पुनः सुचारु गरेका छन् । हाल खगेन्द्र नवजीवन स्कुलमा कक्षा ८ मा पढिरहेका उनले नृत्यलगायतका विभिन्न प्रतियोगिता जितेर धेरै पदक भित्र्याइसकेका छन् ।

विनाशकारी भूकम्पले रमेशकै जस्तै सूर्यबहादुर बस्नेतको जीवनलाई पनि विनाश गरिदियो । पहिले बालचित्र नेपालनामक संस्थामा काम गर्ने उनलाई बाथरुममा भएका बेला भित्तामा बजारिएपछि त्यही पर्खालले किच्यो र कम्मरमुनिको भाग पूरै प्यारालाइसिस भयो । प्रकृतिले दिएको चोट भरिँदै आएपछि उनको पनि हिजोआज दिनचर्या बदलिएको छ । उनले बनाएका रुद्राक्षको मालालाई धेरैले मन पराउँछन् ।

हाल संस्थामा एक सय १० जना अपांगता भएका व्यक्ति बस्छन् । उनीहरूले कुनै न कुनै विषयको तालिम लिएर सोही क्षेत्रमा काम पनि गरिरहेका छन् । उनीहरूले उत्पादन गरेका हस्तकलाको सामानलाई भने संस्थाले बजार खोजिदिन्छ । शरीरमा जुनसुकै किसिमको अपांगता भए तापनि उनीहरूको हातको सीप भने कसैको भन्दा कम छैन । उनीहरूले सिलाइबुनाइदेखि अति नै कठिन मानिने थान्कासम्म बनाउने गरेका छन् ।

हातमा रङ र ब्रस लिएर थान्काका निकै मसिना घेरा कोर्दै गरेका बीआईएका सदस्यलाई देख्दा उनीहरूको प्रतिभाको प्रशंसा नगरी रहन सकिन्न । योभन्दा पनि बढी आश्चर्य त तब लाग्छ, जब सुस्तमनस्थिति भएका २८ वर्षीय गोपाल पौडेलको खुट्टाले बनाएका चित्रहरू देख्न पाइन्छ ।

ओखलढुंगाका पौडेलले एक वर्षअगाडि बीआईएमै आएर उक्त कला सिकेका हुन् । उनले बनाएका सुन्दर चित्र हेरेर नै उनका अन्य साथीले मूर्ति बनाउने गरेका छन् । २२ वर्षीया मञ्जु कार्कीको एउटा हात चल्दैन । तैपनि अहिले एउटा मूर्ति बनाउन उनलाई बढीमा तीन दिनमात्रै लाग्छ । उनले मूर्तिकला यहीँ आएर सिकेका हुन् । उनको सबै परिवार सर्लाहीमा बस्छन् ।

तर, पनि शारीरिक अपांगता र त्यसमाथि सीपविहीन भएपछि भविष्यमा गाह्रो पर्छ भन्ने डरले उनले बीआईएमा आएर काम सिकेकी हुन् । अब आफू सक्षम भएपछि जहाँ गएर पनि जीविकोपार्जन गर्न सक्छु भन्ने आत्मविश्वास उनमा पलाएको छ । बीआईएमा बस्ने व्यक्तिपिच्छेका व्यथा फरक छन् ।

हस्तकलाका सामानमा धेरै बिक्री हुनेमध्ये बाँसको सामान पनि पर्छन् । बाँसकै मुडा बनाउँदै गरेका खोटाङका नरबहादुर राईले करिब ४० वर्षअगाडि १७ वर्षको उमेरमै बिफरले आँखा गुमाएका थिए । संस्थामा आएर काम सिकेपछि अहिले उनलाई बुढेसकालमा के गरेर खाने होला भन्ने चिन्ता लाग्दैन । दुई दिनमै उनी सुन्दर मुडा तयार गर्छन् र यसरी तयार भएका मुडालाई स्वदेशी एवं विदेशीले पनि धेरै मन पराउने गरेकाले बिक्रीका लागि अहिलेसम्म कुनै समस्या आएको छैन ।

यिनै सिपालु हातले बनाएका हस्तकलाका सामग्रीलाई बिक्री तथा प्रवद्र्धनका लागि संस्थाले एउटा सोरुम पनि बनाएको छ । सोरुममा थान्का चित्र, हस्तकलाका सामग्री, विभिन्न किसिमका मालाहरू, मूर्तिलगायतका धेरै सामग्री राखिएका छन् । त्यही सोरुमलाई हेरेर प्रभावित हुने ग्राहकका मागअनुसार, सामग्री तयार गरेर वितरण गरिने गरिन्छ । अपांगता भएर बीआईएमा आउने व्यक्तिहरूमध्ये पनि अति नै प्रभावितहरूका लागि होस्टेलको पनि सुविधा उपलब्ध छ । करिब ४० मानिस बस्ने होस्टेलमा शरीरलाई पूर्ण रूपमा विद्युत्को माध्यमबाट सञ्चालन गर्नुपर्नेका लागि पनि सहज छ भने कम जोखिमका बिरामीका लागि पनि सुत्ने व्यवस्था छ ।

होस्टेलको भुइँ अरूले सफा गरे पनि आफ्नो ओछ्यान आफैं मिलाउनुपर्ने नियम छ । पुरुषको तुलनामा महिलाका कोठा बढी सफा र चिटिक्क छन् । बिहान उनीहरूलाई योगा सिकाइन्छ । योगाका लागि एउटा ठूलो हल छुट्याइएको छ । संस्थाले हाल साँखुमा करिब १६ रोपनी क्षेत्रफलमा अग्र्यानिक खेती पनि सुरु गरेको छ । त्यसैगरी स्वयम्भूमा संस्थाले सञ्चालन गरेको एक अनाथआ श्रममा पनि धेरै बालबालिकाले आ श्रय पाएका छन् ।

रिन्पोचे कथा

चोग्याल रिन्पुचेको अगुवाइमा करिब तीन वर्षअगाडि बीआईए फाउन्डेसनको सुरुवात भएको हो । त्यतिबेला नेपालमा एचआईभी पीडित बालबालिकालाई निकै सहयोग हुन्थ्यो । शारीरिक रूपमा अपांगता भएका व्यक्तिलाई कसैको सहयोगको खाँचो छ भन्ने बुझेपछि चोग्यालले बीआईए जन्माए । नेपालका ठूला गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले पस्मिना, धुपलगायतका थुप्रै सामग्री बनाउन छोटा अवधिका तालिम दिन्छन् ।

तालिम सकेर सहभागीलाई प्रमाणपत्र दिएपछि उनीहरूको संस्थाको राम्रो रिपोर्ट तयार हुन्छ । यसैको आधारमा उनीहरूले अर्को प्रोजेक्ट पाए पनि तालिममा सहभागी हुने अपांगता भएका व्यक्तिले भने केही पाउँदैनन् । यस्तै तालिम लिएर आफूसँग १०, १२ वटा प्रमाणपत्र हुँदा पनि केही गर्न नसकेका व्यक्तिको पीडा देखेपछि उनलाई बीआईए स्थापनाको सोच आएको हो ।

कुनै पनि व्यक्ति दक्ष नहुन्जेल उनीहरूलाई इच्छानुसारको सीपको तालिम दिने र दक्ष भएपछि उनीहरूले बनाएका सामानको लागि बजार खोजिदिने । स्वतन्त्र रूपमा आफूले व्यवसाय सञ्चालन गरेर बस्न चाहनेलाई त्यही गर्न दिने उद्देश्यका साथ चोग्यालले संस्था दर्ता गरे । संस्था सञ्चालनको सुरुमा त्यहाँ आउनेले यहाँ आए कति रुपैयाँ पाइन्छ भन्ने प्रश्न गर्थे । सुरुमा चाबहिलमा ढाका बुन्ने इन्स्टिच्युट सुरु भयो भने जावलाखेलमा मूर्ति बनाउने अनि बत्तीसपुतलीमा सिलाइबुनाइको । चारैतिर छरिएर बस्नुभन्दा एकै ठाउँमा काम गर्दा सस्तो हुने सोचेर उनले बीआईएलाई राष्ट्रिय अपांग महासंघको हातामा सारे ।

देशैभरका अपांगता भएका व्यक्तिमाझ आफ्नो सेवा पुर्‍याउने लक्ष्य छ उनीसँग । त्यसैले ७५ वटै जिल्लामा यसको शाखा खोलेर काम अगाडि बढाउने विचारमा छन् उनी । ह्यान्डिक्राफ्ट भिलेजको निर्माण गरेर नेपालमा उत्पादन हुने सम्पूर्ण हस्तकलाका सामग्री एकै ठाउँमा पाइने सुविधा उपलब्ध गराउने योजना पनि छ चोग्यालसँग । चोग्याल विभिन्न देशमा गएर ध्यान सिकाउँछन् । ध्यान सिकाएर पाएको दक्षिणाले नै चल्छ संस्था । संस्थाको खर्च बढ्दै गएको छ त्यसैले उनले अमेरिका, जर्मनी र स्विट्जरल्यान्डमा पनि संस्था दर्ता गराएर त्यहाँका आफ्ना विद्यार्थीमार्फत अर्थ संकलनको काम अगाडि बढाएका छन् । उनले १६ वर्षको उमेरदेखि नै समाजसेवाको काम गर्न थालेका हुन् । उनलाई आठ देशका भाषा बोल्न आउँछ ।

सबै धर्मलाई समान मान्ने चोग्याल पाँच वर्षको उमेरमै भारतको सिक्किम गएर पढ्न थालेका हुन् । उनले २० वर्षसम्म अध्ययन गरेको विषयको व्यावहारिक ज्ञान हासिल गर्नका तीन वर्ष ६ महिना कैलाश पर्वतमा ध्यान गरेका थिए । त्यहीँबाट सिकेका कुरालाई जीवनमा लागू गर्दै उनी अरूको जीवन खुसी बनाउने लक्ष्यका साथ अगाडि बढेका छन् । आध्यात्मवादलाई मानसिक स्वास्थ्यसँग जोडेर ध्यानकला सिकाउने उनका दुई कृति प्रकाशनको तयारीमा छन् ।

मानिस कसरी खुसी रहनेभन्दा पनि कसरी धेरै कमाउने भन्नेतर्फ बढी केन्द्रित भएकाले जीवनमा सुख र शान्तिभन्दा बढी दुःख र पीडा भित्रिएको उनी सुनाउँछन् । जीवनमा खुसी रहन मानिसले आफूले पाएका कुरा अरूलाई कसरी बाँड्ने भनेर सोच्नुपर्ने उनको सुझाव छ । उनी पूजाआजामा विश्वास गर्दैनन् तर, ध्यान गर्ने र सिकाउने गर्छन् । उनका परिवार २० वर्षअघि नै स्विट्जरल्यान्डमा बसाइ सरेको थियो । परिवारका चार छोरी र तीन छोरामध्ये उनी तेस्रो सन्तान हुन् । परिवारका सबै सदस्य स्विस नागरिक भए पनि आफूलाई नेपालको माया लाग्ने र सधैं नेपाली नै बाँच्ने रहर भएको उनी सुनाउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.