जाभीले भने,‘मलाई विश्वास छ, मेसीले बार्सिलोनासँग नयाँ सम्झौता गर्नेछन्’
काठमाडौंः अर्जेन्टिनी खेलाडी लियोनल मेसीले यो सिजनको अन्तिममा बार्सिलोना छोड्न सक्ने चर्चा चलिरहेका बेला बार्सिलोनाका पूर्व कप्तान जाभीले भने मेसीले बार्सिलोना नछोड्ने बताएका छन्।
उनले बार्सिलोनासँग मेसीले नयाँ सम्झौता छिट्टै गर्नेमा आफू आशावादी रहेको समेत बताएका छन्। जाभीले भनेका छन्,‘मेसी बार्सिलोनामै रमाइरहेका छन्। मलाई विश्वास छ मेसीले क्लबसँग छिट्टै नयाँ सम्झौता गर्नेछन्।’
बार्सिलोनासँग मेसीको सम्झौता सन् २०१८ सम्म छ। बार्सिलोनाले ब्राजिलियन स्टार नेमार र उरुग्वेका लुइस स्वारेजसँग पाँच वर्षको नयाँ सम्झौता गरिसकेका पनि मेसीसँग भने सम्झौताका विषयमा छलफल गरेको छैन।
तर, फक्स स्पोट्ससँग कुराकानी गर्दै भेट्रान खेलाडी जाभीले भनेका छन्,‘मेसीले सम्झौता गर्नेछन् यसमा मलाई कुनै शंका छैन।’ ‘मेसीले अन्य क्लबमा गएर थुप्रै पैसा कमाउन सक्छन् तर उसको मुटु भनेको बार्सिलोना नै हो,’जाभीले भने।
‘मेसी र बार्सिलोनाबीच ‘लभ अफेयर’ को सम्बन्ध छ,‘उनले भने,‘मेसी अझै धेरै वर्ष बार्सिलोनामा बस्नेछन्।’
जाभीले मेसीले बार्सिलोना छोड्ने हल्ला हरेक सिजनमा चल्ने गरेको भन्दै पछिल्लो हल्ला पनि सही नभएको बताए।