पृथ्वीनारायण आऊ नयाँ वर्ष
ठोरी गएका ढाक्रेहरू आए कि आएनन्
नुन–तेल किन्न पाए कि पाएनन्
बिसे नगर्चीलाई बुझ्न पठाऊ त
दुनियाँले दुई छाक खाए कि खाएनन् !
यस्ता वचनहरू पढेर
मुरीमुरी माया पाएजस्तो लाग्छ
नखाए पनि खाए–खाएजस्तो लाग्छ
पृथ्वीनारायण भएर आऊ नयाँ वर्ष
नयाँ वर्ष दाल–भात–डुकु भएर आऊ !
ठीकै थियो, चलेकै थियो
चार वर्ण छत्तीस जातको वाटिकामा
वसन्त आउने–जाने गरेकै थियो
फूलहरू फुलेका थिए
नानीहरूले पृथ्वीनारायण भुलेका थिए
तर आज यो बगैंचामा
फिरंग रोग सल्केर
स्वदेशी पुष्पपराग झर्न थालेपछि
राष्ट्रियता मर्न थालेपछि
नानीहरू पृथ्वीनारायण सम्झिरहेछन् ।
नानीहरू इतिहास पढ्छननानीहरू भूगोल पढ्छन्
र, नानीहरू टिष्टाको पाना च्यातेर
नेपालको नक्सामा जोड्छन्
सानीहरु भाँडाकुटी खेल्छन्
र, सानीहरू पृथ्वीनारायणलाई बेउलो बनाएर
लगनगाँठो जोड्छन् ।
मान्छेहरू एक्काइसौं शताब्दीको कुरा गर्छन्
मान्छेहरू अझै पर भविष्यको कुरा गर्छन्
तर मेरा प्रतिगामी पाइलाहरू
अठारौं शताब्दीतिर फर्केर
पृथ्वीनारायण खोजिरहेछन्
विषय वा प्रसंगले
अर्को अर्थ नलागेमा
यो देशको यथार्थ अवस्था पनि यही हो।
मेची फाटेको छ, काली फाटेको छ
एकताको तानाबाना कतै कसैले काटेको छ
गाँस, बास, कपासको मात्र कुरो होइन
पानीको व्यथा पनि चर्को छ
हाम्रो त देशै टुक्रिन आँटेको डर अझ अर्को छ।
आउने भए एक्काइसौं शताब्दी
पृथ्वीनारायण भएर आऊ ।