असलिको वार्षिक साधारणसभा
काठमाडौं: अभिभावक सहकारी समाज लिमिटेड (असलि) को १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बिरेन्द्रमान श्रेष्ठको सभापतित्वमा बसेको सभाले तीन जनालाई निवृत्तिभरण वितरण, ११ जनालाई बरिष्ठ अभिभावक सम्मान, सेयर पुँजी र बचतकर्तातर्फ ११ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
सभाले आर्थिक वर्ष २०७३/७४ का लागि चार करोड १६ लाख ५० हजार आयमा तीन करोड ४५ लाख ७४ हजार खर्च गरी ७० लाख ७६ हजार बचत गर्ने लक्ष्यसहितको बहुउदेश्यीय कार्यक्रम बजेट पारित गरेको छ । संस्थाको चुक्ता पुँजी दुई करोड २८ लाख र जगेडा कोष एक करोड चार लाख ६१ हजार पुग्ने अनुमान छ ।
यस संस्थाले नेपाल सरकार राजस्व खातामा १८ लाख ४८ हजार चार सय ३० रुपैयाँ दाखिला गरी देश विकासमा योगदान गरेको छ । उक्त अवसरमा अति गरिब एवं निम्न आय भएका नन्दी दिवा तथा नन्दी रात्री माविका विद्यार्थीलाई छात्रवृति प्रदान गर्न दाता अमृतनाथ रेग्मीले ५० हजार दिने बचनबद्धता व्यक्त गरे । साथै बद्रीमान श्रेष्ठबाट दुई लाखको चेक उत्तरा-बद्री कोषमा प्रदान गरिएको बैंकले जनाएको छ ।
त्यसैगरी सामुदायिक विद्यालयअन्तर्गत सञ्चालन भइरहेको कमल प्राथमिक विद्यालयलाई सहयोग स्वरूप प्रदान गरिएको १० हजार रुपैयाँ विद्यालयका अध्यक्ष राजेन्द्र सिंहलाई हस्तान्तरण गरिएको छ ।