कृषि विकास बैंकको मोबाइल बैंकिङ सेवा
काठमाडौं: कृषि विकास बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेसनल प्रालिबीच मोबाइल बैंकिङ सेवा सञ्चालनका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाको उपस्थितिमा बैंकका तर्फबाट बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख प्रेमकुमार श्रेष्ठ तथा एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन् । बैंकले आफ्ना ग्राहकलाई एडीबीएल स्मार्ट बैंकिङ नामक मोबाइल बैंकिङ सेवा उपलब्ध गराउने छ ।
एफवान सफ्टले तयार गरेको उक्त सफ्टवेयर सुरक्षित, भरपर्दो तथा हालसम्म नेपालका अन्य बैंकमा प्रयोग नभएको सुरक्षा प्रणाली मार्फत निर्माण गरिएको छ । यसमार्फत हुने वित्तीय कारोबार सुरक्षित गर्न ओपीटीको व्यवस्थासमेत रहेको बैंकले जनाएको छ । ग्राहकले उक्त सेवा लिन एडीबीएल स्मार्ट बैंकिङमार्फत वा अनलाइनमै आवेदन फारम भर्न सक्नेछन् । एप्समार्फत हरेक कारोबारको सूचना प्राप्त गर्न, रकम ट्रान्सफर गर्न, स्टेटमेन्ट तथा चेकबुक अनुरोध गर्न, चेक तथा डेबिट कार्ड आदि रोक्का गर्न, कर्जाको साँवा तथा ब्याज भुक्तानी सम्बन्धी जानकारी लिन सकिनेलगायत सुविधा उपभोग गर्न सकिने छ ।