एमालेले तराईकेन्द्रित अभियान चलाउँदै

एमालेले तराईकेन्द्रित अभियान चलाउँदै

काठमाडौं: फागुन तेस्रो सातादेखि एमालेले मुख्यमुख्य सहर र तराईलाई केन्द्रित गरी मेचीकाली अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आइतबार बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो ।

संविधान कार्यान्वयनका लागि जनदबाब सिर्जना गर्ने र राष्ट्रिय एकता एवं सामाजिक सद्भाव सुदृढ गर्ने उद्देश्यले अभियान चलाउन लागेको एमालेले जनाएको छ । शीर्ष नेताहरूले अगुवाइ गर्ने अभियानमा सहभागी हुन सबै समिति, जनसंगठन तथा सदस्यलाई स्थायी समिति बैठकले निर्देशन जारी गरेको छ । अभियानको तयारी र व्यवस्थापनको नेतृत्व सम्बन्धित प्रदेश संगठन समिति र मातहत जिल्ला समितिले गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले प्रतिपक्षी दलको असहमति र विरोध हुँदाहुँदै पनि संसद् नियमावली र संसदीय अभ्यासलाई समेत लत्याउँदै व्यवस्थापिका संसद्मा प्रस्तुत गरिएको संविधान संशोधन विधेयक असंवैधानिक एवं राष्ट्रिय हितविपरीत रहेको ठहर गरेको छ । राजनीतिक असहमति र द्वन्द्व चर्काउने कुनै पनि काम नगर्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षणसमेत गरेको छ ।

बैठकले संविधानले निर्धारण गरेको समयसीमा नजिकिँदै गर्दा पनि निर्वाचनसम्बन्धी कुनै तयारी अगाडि नबढाइएको र निर्वाचनको वातावरण बनाउनेतिर सरकारले रत्तिभर ध्यान नपु‍र्‍याएको कुराप्रति पार्टी निकै गम्भीर भएको सचिव प्रदीप ज्ञवालीले बताए । बैठकले तत्काल निर्वाचनको मिति घोषणा गर्न, निर्वाचनसम्बन्धी विधेयक तत्काल संसद्मा प्रस्तुत गर्न, प्रस्तुत भइसकेका विधेयक पारित गराउने आवश्यक वातावरण मिलाउन, स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने काम तत्काल अगाडि बढाउन माग गरेको छ ।

बैठकले पुनर्निर्माणको कामलाई प्रभावकारी ढंगले अगाडि लैजानुपर्ने बेला प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलाई बर्खास्त गरिएको कुराप्रति पार्टी गम्भीर भएको निष्कर्ष निकालेको छ । 'समयमा बजेट स्वीकृत नगर्ने, स्वीकृत बजेटलाई समयमै निकासा नदिने, कर्मचारी नखटाउने तथा हरतरहले पुनर्निर्माण प्राधिकरणका काममा असहयोग पु‍र्‍याउँदै आएको सरकारले पुनर्निर्माणमा ढिलाइको दोष प्रमुख कार्यकारी अधिकृतलाई दिनु पूर्वाग्रही र प्रतिशोधपूर्ण कृत्य हो र यसका पछाडि सरकारको गलत उद्देश्य निहित छ भन्ने ठहर गर्दै सरकारको यस निर्णयप्रति पार्टी खेद व्यक्त गर्दछ', बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

हालै न्यायपरिषद्बाट उच्च अदालतका न्यायाधीशको नाम सिफारिस गर्ने क्रममा सत्तारूढ पार्टीका कतिपय नेताबाट परिषद्का काममा हस्तक्षेप गर्ने र न्यायपरिषद्लाई विवादित तुल्याउने काम भएकोमा एमालेले चिन्ता व्यक्त गरेको छ । 'एमाले न्यायपालिकाको स्वतन्त्रता, गरिमा र मर्यादाका पक्षमा छ । न्यायपरिषद्का कामकारबाही मर्यादित र निष्पक्ष हुनुपर्छ भन्ने मान्यता हामी राख्छौं । यस सम्बन्धमा सरकारका जिम्मेवार व्यक्तिहरूबाट एमालेलाई समेत विवादित बनाउने चेष्टा गरिएकोमा त्यसलाई खण्डन गर्दछौं', विज्ञप्तिमा भनिएको छ ।

स्थायी समिति बैठकले विभिन्न विषयमा छलफल गर्न र आवश्यक रणनीति तय गर्न माघ आन्तिम साता पोलिटब्युरो बैठक बोलाउने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.