देवः विकास बैंकको १४ प्रतिशत बोनस सेयर
काठमाडौं: देवः विकास बैंकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । बैंकको शुक्रबार बसेको दशौं वार्षिक साधारणसभाले हाल कायम रहेको चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले आर्थिक वर्ष २०७२/०७३ को वित्तीय विवरणसमेत पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष सुवर्णलाल बज्राचार्यको अध्यक्षता सभा बसेको थियो । बैंकले चालू आर्थिक वर्ष २०७३/०७४ पुस २७ गतेसम्म आठ अर्ब ७२ करोड ६८ लाख निक्षेप संकलन गरी सात अर्ब ९७ करोड दुई लाख कर्जा प्रवाह गरेको छ भने १९ करोड नौ लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।
साथै चुक्ता पुँजीको ५० प्रतिशतका दरले यही २०७३ माघ ९ गतेदेखि बिक्री खुला हुने हकप्रद सेयर र १४ प्रतिशत बोनस सेयर वितरण गरेपश्चात बैंकको चुक्ता पुँजी एक अर्ब ४४ करोड ५० लाख हुने बैंकले जनाएको छ ।