राष्ट्रपतिकी छोरीको विवाहमा थोरैलाई निम्तोः जन्ती ५१ जना
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुसुम भण्डारीको विवाहको तयारी पूरा भएको छ । राष्ट्रपति भण्डारीका स्वकीय सचिव जीवछ साहले विवाहको तयारी पूरा भएको जानकारी दिए । ‘निम्तो थोरैलाई गरिएको छ’, स्वकीय सचिव साहले भने, ‘विवाह सामान्य रुपमा हुन्छ ।’
निशाकुसुमको विवाह सोमबार (माघ ३ गते) गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका नाति अभिषेक यादवसँग हुँदैछ। राष्ट्रपति कार्यालयले सामान्य ढंगले विवाह गर्ने बताएको छ । पूर्व राष्ट्रपतिका नाति बेहुलो बनेर आउँदा ५१ जनामात्र जन्ती ल्याउन आग्रह गरिएको छ ।
राष्ट्रपति भण्डारीले विवाहलाई सामान्य अर्थात् सामाजिक व्यवहार सुधार ऐन अनुसार नै गर्ने इच्छा व्यक्त गरेकाले सोही अनुसार विवाह हुन लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
विवाहमा थोरैलाई निम्तो गरिएको भएपनि विशिष्ट व्यक्तिलाई नछुटाएको सचिवालयको दाबी छ। विवाह समारोहमा उपस्थितिका लागि उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, मन्त्री, राजनीतिक दलका अध्यक्ष, पूर्वप्रधानमन्त्रीसँगै पूर्वराजासम्मलाई निम्तो गरिएको छ।
पूर्वराजा ज्ञानेन्द्रले विवाहमा आउने जानकारी समेत गराएको राष्ट्रपति निवास स्रोतले बताएको छ । यस अघि विभिन्न धार्मिक स्थलको पूजापाठमा संलग्न हुँदै आएका ज्ञानेन्द्र थोरै मात्र औपचारिक कार्यक्रममा सहभागी हुँदै आएका छन् । पूर्वराजा ज्ञानेन्द्र औपचारिक कार्यक्रममा कम उपस्थित भए पनि सामाजिक कार्यक्रममा सहभागी हुँदै आएका छन् ।
राष्ट्रपति कार्यालयले विवाहको विषयमा सोमबार नै विज्ञप्ति सार्वजनिक गरेर थप जानकारी दिने बताएको छ । ‘भोलि (सोमबार)को विवाहको विषयमा थप जानकारी विज्ञप्ति मार्फत् दिने तयारी छ,’ राष्ट्रपतिका स्वकीय सचिव साहले भने, ‘दिउँसो उपस्थितिबारे जानकारी गराइने छ भने साँझ तस्बिरसहित विवाहको विवरण सार्वजनिक गरिने छ ।’
राष्ट्रपतिकी छोरी निशाकुसुम र पूर्वराष्ट्रपतिका नाति अभिषेक विद्यालय तहदेखिकै सहपाठी हुन्। अभिषेक पूर्वराष्ट्रपति रामवरणकी भतिजी एवम् महत्तोरीबाट निर्वाचित कांग्रेस सांसद् एवं केन्द्रीय सदस्य किरण यादवका छोरा हुन्।
निशाकुसुम र अभिषेकको विवाहको प्रसंगले केही वर्षयता नै चर्चा पाएको भए पनि दुई महिनाअघि ‘इंगेजमेन्ट’ भएको थियो। निशाकुसुम र अभिषेक बूढानीलकण्ठ स्कुलमा पढ्दैदेखिका सहपाठी हुन् ।
इन्जिनियरिङ पढेका अभिषेकले बेलायत सरकारको छात्रवृत्तिमा लन्डनबाट उच्च शिक्षा हासिल गरेका छन्। यता निशाकुसुमले भने भारतको नयाँदिल्लीबाट एमबीबीएस गरेकी छिन् ।
विवाहका लागि सोमबार बिहान १० बजे राष्ट्रपति निवासको पुरानो भवनमा उपस्थित हुन निम्तो गरिएको छ। निम्तो पत्रमा विवाहमा उपस्थित हुँदा उपहारका नाममा नगद वा जिन्सी नल्याउन समेत आग्रह गरिएको छ।