पहिचानको माग राज्य सुन्नुपर्छः उपराष्ट्रपति
दमौलीः उपराष्ट्रपति नन्दबहादुर पुनले पहिचानका लागि माग उठाउँदै आएका समुदायको माग राज्यले सन्नुपर्ने बताएका छन्।
माघे संक्रान्ति पर्वका अवसरमा दमौलीमा नेपाल मगर संघ तनहुँले आयोजना गरेको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उपराष्ट्रपति पुनले आदिवासी जनजातिले भुगोल, पहिचान तथा संस्कृतिका आधारमा पहिचान पाउनुपर्ने आवाज देशमा उठेको भन्दै त्यसलाई नेतृत्वले सुन्नुपर्ने बताएका हुन्।
उनले भने,‘मलाईँ आशा छ, तपाईँहरुको मागको सुनुवाइ हुने छ।’ पुनले देश अहिले संविधान कार्यान्वयनको चरणमा रहेको र २०७४ माघ ८ गतेसम्म प्रदेश र स्थानीय निर्वाचन गरेर संविधान कार्यान्वयन गर्नुपर्ने भन्दै त्यसका लागि अब धेरै समय नभएको बताए।
संविधान संशोधनका विषयमा दलहरुबीच देखिएको तिक्तता चाँडै हट्ने उनले विश्वास व्यक्त गरे। ‘उहाँहरु (दलहरुका नेता) त्यो हटाउन लागि पर्नुभएको छ र चाँडै सकारात्मक दिशामा पुगेर देशलाई निकास दिने विश्वास मलाई छ,’ पुनले भने।