उस्तै छ चर्पी चिन्तन

उस्तै छ चर्पी चिन्तन

प्रसंग २०३० सालतिरको हो । खोटाङ जिल्लाको सिम्पानी माविमा प्रधानाध्यापक भएँ । विद्यालयमा सुधार गर्नुपर्ने थुप्रै थोक थिए । एक्लैले गर्नसक्ने कामको लिस्ट बनाएँ । त्यसलाई प्राथमिकताक्रममा राख्दै गएँ । चर्पी निर्माण पहिलो प्राथमिकतामा पर्‍यो । भोलिपल्टै मैले काम सुरु गराएँ । शिक्षक-विद्यार्थी सबैजना खाल्डो खन्न लाग्यौं ।

विद्यालयमा खन्ने सामग्री हुने कुरा भएन । विद्यार्थीले हराइदिन्छन् भनेर गाउँलेले खन्ने सामग्री दिएनन् । येनकेन काम चलाउने क्रममा विद्यालयबाट केही खन्ने सामग्री किनियो । खाल्डो खनियो । मुखीबाँस काटेर खाल्डो छोपियो । पछि त्यो त्यहीँबाट पलाएर ठूलो झाँग समेत भयो । चर्पी अपुग भएपछि विद्यार्थी त्यसै बाँसझाँगको पछाडि गएर बस्न थाले ।

लक्ष्य दुईवटा थिए । चर्पी बनाउनुपर्छ भनेर विद्यार्थीले घरमा सन्देश लैजालान् र गाउँमा चर्पी बन्लान् । अर्काे, शिक्षकहरूको घरमा समेत चर्पी थिएनन् । चर्पी बन्लाल् । तर, परिणामशून्य देखियो । शून्यबाट पनि माइनसमा झरेको परिणाम त अझ त्यतिखेर देखियो जब एकजना स्वास्थ्य पढाउने शिक्षक बारीको कान्लामुनि शौच गर्दै गरेको दृश्य मेरै छोराले देखाइदियो । 'सर त अनिवार्य रूपले चर्पीमा मात्रै दिसापिसाब गर्नुपर्छ भन्नुहुन्थ्यो त बुबा ? '

भनेर छोराले सोधेपछि उत्तर दिने ठाउँ रहेन । परिवारका सबैले देख्यौं । मनमा खिन्नता उब्जियो । स्टाफ मिटिङमा कुरा राखियो । चर्पी बनाएको रिपोर्ट आयो । बरु, गाउँले त्यसमा पनि सकेसम्म आफ्नै छिमेकीमाथि दोष थोपरियो । गाउँ पञ्चायतबाट प्रस्ताव पास गराएर प्रचार गराउनुपर्ने सुझाव आयो । सुझाव निकै राम्रो पनि थियो । तर कार्यान्वयन कसरी ? यसको जवाफ कसैसँग थिएन ।

२०४५ सालमा पूर्वाञ्चलमा ठूलो भुइँचालो गयो । पुनःनिर्माणका क्रममा सरकारले चर्पी निर्माणको समेत कार्यक्रम राख्यो । चर्पी निर्माण गर्ने घरलाई ६ सय रुपैयाँको थैली दिने भयो । आआफ्ना घरकरेसामा धेरैले खाल्डो पनि खने । रीत नपुर्‍याएको खाल्डालाई पैसा दिइएन । रीत पुर्‍याएजस्तो गरेर खनिएको खाल्डोमा 'परिवारका सबै सदस्यले एकै स्थानमा शौच गर्न हुँदैन' भन्ने मान्यता बोकेकाहरू गएनन् । पाखैमा गए । सुधार आएन । 'गाउँफर्क राष्ट्रिय अभियान'ले पनि चर्पीको अभियान ल्याएको थियो । तर, त्यस बखत पनि चर्पी बनेका थिएनन् । पहाड भित्तामा पानीको मुहान नसुकेका बखतका कुरा केही भिन्न थियो । खोल्साखाल्सीमा शौच गर्दा पानीले केही बगाएर पनि लैजाने गथ्र्यो । सफासुग्घर रहन चाहनेले त्यहीँको पानी प्रयोग पनि गर्थे । तर, अहिले त्यो सुविधा छैन ।

एकपटक 'राष्ट्रिय विकास सेवा' अर्थात् राविसेको कार्यक्रम आयो । त्रिभुवन विश्वविद्यायलमा स्नातकोत्तर पढ्दै गरेका विद्यार्थी एक वर्षका लागि गाउँगाउँ पसे । गाउँमा चर्पी निर्माणको कार्यक्रम यिनीहरूसँग पनि थियो । आफू डेरा बसेको घरमा यिनीहरूले चर्पी बनाए पनि । राविसे कार्यकर्ता आफू त त्यसमा गए तर घरका मानिस गएनन् । देशको पश्चिमतर्फ गएको राविसे विद्यार्थीले पूर्वमा बसेको साथीलाई पश्चिमका गाउँको परिचयको सन्देश यसरी पठायो— गन्हाउन सुरु गर्नासाथ गाउँ आयो भन्ने थाहा हुँदो रहेछ ।

तराई÷मधेसको कुरा झन् भिन्न छ । 'दिसा बस्न' जाने भनेर त्यहाँ भनिँदैन । 'मैदान जाने' भनिन्छ । यसको अर्थ दिसा गर्न मैदान अथवा चौरतर्फ जाने भनेको हो । थोरै फरक यहाँ के छ भने, मैदान जानेमध्ये धेरैले एउटा लोहोटामा पानी बोकेका हुन्छन् । कतिले त त्यही पनि बोकेका पनि हुँदैनन् । सबैभन्दा बिजोग महिलाको हुन्छ । चौर वा खेतमा छेलिने केही चिज हुँदैन । त्यसै कारण अँध्यारैमा मैदान जाने कतिपय महिला सर्पको सिकार बनेका हुन्छन् । कतिपय गाउँमा जमिनदारका जमिनमा एउटा झुप्रो बनाएर बस्ने गरिबहरूले चर्पीसमेत बनाउने जमिन कहाँ पाउनु ! बालबच्चा, केटाकेटीहरू प्रायः बाटैमा दिसा गर्न बसिरहेका देखिन्छन् । आमाबाबुहरूमा त्यो सफा गर्ने आदत परेको छैन ।

आजभन्दा ५० वर्ष पहिलाको कुरा हो । सिरहा जिल्लाको एउटा गाउँमा म बस्थेँ । पोखरी एउटा थियो । त्यसको वरिपरि खेत । मानिस खेतमा दिसा बसेका देखिन्थे । दिसा धुन आउने स्थान त्यो पोखरी थियो । पानीले सफा गर्ने क्रममा त्यो पानी पुनः पोखरीकै पानीमा गएर मिसिन्थ्यो । गाउँका सबै मानिसको शौच गर्ने रिवाज नै यस्तै थियो । घरमा कोही 'मेजमान' (पाहुना) आए भने तिनलाई पनि 'पोखैर यै दिसन छे' भनेर अग्रिम सूचना दिइन्थ्यो । खेतमा दिसा गर्न बसिरहेको बखतमा त्यही बाटो हुँदै सासूससुरा नै आए भने पनि ज्वाइँले लाज मान्ने कुरा थिएन । महिलाहरू आएमा तिनीहरूले आफ्नो टाउको विपरीततर्फ फर्काएर हिँड्ने गर्थे ।

अझ अनौठो मान्नुपर्ने कुरा त के थियो भने गाउँका सबै मानिस सो पोखरीमा स्नान गर्न आउँथे । दिनको १२ बजेतिर गाउँका सबै भैंसी पनि त्यही पोखरीमा स्नान गर्न आउँथे । तर, एउटा उल्लेखनीय कुरा के थियो भने त्यस कृत्यमा महिलाहरू सामेल थिएनन् । त्यसलाई लुकाउनुपर्दा उनीहरूले कति कष्ट उठाउनुपथ्र्यो होला, त्यसको पीडा उनीहरूसँगै थिए । स्नान गर्नका लागि गाउँमा केही इनार त थिए तर चर्पीको नामोनिशान थिएन । त्यो गाउँमा मधेस मूलका जमिनदार पनि थिए, पहाड मूलका जमिनदार पनि थिए । दुवैले आआफ्नो देहरीभित्रै अछूतलाई बर्जित गरिएका इनार त खनाएका थिए तर चर्पी दुवैले बनाएका थिएनन् ।

यिनै जमिनदारहरूका घर, जिल्ला सदरमुकाममा पनि थिए । त्यहाँ भने यिनीहरूले चर्पी बनाएका थिए । सो चर्पीमा तल टिन थापिएको हुन्थ्यो । टाउको निहुर्‍याएर टिनतर्फ हेर्‍यो भने आफ्नै दिसा तल गएर टिनमा डुबुल्की मार्दा त्यहाँबाट उछिट्टिएको पवित्र पञ्चामृत मुखमा आइपुग्थ्यो । दिउँसो डोमराहीबाट छुटेका सुँगुरहरूले त्यहाँ आएर सो टिन ढालिदिएपछि जिमदार साहेबको पूरै देहरी दुर्गन्धित हुन्थ्यो । यो अवस्था जिमदार साहेबको देहरीमा मात्र होइन, पूरै सहरमा थियो ।

सरकारले गर्ने सहरी सुग्घरसफाइ र खानेपानीको व्यवस्थाको कुरा अहिले नगर्दा हुन्छ । खापासटे (खानेपानी तथा सरसफाइ टेक्निसियन)को प्रोग्राम सरकारले एकपटक ल्याएको थियो । खानेपानीसँग सरसफाइ जोडेर ल्याएको प्रोग्राम अवश्य पनि राम्रो थियो । तर, सो के भयो र कहाँ पुग्यो ? पत्तो छैन । हामी नेपालीले आफ्नै मलमूत्रमात्र पनि व्यवस्थापन गर्न सिक्यौं र खानेपानीमात्रै पनि छानेर अथवा उमालेर पिउने बानी बसाल्यौं भने शरीरभित्र रोग छिर्नै सक्तैन । तर, यति शिक्षा दिने कसले ?


पहाडतर्फ चर्पी निर्माणका त कुरै छाडौं, दिसा बस्न जाँदा पानी लिएर जाने संस्कृतिको विकास आजसम्म भएको छैन भन्दा लाज मान्नु पर्दैन । पहाडबाट लहान बजारमा नुन साट्न झरेका मानिसहरूको यो बानी देखेका मधेस मूलका केटाहरूले मलाई स्कुलमा 'अगल पहाडिया बगल पहाडिया ढेपा पुछे गायँड' भनेर जिस्क्याउँथे । भाषा प्रस्ट नबुझे पनि संकेतले कुरा बुझेर पनि जवाफ दिने ठाउँ रहँदैनथ्यो ।


आज पनि पहाड होस् वा मधेस, गाउँ पस्ने बेलामा एउटा न एउटा दुर्गन्धित गौंडोको सामना गर्नैपर्ने बाध्यता छ । मधेसको दाँजोमा दिसा गर्न बसेको अर्धनंगा मानिस पहाडमा कम देखिन्छन् । तर, यो चेतनामा विकास भएको कारणले होइन बरु पहाडका बुट्यान र ढिस्का वा ढुंगाले छेलेरमात्र नदेखिएको हो । नत्र हालत एउटै हो । यस मामलामा काठमाडौं र पोखराजस्ता शहरहरू सुरक्षित, सफा, सभ्य र सुगन्धित छन् त ? त्यो झन् होइन । नालाबाट आएको खानेपानीमा 'कोलिफर्म' मिसिएकोमात्र होइन, ढलमा देखिने ढाडे कीरा धारामा थाप्तै गरेको पानीमा नालैबाट पौडी खेल्दै डाइभ गर्न आइपुग्छन् ।


विसं ०२६ तिरको कुरा हो । अंग्रेजी भाषाको तालिम लिन काठमाडौं आएको थिएँ । स्थान थियो ताहाचल । एक दिन पढाउने ब्रिटिस शिक्षकसँगै विष्णुमती पुल पार गर्दै थियौं । पुलको वल्लोपल्लो मुख यति दुर्गन्धित थियो कि त्यो ब्रिटिस कुद्यो । म त बानी परेकाले विस्तारै हिँडे । भेट भएपछि सोधेँ, 'ह्वाई ? ' त्यसले जवाफ दियो, 'यु नो क्याटमान्डो इज अ बिग ल्याट्रिन' । यसको जवाफ मसँग कहाँबाट होस् ! भोलिपल्ट सिंहदरबार मन्त्रालयमा जानु थियो ।

प्रोग्राम चिफ श्रद्धामान शाक्यलाई मन नलागी नलागी भने । उनले पनि के गर्थे र ! कुम उचालेर अँध्यारो मुख लगाए । सकियो । त्यति बेला म पहिलोपटक काठमाडौं आएको थिएँ । मानिसको आफ्नै मलमूत्रले राजधानी सहर र गाउँ एकैनासले दुर्गन्धित भएको अनुभव भएको थियो । ४७ वर्षपछिको काठमाडौं आज कस्तो छ ? त्यो ब्रिटिस टिचर आज पनि बाँचिरहेको भए र काठमाडौं घुम्न आउँथ्यो भने सायद एअरपोर्टबाटै बेलायत फर्किन्थ्यो होला । किनभने त्यो बूढो भइसकेको हुने थियो र कुद्न सक्ने थिएन ।


भर्खरैको कुरा हो, ००७ साल र रामप्रसाद राईलाई खोज्दै भोगिराज चाम्लिङ र म उदयपुर, सुनसरी र मोरङ पुगेका थियौं । बसमा यात्रा गर्न नसक्ने व्यथा लागेकाले भोगीराजले सलकपुरबाट तीनपांग्रे सिटी यातायात गाडी रोज्नुभयो । विसं १९९९ को विजनदर्ताको काममा रामप्रसाद राईसँग सँगै हिड्नुभएका लक्ष्मीप्रसाद रेग्मीलाई भेट्न भमरी जाँदै थियौं । सुस्त गतिमा गुडेको सिटी यातायातले बाटाका सबै दृश्य देख्ने र अनुभव गर्ने मौका त पाइयो नै । भोगीराजजीले बाटैमा दिसा बसेको मानिसतर्फ मलाई संकेत गरेपछि मेरो मन त्यो सिटी यातायातलाई छाडेर उड्यो ।

चर्पी काण्डमा विगत ५० वर्षका अनुभवका थलाथलामा मनले बेग हान्दै गयो । '००७ सालको क्रान्तिमा किरातीले क्षेत्री-बाहुनलाई लुटेकै हुन् त ? ' भन्ने प्रश्नमा लक्ष्मीप्रसाद रेग्मीको उत्तर सुन्न थालेपछि मात्र मेरो मनले ल्यान्ड गर्‍यो । उहाँ भन्दै हुनुहुन्थ्यो, 'आजको पुस्ताले जुन प्रजातन्त्रको उपभोग गर्दैछ, त्यो किरातीहरूले ल्याइदिएको प्रजातन्त्र हो । 'किराँतीले लुटे' भन्ने प्रतिक्रान्तिका मतियार पण्डितहरूले लगाएको आरोपमात्र हो ।

के तिनीहरूले प्रजातन्त्र ल्याइदिन सक्थे ? त्यस कारण हामी सबैले किराँतीहरूलाई जति धन्यवाद दिए पनि त्यो थोरै हुन्छ । उनीहरूले त्यति ठूलो गुन नेपाल र नेपालीलाई लगाएका छन् ।' यस्तै बान्कीको उत्तर अघिल्लो दिन बेलुका पनि तुलसीप्रसाद रेग्मीबाट प्राप्त भएको थियो ।

राती सप्तरी जिल्लाको कञ्चनपुरमा आएर बास बसियो । भोलिपल्ट बिहानै उठेर हेर्दा चन्द्र नहरको डिलमा वारसेपारतक मानिसहरू खुला 'रेस्ट रुम'मा बसिरहेका थिए । हामी काठमाडौं आउने बसमा चढ्यौं । चर्पी बनाउने चेतना आउन सायद अर्को शताब्दी पनि कुर्नुपर्ला ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.