सहमतिमा चाँडो निर्वाचन मिति घोषणा गछौँः मन्त्री पाण्डे
काठमाडौँः सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले राजनीतिक दलको सहमतिमा छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री पाण्डेले संविधानलाई आवश्यक परिमार्जन गरेर भए पनि निर्वाचनमा जाने बताए । उनले भने‘ सबै समुदायको भावनालाई समेट्ने गरी संविधान संशोधन गछौँ ।’
निर्वाचनसम्बन्धी विधेयकलाई संसद्बाट चाँडो पारित गरेर निर्वाचनको मिति घोषणा गर्न सरकार आतुर रहेको उनको भनाइ थियो । मनसुन सुरु हुनुभन्दा पहिले नै निर्वाचन हुने विश्वास पनि उनले व्यक्त गरे ।
नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले निर्वाचन समयमै हुनुपर्छ भन्ने काँग्रेसको धारणा रहेको र त्यसका लागि वातावरण निर्माण गर्न काँग्रेस दिनरात लागिरहेको बताए । उनले भने–‘काँग्रेस संसद्को ठूलो दल र सरकारमा भएको कारण यसमा काँग्रेसले महत्वपूर्ण भूमिका खेलिरहेको छ ।’
नेता साउदले संविधान संशोधन र स्थानीय निकायको निर्वाचनका लागि नेकपा (एमाले) र मधेसी मोर्चालाई लचक हुन आग्रहसमेत गरे ।
नेकपा (एमालें) का नेता लालबाबु पण्डितले एमालेको प्राथमिकता निर्वाचन भएकाले निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह गरे । उनले भने,‘निर्वाचन र संविधान कार्यान्वयनका लागि एमाले सधैं तयार छ ।’ उनले निर्वाचनका लागि कानुन बनाउने काममा एमाले बाधक नबन्ने पनि स्पष्ट पारे ।
सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले मधेसी मोर्चा निर्वाचनको पक्षमा रहेको भएपनि जबर्जस्ती निर्वाचन गर्न खोजिए आफूहरुलाई मान्य नहुने बताए । उनले भने, ‘पहिले संविधान संशोधन गरौँ अनि निर्वाचनमा जाऔँ ।’ रासस