बडाचौर विमानस्थल सञ्चालनको प्रतिक्षामा छन् रोल्पाली

बडाचौर विमानस्थल सञ्चालनको प्रतिक्षामा छन् रोल्पाली

रोल्पाः ‘पञ्चायतकालमा चलेको विमानस्थल बहुदल आएपछि बन्द भयो, नयाँ व्यवस्था आएपछि जनताले थप सुविधा पाउलान् भनेको त भएको संरचनासमेत बन्द गरेर राज्यले हामीलाई सौतेलो व्यवहार ग¥यो, अब भने फेरि विमानस्थल सञ्चालन हुन्छ कि भन्ने आशा जागेको छ’ पूर्वी रोल्पाको बडाचौरमा भेटिएका अमरबहादुर बुढाको आशा मिश्रित गुनासो हो यो ।

तत्कालीन मन्त्री बालाराम घर्ती मगरको पहलमा सञ्चालनमा ल्याइएको बडाचौर विमानस्थल अहिले बन्द अवस्थामा मात्रै छैन गाईबस्तु चर्ने चौरमा परिणत भएको छ । पटक पटक काठमाडौँ धाउँदासमेत राज्यको प्रमुख प्रशासनिक निकाय सिंहदरबारले आफूहरुको माग नसुनेको उल्लेख गर्दै घर्तीले भने-‘ रोल्पा जिल्लाले उपराष्ट्रपति, सभामुख, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पाएको छ । राज्यका विभिन्न निकायमा रोल्पाको महत्वपूर्ण उपस्थिति छ । यसले पक्कै पनि रोल्पालीको विकास निर्माणको सपना साकार पार्नेछ ।’

३० को दशकमा स्थानीयवासीले डोकोमा माटो बोकेर निर्माण गरेको विमानस्थल २०३५ देखि २०४६ सालसम्म अनवरत रुपमा सञ्चालनमा आयो । डोल्पा, भैरहवा र काठमाडौँ नियमित उडान हुन्थ्यो । रोल्पाको सुलिचौरमा बस सेवा पुगेपछि यात्रु नपाएको भन्दै नेपाल वायु सेवा निगमले हप्ताको एक दिन गर्दै आएको उडान तालिका कटौती गर्‍याे ।

नियमित नभए पनि सातामा एउटासम्म उडान भइदिए हुन्थ्यो भन्ने रोल्पालीको माग छ । सुलिचौरबाट बडाचौर विमानस्थल सात किलोमिटर टाढा छ भने सदरमुकाम लिवाङबाट २८ किमी टाढा छ । दुवै स्थानमा सहज रुपमा यातायात सञ्चालन भएकाले विमानस्थलसँगको सम्पर्क पनि सहज छ ।

राप्रपाका जिल्ला अध्यक्षसमेत रहेका घर्तीले भने-‘अहिलेको सरकारले केही बजेट उपलब्ध गराउँछु भनेको छ । हामी रोल्पालीलाई विमानस्थल पुनः सञ्चालन हुन्छ भन्ने आशा जागेको छ ।’

निगमको ट्विनअटर जहाज चल्ने सो विमानस्थल विस्तार गर्न सकिने प्रशस्त स्थान रहेको छ । एक हजार ५०० मिटर लामो धावनमार्ग निर्माण हुन सक्ने सम्भावना रहेको रोल्पाका स्थानीय विकास अधिकारी सुशील वैद्य बताउँछन् ।

रोल्पा मिजिङ-२ का तुकमान विष्टलाई पनि विमानस्थल सञ्चालनमा आइदिए हुन्थ्यो भन्ने लागेको छ । ‘यात्रु नभएको भन्ने निगमको भनाइमा मलाई पटक्कै विश्वास छैन, सुविधा पाए रोल्पालीले नियमित रुपमा जहाज सञ्चालन हुने वातावरण बनाउन सक्छन्,’ विष्टले भने‘‘सबैतिर पहल गरिएको छ । यसपटक भने नेताहरुले विमानस्थल चलाउने भन्नुभएको छ । आशा छ बन्द भएको २७ वर्षपछि विमानस्थल सञ्चालनमा आउँछ ।’

बडाचौर-४ का मोहनसिंह विष्टलाई पनि विमानस्थल सञ्चालनमा आइदिए बूढेसकालमा एकपटक चरा जस्तै उडौँला भन्ने रहर छ । उमेरले ७७ वसन्त काटे पनि शरीरमा अझै जोस रहेको र सरकारले आग्रह गरे विमान चलाउन विमानस्थलमा श्रमदान गर्न आफू तयार रहेको विष्टले बताए ।

उपराष्ट्रपति नन्दबहादुर पुनले विमानस्थल सञ्चालनमा ल्याउनेबारे आफूले सरकारसँग कुरा गरेको र छिट्टै बजेटको व्यवस्था गरेर काम सुरु गरिने आश्वासन दिए । आइतबार विमानस्थलको स्थलगत निरीक्षणसमेत गरेका उपराष्ट्रपति पुनले रोल्पाली नेता एवम् उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई तत्काल दुई करोड बजेट उपलब्ध गराइदिन आग्रहसमेत गरे ।

लामो समय बन्द हुँदा विमानस्थल गौचरनमा परिणत भएको छ । घाँस काट्ने र गाईबस्तु चराउने स्थानका रुपमा परिचित विमानस्थललाई तारबार लगाउन, काँडेतार लगाउन र सम्याउन तत्काल दुई करोड आवश्यक पर्ने देखिन्छ । गाभ्रेलमात्रै गर्न सकिए विमान चलाउन सहज हुन्थ्यो । नेकपा माओवादी केन्द्र का नेता कुलप्रसाद केसीले स्थानीयवासीको मागअनुसार विमानस्थल सञ्चालन हुने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपतिको आग्रहलाई सकारात्मक रुपमा लिँदै अर्थमन्त्री महराले विमानस्थल सञ्चालनका लागि आफूले विशेष पहल गर्ने बताए । उनले बडाचौर आफ्नो निर्वाचन क्षेत्रसमेत भएकाले आवश्यक बजेट व्यवस्था गरेर विमानस्थल विस्तार गर्ने र नियमित सञ्चालनका लागि पहल गर्ने स्पष्ट पारे ।

पूर्व अर्थमन्त्री वर्षमान पुनले विमानस्थल सञ्चालनका लागि स्थानीयवासीलाई पनि विशेष पहल गर्न आग्रह गर्दै सरकारलाई ध्यानाकर्षण गराएर बजेट व्यवस्था गरिने बताए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.