आत्मकथामा सत्य र इमान

आत्मकथामा सत्य र इमान

काठमाडौंमा केही साताअघि आह्वान समूहले 'आत्मलेखनमा इमानदारिता' विषयमा छलफल गरेको थियो । छलफलमा वक्ता थिए- लेखक राजेन्द्र पराजुली र कवि ज्योति जंगल । मध्यस्तकर्ता थिइन् लेखक कुमारी लामा ।

अहिलेको पुस्तक बिक्रीको प्रवृत्ति हेर्ने हो भने सबैभन्दा बढी बिक्ने पाठयपुस्तक, त्यसपछि उपन्यास र आत्मकथा नै होलान् । जाहिर छ, अरूको दाँजोमा सेलिब्रेटीका आत्मकथा नै बढी बिक्छन् ।

नित्सेको भनाइअनुसार 'आजको व्यक्ति, हिजो कस्तो थियो भन्ने बुझ्न आत्मकथा पढिन्छ ।' नेपाली पाठकवृत्तमा नित्सेको भनाइ सान्दर्भिक पनि छ । सार्वजनिक छवि बनाइसकेका व्यक्तित्वका बारेमा पढ्न पाठक उत्सुक हुन्छन् पनि । पुस्तक बजारमा आउनेबित्तिकै पाठक-उत्कण्ठा चरम हुन्छ तर पुस्तक पढेपछि असन्तुष्टिका स्वर पनि चर्कै सुनिन्छन् । हुन त समय, कागज र स्मृतिको सीमितताले एउटै किताबमा आफ्नो सम्पूर्ण जीवन कसैले पनि उतार्न सक्दैन । त्यसै कारण किताबले सबै पाठकलाई सन्तुष्ट गर्न पनि सक्दैन ।

आत्मजीवनकथा लेख्दा रचनात्मक शिल्पसँगै लेखकीय आचारविचार, निष्पक्षता, तटस्थता, आत्मसमीक्षा, कथ्य र वर्णनात्मक शिल्प पनि महत्त्वपूर्ण हुन्छन् । त्यसैले आत्मकथा-संरचना विज्ञका अनुसार जति इमानदार भएर लेख्दा पनि, घटनाक्रम सत्य भए पनि लेखकीय दृष्टिकोण र रचनात्मक अभिव्यक्तिले गर्दा तथ्यात्मक आत्मचिन्तनशीलतामा कल्पनाको सम्मिश्रण हुन्छ । त्यसकारण पाठकले आत्मकथामा इमानदारिता खोज्नु र लेखकले अक्षरतः सत्यको दाबी गर्नु अतिशयोक्तिपूर्ण हुन्छ । झन् प्रेतलेखकद्वारा रचित 'आत्मकथा'मा इमानदारिता र सत्यताबारे बहस गर्नु हास्यास्पद विषय हो । प्रेतलेखकद्वारा लिखित व्यक्तिपरक कथा, संस्मरणलाई अटोबायोग्राफी किन र कसरी भनिन्छ भन्नेबारे छलफल हुन जरुरी देखिन्छ ।

आत्मलेखनमा सत्य र इमानदारितालाई बहुल कोणबाट बुझ्न सकिन्छ- लेखकका जीवनका घटनाक्रमबारे इमानदारिता, व्यक्तिगत इतिहासबारे इमानदारिता, लेखकको आत्मशीलता, व्यक्तिगत पहिचान, आत्म रूपान्तरण विकासक्रमबारे इमानदारिता अथवा ऐतिहासिक र सांस्कृतिकबारे इमानदारिता । लेखकको आफ्नो बाल्यकालदेखि वर्तमानसम्मको आत्मपरिचय, अनुभव केलाउने दृष्टिकोण र वर्तमानमा लेख्ने आत्मकथानक वास्तवमा कसैका लागि अहमयुक्त हुन जान्छ भने कसैका लागि अहममुक्त आत्मसमीक्षा ।

कथाकारको 'म' र कथात्मक आत्मकेन्द्रित 'म'बीच अश्रंखलित सम्बन्ध हुन्छ । लेखकले आफूलाई जति केन्द्रमा राखेर विगतानुभूतिलाई सिलसिलेवार तरिकाले लेखे पनि परिवारका र समाजका अरू पात्रको उपस्थितिबिना आत्मलेखनले पूर्णता पाउँदैन ।

आत्मकथाको संरचना, साहित्यिक विधा, सांस्कृतिक विषयवस्तु र सन्दर्भ सबै लेखक हुर्केको परिवेशबाटै सिर्जित हुन्छ । त्यसैले आफूलाई केन्द्रमा राखेर आत्मकथा लेखे पनि त्यो कथा आफ्नो परिवेश, परिप्रेक्ष्य र समयकालमा पराश्रित हुन्छ । आत्मपरक लेखनमा कतिसम्म इमानदारिता हुनसक्छ प्रश्नको उत्तरमा भन्न सकिन्छ कि जीवनको परिवर्तनशीलता, 'स्व'को गतिशीलता, परिवर्तनशीलता र जीवनका ससाना घटनाले बनेका कथामा अरू पात्रलाई पनि केन्द्रमा राखेर उदार र तटस्थभावले बुझ्ने प्रयास गरियो भने आत्मकथामा केही हदसम्म इमानदारिता हुनसक्छ ।

विगत स्मृतिबाट धुलो टकटक्याउँदै वर्तमानमा लेख्दा काल्पनिकताको अंश थपिन्छ, त्यसप्रति सजग हुने र कति थप्ने त्यो कथाकारको आत्मनिर्णयबाट निर्देशित हुन्छ । किनकि समयचक्रमा लेखकको वर्तमानको स्वायत्त आत्मपरिचय 'म' विगतको 'म'बाट धेरै फरक हुन्छ । तसर्थ समय परिवर्तनले गर्दा वर्तमानको 'म'ले विगतको 'म'लाई पुनस्र्थापित गर्ने मौका पाउँछ । वास्तवमा आत्मलेखन यस्तो अप्ठ्यारो केन्द्रमा बसेर लेखिन्छ जहाँ न लेखकको पूर्वानुभवलाई नै सत्य मान्न सकिन्छ, न उसको वर्तमानको कर्ता लेखनलाई ।

वर्तमानमा बसेर विगत स्मरण गर्दा कर्ताको विगत परिचय र विगत समयानुभूतिलाई जस्ताको त्यस्तै लेख्ने प्रयासमात्र गर्न सकिन्छ । प्रायःजसो समकालीन आत्मकथा लेखनको आत्मसमीक्षा र आत्मस्वीकारोक्तिमा 'म' पात्रको नैतिक निष्ठालाई प्रश्न गर्ने ठाउँ भए पनि 'म'को सन्दर्भसित गाँसिएर आएका राजनीतिक, सामाजिक र सांस्कृतिक पक्षको औचित्यलाई नकार्न मिल्दैन । केही अपवादबाहेक समसामयिक आत्मलेखनको बाढीमा फितलो राजनीतिक स्तिथि, राज्य सञ्चालन गर्ने व्यक्तित्वहरूको आपसी खिचातानी, संकुचित सोच, शक्ति दम्भ, जातीय, लैंगिक विभेद, वर्गीय विभेद केही हदसम्म प्रतिनिधित्व भएका छन् ।

पुरुषरचित आत्मकथामा पुरुष लेखकको 'म' समाज र देश निर्माण गर्ने सच्चा सपूतका रूपमा प्रस्तुत भएको छ भने महिलाको 'म' पीडित, शोषित, विभेदीय समाजको अघोषित नागरिकका रूपमा प्रस्तुत भएको छ । लेखनमा आत्मप्रस्तुति इमानदार नभए पनि, विभेदीय सामाजिक संरचना, असमतावादी अभ्यास, लैंगिक विभेद र अन्योन्याश्रित सामाजिक सम्बन्धहरूको चित्रणमा केही हदसम्म सत्यता देखिन्छ । जस्तै पुरुष 'म'लाई हिरो हुनुपर्ने बाध्यता । अरूलाई हप्काएर, लप्काएर, सल्लाह दिएर, 'मैले देश जोगाएँ', 'मैले गणतन्त्र ल्याएँ', 'मैले प्रधानमन्त्रीलाई घुक्र्याएँ', 'मैले राष्ट्रपतिलाई जोगाएँ'जस्ता आत्मकीर्तिको किर्तेगाथा रच्न बाध्यता छ पुरुषलाई ।

अरूमाथि हैकम गर्न सकेन, ठूलो स्वर गर्न सकेन, बाहुला सुर्केर पुरुषार्थ प्रदर्शन गर्न सकेन भने नामर्द भइन्छ भन्ने डर छ उसलाई । यी आत्मगाथा पढ्दा मनमा प्रश्न उठ्छ- यस्ता देश हाँक्ने व्यक्तित्वहरू हुँदा पनि देशको यस्तो बिजोक किन होला ?

कार्यक्रमको छलफलमा प्रश्न उठेको थियो- लोकराज बरालले अघोगति लाग्दै गरेको त्रिवि राजनीनतिशास्त्रको विभागीय प्रमुख भएर व्यवस्थापन पक्षमा, प्राज्ञिक पक्षमा गर्न नसकेका कुराबारे किन लेखेनन् ? रुकमांगद कटवालाले किन आफ्नो ओखलढुंगाको बाल्यकालबारे लेखेनन् ? प्रायःजसो पुरुष-लेखक किन आफ्ना परिवार र श्रीमतीबारे लेख्दैनन् ? कारण आआफ्नै हुन सक्छ्न । पहिलो, आत्मकथा आत्मरोजाइको विषय हो । कुन लेख्ने, कुन नलेख्ने त्यो लेखकीय स्वतन्त्रताका विषय हुन् ।

दोस्रो, आफ्नो कथासित परिवारको कथा जोडिएर आउने प्रसंगमा अरू पात्रको सहमति चाहिन्छ । लेखन-एथिक्सको कुरा आउँछ । तेस्रो, परम्परावादी सोचको भारले थिचिएका आत्मकथाकारको 'म' पात्रमा पुरुष-अहंको मुख्य कारक तत्त्व रूढिवादी लैंगिक धारणा पनि हो । जस्तै घरपरिवार जहान, बच्चाका कुरा पुरुषले गर्ने कुरा होइन भन्ने सोचाइका कारण । र, त्यसैले आत्मनिष्ठ आत्मकथा लेखनको अभाव छ । आफ्नो असफलता, डर, दुःख, कमजोरी, आँसु, भय सबै लुकाएर पुरुषार्थको अभिनय गर्न बाध्य हुन्छन् पुरुष लेखक ।

पुरुषलाई हिरो हुनुपर्ने बाध्यता छ भने महिलालाई कठै-पात्र हुनुपर्ने बाध्यता । अहिले पनि हाम्रो समाजमा आत्मविश्वास, साहस, सनक, कुल-माइन्डेड, अराजक, विद्रोही आदि मर्दका गुण भनेर बुझिन्छन् भने विपरीतार्थी गुणहरू अ-मर्द अथवा महिलाका गुण भनेर बुझिन्छ । अपरिवर्तनीय लैंगिक धारणाअनुसार भावुकता, बुद्धिहीनता, तर्कहीनता, शारीरिक र मानसिक असमर्थता आदिलाई नारीयोचित गुणका रूपमा बुझिएको हुनाले महिला-लेखकलाई रुन, गुनासो गर्न, आफ्नो शोषक र शोषणबारे कनफेस गर्न केही हदसम्म छुट हुन्छ ।

तर, आत्मपरिचयका लागि परनिर्भर महिलालाई स्वतन्त्र रूपले 'म' पात्र भएर आत्मलेखन गर्न सजिलो हुँदैन । कमजोर मानिएकी महिलालाई आफ्नो कमजोरी, असफलता, दुःख प्रस्तुत गर्न अपेक्षाकृत रूपमा सजिलो हुन्छ तर उनीहरूको आफ्नो स्वतन्त्रता, आत्मविश्वास, आत्मरोजाइ र आत्मसन्तुष्टिलाई उच्छृंखल अर्थमा बुझिन्छ कि भन्ने डर हुन्छ ।

पुष्कर शाहले खुलेर लेखेका आफ्नो सेक्सुअल चाहना र शारीरिक सन्तुष्टिका प्रसंग महिला लेखकका लागि अकल्पनीय छ । केही अपवाद भने पक्कै छन् । देश र विदेशका केही महिलाका आत्मकृतिलाई अपवादका रूपमा स्मरण गर्न सकिन्छ तर ती कृति आफ्ना समयका विवादित किताब थिए जसलाई पछिल्लो पुस्ताका पाठकले स्वीकार गरेका छन् । धेरै समयपछि मात्रै ती आत्मकृति महिलाका 'बोल्ड आत्मकथा'को श्रेणीमा अग्रस्थान बनाउन सक्षम भएका छन् । लेखनमा इमानदारिताका धेरै कारणमध्ये एउटा कारण हाम्रो संकीर्ण सोच पनि हो र अपरिवर्तनीय लैंगिक सोचले निर्देशित छ हाम्रो मूलधार सांस्कृतिक सोच ।

पुरुषत्वलाई गुणवत्ता र क्षमताको अर्थमा र महिलालाई कमजोर अर्थमा बुझ्ने हाम्रो समाजमा छापिने आत्मकथा, त्यो पनि सेलिब्रेटीका (जस्तै- रुकमांगद कटवाल, विनोदकुमार चौधरी, विजय कुमार, रमेशनाथ पाण्डे, किशोर नेपाल र अन्य)ले लेखेका कितबमा 'हिरोइज्म'को चाह त्यही सोचको परिणाम हो ।

संवादात्मक सिद्धान्तअनुसार प्रत्येक शब्द, अभिव्यक्ति, कथन र कथाको अर्थ समसामयिक प्रसंगमा आधारित हुन्छ । त्यसैले आत्मवादी कथा भए पनि त्यसले अरू व्यक्तिसितको पारस्परिक सम्बन्ध, समाजको मूल्य र मान्यताको झलक दिन्छ । लैंगिक दृष्टिबाट ती आत्मकथा पढ्दा समकालीन समाजको आँखीझ्यालजस्ता लाग्छन् । जोखिम, साहस, संघर्ष, बौद्धिकता, तार्किकता, घरको संसार चलाउन असमर्थ रहे पनि बाहिरी संसार हाँक्ने अदम्य साहस र सामथ्र्यको अभिनय गर्न अभिशापित पुरुष तटस्थ आत्मसमीक्षा गर्न असमर्थ रहेका कारण इमानदारितामा चुकेका हुन्जस्तो लाग्छ ।

साँच्चै भन्नुपर्दा विभेदीय लैंगिक सोचले पुरुषलाई कुन हदसम्म शोषण गरेको रहेछ भन्ने प्रमाण हुन् यी- आत्मकथा । शक्ति र सत्तानजिक रहेर देशलाई दिशानिर्देश गर्ने उल्लिखित सेलिब्रेटी व्यक्तित्वलाई महामानवबाट मानवमा झारिन्छ कि भन्ने भयले गाँजेको भान हुन्छ । सायद त्यसै कारणले हो, उनीहरूका आत्मकथामा विजय, उन्माद, हर्ष, सफलता र 'हिरोइज्म'ले मात्रै ठाउँ पाएका छन् । बढी बिकेका पुस्तक भनेर चिनिने यी आत्मकथा पढ्दा मनमा प्रश्न उठ्छ- के पुरुषत्वमा विकल्प छैन ? विविधता छैन ? के पुरुष शोषित हुँदैनन् ? सबै पुरुष शक्तिशाली छन् ? पुस्तक बजारको बिक्री हेर्दा लाग्छ- आत्मकथा भनेकै सेलिब्रेटी ठूलाबडाका मात्रै हुन्छ । सामान्य पुरुषको आत्मकथा नै हुँदैन ।

विगतका कथा-घटनालाई वर्तमानमा कालानुक्रमिक बयान गर्ने प्रयास सत्यलाई प्रस्तुत गर्ने अस्थायी प्रक्रियामात्रै हो । विश्वव्यापीपकरण र अत्याधुनिक विद्युतीय सञ्चारको युगमा विभिन्न तरहका सूचना र ज्ञानले व्यक्तिको स्वायत्त (सांस्कृतिक) आत्मपहिचानलाई जटिल बनाएको छ । व्यक्तिपरक पहिचानको कुरा (सब्जेक्ट र आइडेन्टिटी) आधुनिक समयमा मिथकसरह भए पनि कथाकारको व्यक्तिपरक परिचयमा कति सत्यता छ, बुझ्न पाठकलाई गाह्रो हुँदैन । परिवर्तनशीलताको अवश्यम्भाविता स्वीकार गर्दै आत्मलेखनमा 'म'को इमानदारितालाई प्रश्न गरे पनि 'म'को सन्दर्भसित गाँसिएर आएका ऐतिहासिक, सामाजिक र सांस्कृतिक पक्षको औचित्यलाई नकार्न मिल्दैन ।

फरक समयमा र फरक संस्कृतिमा लेखिएका इमानदार लेखनले फरक संस्कृति र फरक ठाउँ, फरक मूल्य र मान्यताबारे जानकारी दिन्छ नै र हामी सबै मानव मूल रूपले एउटै हौं भन्ने सोचलाई चुनौती दिँदै बहुसंस्कृति र बहुसमाजको अस्तित्वलाई सघाउ पुर्‍याउँछ । तर, हाम्रो साहित्यको प्रवृत्ति हेर्दा लाग्छ- आत्मलेखनमा अहिले पनि शक्तिकेन्द्र वरिपरिका आत्मगाथाले मात्रै ठाउँ ओगटेको छ ।

'महत्त्वपूर्ण राष्ट्रिय घटनाहरूमा भूमिका खेल्ने, राष्ट्र निर्माणमा सघाउ पुर्‍याउने ठूलाबडाका मात्रै आत्मकथा हुन्छन्' भन्ने परिभाषा अब पुराना भए । आत्मअनुभव सबैका हुन्छन् तर सबैले लेख्दैनन् । लेखे पनि पाठकले पढ्दैनन् । प्रेतलेखकले लेखेका सेलिब्रेटी कथा पनि बायोग्राफी, अटोबायोग्राफी भनिएर बकाइदा बिक्दैछन् । अझै पनि सीमान्तकृत वर्ग र निर्धा नागरिकका कथाका लागि बजार र पाठक उदार भएका छैनन् । हुन त विदेशमा सामान्य मानिसका जीवनकथा, साहित्य, समाजशास्त्र, मौखिक इतिहास, समकालीन कला र मानव-जीवनको बहुलताको सन्दर्भमा उपयोगी मानिएको छ ।

त्यस्ता कथामा नैतिकता, मौलिकता, अभिव्यक्तिको सौन्दर्य पक्षलाई कसरी सार्वजनिक गर्नेबारे लेखनबाहेक अरू माध्यम प्रयोग भएका छन् । जस्तै- डकुमेन्ट्री, फोटोग्राफी, गीत र अन्य कलाका विधामार्फत । सबै आत्मकथा सफलताका कथा हुन जरुरी छैन । सबै आत्मकथा सम्भ्रान्त वर्गका कथा हुनुपर्छ भन्ने छैन र लेखक सेलिब्रेटी हुनुपर्छ भन्ने पनि छैन । आत्मवृत्तान्तले मानवमा अन्तर्निहित मूलभूत मानवता, विविधता र तत्त्वमिंमासाबारे पाठकलाई जानकारी गर्नुपर्छ र सबै आत्मकथा प्रेरक, उपदेशात्मक अथवा शक्तिकेन्द्रको वरिपरि लेखिएका हुनपर्छ भन्ने बाध्यता छैन ।

आत्मलेखनमा पूर्ण इमानदारिता असम्भव भए पनि लेखकीय आत्मनिष्ठा, आत्मसमीक्षा, आत्मवृत्तान्त कथनकला, व्यक्तित्व र इतिवृत्तिको प्रसंगले समयकालको विविधता प्रस्तुत गर्नुपर्छ । जबसम्म बजार, बिक्री, फाइदा, सेलिब्रेटी र सफलताका कुराले आत्मलेखन विधा निर्देशित हुन्छ- इमानदारिता, आत्मसमीक्षाले प्राथमिकता पाउँदैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.