रामोसको आत्मघाती गोलले डुबायो रियल म्याड्रिडलार्इ

रामोसको आत्मघाती गोलले डुबायो रियल म्याड्रिडलार्इ

म्याड्रिडः खेलको अन्त्यतिर सर्जियो रामोसबाट आत्मघाती गोल भएपछि रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको आइतबार राति सम्पन्न खेलमा सेभिलसँग २-१ गोलले पराजित भएको छ । उक्त हारसँगै रियलको अपराजित यात्रा पनि टुंगिएको छ ।

यसअघि रियलले लगातार ४० खेलमा अपराजित रहँदै स्पेनिस फुटबलमा कीर्तिमान बनाएको थियो । रियलले अघिल्लो साता आफ्नो चिर प्रतिद्वन्द्वी बार्सिलोनाले बनाएको ३९ खेलको अपराजित यात्रा तोडेको थियो ।

हारसँगै रियलले ला लिगा तालिकामा अग्रता फराकिलो बनाउने अवसर पनि गुमाएको छ । यद्यपि १७ खेल खेलेको रियल ४० अंकसहित तालिकाको पहिलो स्थानमै आसीन छ । दोस्रो स्थानमा रहेको सेभिलले १८ खेलबाट ३९ र तेस्रो स्थानमा रहेको बार्सिलोनाले १८ खेलबाट ३८ अंक जोडेका छन् । सेभिलको मैदानमा खेलिएको उक्त खेलमा सुरुआती अग्रता बनाएको रियलले अन्तिम समयमा आएर दुई गोल खाएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६७औं मिनेटमा पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । डानी कार्भाजललाई डीबक्सभित्र सेभिलका गोलरक्षक सर्जियो रिकोले फल गरेपछि रियलले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।

८५औं मिनेटमा रामोसबाट आत्मघाती गोल भएपछि खेल १-१ को बराबरीमा पुगेको थियो । सेभिलमै जन्मिएका ३० वर्षीय रामोसबाट बल क्लियर गर्ने क्रममा हेडमार्फत आत्मघाती गोल भएको थियो । ‘सेभिलमा मैले उत्कृष्ट फुटबल खेलेँ । त्यो आत्मघाती गोल सामान्य रूपमा भएको हो, त्यसमा मेरो कुनै दोष थिएन’, खेलपछि रामोसले भने ।

खेलको इन्जुरी समयमा सेभिलका स्टिभन जोभेट्किले गोल गरेपछि रियल हार स्वीकार्न बाध्य भयो । गत अप्रिलमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेग खेलमा जर्मन क्लब उल्फ्सबर्गसँग २-० गोलले पराजित भएयता रियलले एक खेल पनि हारेको थिएन ।

‘हामीले सेभिलविरुद्घ स्तरीय प्रदर्शन गर्‍यौं, हामीसँग अझै पाँच मिनेट समय भएको भए नतिजा फरक आउन सक्थ्यो’, खेलपछि रियलका प्रशिक्षक जिनेदिन जिदानले भने । करिब एक वर्षअघि रियलको प्रमुख प्रशिक्षकको जिम्मेवारी लिएयता जिदानले केवल तीन खेलमा पराजय भोगेका छन् ।

दुई साताअघि खेलिएको कोपा डेल रे फुटबलको अन्तिम १६ टोलीबीचको भिडन्तको पहिलो लेग खेलमा रियलले सेभिललाई ३-० गोलले हराएको थियो । जारी सिजनको लिगमा सेभिलले हात पारेको यो लगातार चौथो जित हो । सेभिलले सन् १९४६ देखि स्पेनिस लिगको उपाधि जित्न सकेको छैन ।

‘यो हाम्रा लागि निकै ठूलो सफलता हो । रियललाई हराएपछि हाम्रा खेलाडीको मनोबल उच्च भएको छ र आगामी खेलमा पनि यसले हाम्रो उत्साह बढाउने निश्चित छ’, सेभिलका प्रशिक्षक जोर्गे साम्पाओली भन्छन् ।

यसअघि रियलले खेलेका नौमध्ये आठ खेलमा जित हात पारेको थियो । बार्सिलोनाविरुद्घको खेलमा भने रियल १-१ गोलको बराबरीमा रोकिएको थियो । त्यति बेला रामोसले नै रियलका लागि अन्तिम समयमा जवाफी गोल गरेका थिए । बार्सिलोनाले भने शनिबार राति भएको आफ्नो पछिल्लो लिग खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी लस पाल्मसलाई ५-० गोलको फराकिलो अन्तरले हराएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.