प्रमुख निर्वाचन आयुक्त भन्छन्–जेठको पहिलो साता निर्वाचन गर्न सकिन्छ
काठमाडौंः प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले माघ १५ गतेभित्रै निर्वाचन आयोगलाई ऐन/कानूनहरु दिएमात्रै जेठको पहिलो हप्ता स्थानीय तहको निर्वाचन गर्न सकिने बताएका छन्।
यादवले भने,‘अहिले स्थानीय तहको निर्वाचनको बारेमा कसैले चैत्रमा चुनाव हुने भनेका छन्। कसैले बैशाखमा भनेका छन्, त कसैले जेठमा गर्ने कुराहरु आईरहेका छन्, आयोग अचम्मित बनेको छ।’
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख आयुक्त डा. यादवले अब चैत्रमा चुनाव हुन नसक्ने दाबी गरे। उनले भने,‘अब चैत्रमा चुनावमा हुन सक्दैन्, बैशाख २८/२९ गते निर्वाचन सुरु गर्ने हो भने जेठको पहिलो हप्तासम्म निर्वाचन सम्पन्न गर्न सकिन्छ।’ उनले आयोगले अहिले पुरानै ऐन तथा कानूनहरु अनुसार काम गरिरहेको समेत जनाए।
यादवले स्थानीय निर्वाचन चरणबद्ध रुपमा गर्नुपर्ने समेत बताए। उनले भने,‘स्थानीय निर्वाचन चरणबद्ध रुपमा गर्नुपर्छ, दुई वा तीन चरणमा गर्नुपर्छ, त्यसको लागि सूरक्षा निकायहरुसँग समन्वय गर्नुपर्छ।’ उनले दलीय सहमति वा राजनीतिक समझदारी भए प्रतिनिधि सभाको निर्वाचनपनि गर्न आयोग तयार रहेको स्पष्ट पारे।
डा. यादवले भने,‘निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुनुपर्छ, आयोगले प्रतिवेदन दियो भने र १६५ वटै निर्वाचन क्षेत्र निर्धारण भएर अघि बढियो भने आयोगलाई आपत्ति छैन।’ उनले पहिले प्रदेश वा प्रतिनिधि सभाको निर्वाचन गर्ने हो भने पनि सम्भव रहेको बताए। दुवै निकायको चुनाव एकैचोटी गर्न सम्भव भएपनि प्राविधिक रुपमा समस्या हुने उनको भनाइ थियो।
आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको निर्वाचन गर्न सम्भव छ त भन्ने पत्रकारको प्रश्नमा डा. यादवले भने,‘इच्छाशक्ति भए सम्भव छ नि, किन नहुनु?’