तस्करीमा छलाङ

तस्करीमा छलाङ

दुई साताअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन बरामद भएपछि खुलासा भएका केही 'रहस्य' ले सुन तस्करीको व्यापक आयाम सार्वजनिक बहसको विषय बनेको छ । त्यो 'तस्करी' एउटा एक्लो घटना नभएको र विगत एक वर्षमा झन्डै तीन सय किलो सुन त्यही समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीमार्फत बाहिर पुर्‍याएको खुलासा गरेको छ । निश्चय पनि त्यो एक्लो समूह हैन ।

अर्को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समन्वयपूर्ण, समझदारी तथा सहकार्य नभई तस्करीको जालोले त्यो व्यापक रूप लिन सकेको हैन । त्यसमा राजनीतिक संरक्षण, भन्सार, प्रहरी तथा तस्कर समूहबीच लाभांश वितरणको सहमति नभई यो आकारको तस्करी हुनै सक्तैन । अर्थमन्त्री कृष्णबहादुर महरासम्मले यो सन्दर्भमा 'म त सानो भुरा मात्र हुँ' भनेपछि त्यसमा ठूला संलग्नहरू को हुन् त भन्ने प्रश्नसमेत उठेको छ । त्यसैले सीआईबीले गरिरहेको छानबिनले यो समग्र तथ्य र त्यसमा संलग्न जालो अनि त्यसका मुख्य पात्रहरू छानबिन अनि त्योसँगै न्यायको घेरामा आउलान् कि नआउलान् भन्न या ढुक्क हुनसक्ने स्थिति छैन ।

त्रिभुवन विमानस्थलबाट उद्घाटित यो तस्करीसँगै तिब्बतसँगको सीमावर्ती रसुवा नाकामा पनि सुन तस्करहरू सक्रिय रहेका र त्यहाँबाट ठूलो मात्रामा सुन नेपाल भित्रिएको खुलासा आधिकारिक रूपमा भएको छ । नेपाल र चीन मात्र हैन, तस्करीबाट आयातीत सुनको 'खरिद-बिक्री' नक्सामा भारत पनि सामेल देखिन्छ । भारु पाँच सय र हजारका नोट अवैध घोषणापछि त्यहाँ उत्पन्न हाहाकारको स्थितिमा सुनको उपादेयता र स्वीकार्यता निकै बढेको छ । त्यसले गर्दा नेपाल भित्रिएको सुन खुला सिमाना हुँदै 'तस्करी' शैली र संयन्त्रबाटै भारत पुग्ने गरेको अनुमान नेपालमा हुन थालेको छ ।

तर तस्करीलाई अर्ध औपाचारिक शैलीमा प्रोत्साहित गर्दा त्यसले नेपाल र भारत दुवैलाई सहयोग पुर्‍याउँदैन । बरु त्यसले मुलुकको अर्थतन्त्रलाई नकारात्मक रूपमा प्रभावित गर्दछ । समानान्तर अर्थतन्त्र चलाउनेहरूको आर्थिक वर्चस्व स्थापित गरी गैरसंवैधानिक हैसियतको हालीमुहालीको मार्ग निर्माण पनि गर्दछ त्यसले । पैसा र मुढेबलको वर्चस्वबाट निर्देशित राजनीति र सत्तामा नियन्त्रण राख्ने एउटा समूह जन्माउँछ त्यसले । सरकारमा रहेका कतिपय व्यक्तिहरूसमेत त्यस्तो गैरसंवैधानिक शक्ति र सञ्जालको अंश हुन रुचाउनुको कारण हो, त्यो कालो अर्थतन्त्रको बढ्दो शक्ति ।

त्यसमा पनि चीन, नेपाल र भारत अनि अघिल्लो सुन तस्करी प्रकरणमा जोडिएको दुबईले गर्दा त्यो समूहको शक्ति र स्वरूप त्यत्तिकै विशाल र जटिल देखिन्छ । त्यसैले नेपाल प्रहरीले मात्र सहज रूपमा यो छानबिनलाई तार्किक निष्कर्षमा पुर्‍याउन सक्ला र ? तथा के यो तस्करी सञ्जालबाट अन्त्यमा फाइदा लिने समूह तथा तिनका नाइकेलाई पहिचान गर्न सक्षम होला ? प्रश्न स्वाभाविक हो ।

छानबिन प्रक्रिया जारी रहिरहँदा पक्कै पनि सीआईबीलाई प्रभावित गर्नु या उसको क्षमता तथा नियतमाथि प्रश्न गरिनु जायज हुने छैन । तर सीआईबीले यो समग्र प्रकरणमा अन्तर्राष्ट्रिय एजेन्सीहरू तथा आफ्ना कूटनीतिक संयन्त्रलाई कसरी सहयोगीका रूपमा प्रयोग गर्न सक्छ, त्यसबारे समयमै सोच्नु र कदम चाल्नु उपयुक्त हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.